News Summary
Generated by OK AI. Editorially reviewed.- पुरुषहरूमा बाँझोपनका केसहरू बढिरहेका छन्, जसको मुख्य कारण मदिरा सेवन, धूम्रपान, खराब मानसिक स्वास्थ्य र हानिकारक रसायनहरूको सम्पर्क हो।
महिलाहरूको जस्तै पुरुषहरूमा पनि बाँझोपनको समस्या देखा पार्छ, तर पुरुषहरूले यो बारेमा तबसम्म सोच्दैनन् जबसम्म उनीहरू आफैं यो समस्याबाट गुज्रिरहेका हुँदैनन् ।
अहिले पुरुषहरूमा बाँझोपनका केसहरू बढिरहेका छन् । धेरै मदिरा सेवन, धूम्रपान, खराब मानसिक स्वास्थ्य र कामको क्रममा हानिकारक रसायनहरूको सम्पर्क आदिका कारणले यस्तो समस्या बढिरहेका छन्।
वैज्ञानिक अध्ययनहरूले देखाएअनुसार ४० वर्षपछि पुरुषहरूमा प्रजनन क्षमता घट्न थाल्छ र ४५ वर्षपछि गर्भधारणमा ३० प्रतिशतले कठिनाइ बढ्ने देखिएको छ ।
लामो समयसम्म यो मान्यता थियो कि पुरुषहरूको प्रजनन क्षमतामा उमेरको खास प्रभाव पर्दैन । उनीहरू जीवनको पाको उमेरमा पनि जैविक समस्या बिना बाबु बन्न सक्छन् भन्ने धारणा थियो । तर अब वैज्ञानिक अनुसन्धानहरूले स्पष्ट पारिरहेका छन्– पुरुषको बढ्दो उमेरले उनीहरूको प्रजनन क्षमता, गर्भधारण प्रक्रिया र बच्चाको दीर्घकालीन स्वास्थ्यलाई पनि प्रभावित गर्न सक्छ ।
पुरुष बाँझोपनमा उमेरको प्रभाव
महिलाहरूमा ३५–४० वर्षपछि प्रजनन क्षमता घट्न थाल्छ किनकि उनीहरूको शरीरमा अण्डाको संख्या सीमित हुन्छ र त्यस उमेरसम्म ठूलो संख्यामा अण्डा खर्च भइसकेका हुन्छन् । तर पुरुषहरूमा जीवनभरि शुक्रकीट बन्ने गर्छ र शुक्रकीटको संख्या सीमित हुँदैन ।
यसको मतलब यो होइन कि उनीहरूमा सधैं प्रजनन क्षमता राम्रो भइरहन्छ । किनकि शुक्रकीट बन्ने भए पनि उमेर बढ्दै जाँदा शुक्रकीटको गुणस्तर घट्दै जान्छ । विशेष गरी ४० वर्षपछि शुक्रकीटको संख्या, गति ‘मोटिलिटी’, आकार आदि कमजोर हुन थाल्छ । विभिन्न अध्ययनहरूका अनुसार ४० वर्षपछि शुक्रकीटको घनत्व र गतशिलिता उल्लेखनीय रूपमा घट्छ भने ४५ वर्षपछि प्राकृतिक गर्भधारणमा समय लाग्ने र समस्या बढ्ने सम्भावना २ गुणा बढी हुन्छ । यसले प्राकृतिक रूपमा गर्भ बस्न समय लाग्न सक्छ र समस्या बढ्न सक्छ ।
शुक्रकीटको डीएनएमा प्रभाव
पुरुषको उमेर बढ्दै जाँदा शुक्रकीट कमजोर हुनुका साथै शुक्रकीटको डीएनएमा पनि प्रभाव पर्छ । उमेर बढ्दै जाँदा शुक्रकीटमा डीएनए क्षति र जेनेटिक परिवर्तनको सम्भावना बढ्छ । यो बारम्बार कोशिका विभाजन, बढ्दो अक्सिडेटिभ तनाव र शरीरको मर्मत क्षमता घट्नुका कारण हुन्छ ।
अध्ययन अनुसार ४० वर्षपछि शुक्रकीटको डीएनए फ्रागमेन्टेसन (क्षति) उल्लेखनीय रूपमा बढ्छ । ५० वर्षपछि यो ४.५८ गुणा बढी हुने देखिएको छ । यस्ता शुक्रकीटबाट निषेचनको सम्भावना कम हुन सक्छ, भ्रुणको विकास प्रभावित हुन सक्छ र गर्भपतनको जोखिम पनि बढ्न सक्छ । आईभीएफ जस्ता प्रविधि प्रयोग गरे पनि समस्या हुन्छ ।
बच्चामा के प्रभाव पर्छ ?
धेरैजसोले यो बारेमा सोच्दैनन्, तर बढी उमेरमा बाबु बन्दा बच्चामा विभिन्न रोगहरूको जोखिम बढ्न सक्छ भन्ने कुरा अनुसन्धानमा पाइएको छ । यस्तो अवस्थामा बच्चामा अटिज्म र स्किजोफ्रेनिया जस्ता न्यूरोडेभलपमेन्टल विकारहरूको जोखिम अलिकति बढ्न सक्छ भनेर पनि अध्ययनहरूले पत्ता लगाएका छन् ।
उदाहरणका लागि, ४० वर्षभन्दा माथिका बाबुका बच्चामा अटिज्मको जोखिम १.५५ गुणा र ५० वर्षपछि २ गुणाभन्दा बढी हुन सक्छ भने स्किजोफ्रेनियाको जोखिम २ देखि ३ गुणा बढ्ने देखिएको छ । यसबाहेक केही जन्मजात रोगहरू, बाल्यकालमा क्यान्सर र प्रिम्याच्योर जन्म १४ प्रतिशत भनिएको छ । यद्यपि यस्ता घटनाहरूको संख्या कम नै हुन्छ । धेरैजसो बच्चाहरू पूर्ण रूपमा स्वस्थ नै हुन्छन् ।
जीवनशैली र स्वास्थ्यको ठूलो भूमिका
उमेरसँगै पुरुषको प्रजनन क्षमतामा प्रभाव पार्न उमेर मात्र होइन, उनको स्वास्थ्य र जीवनशैली पनि धेरै महत्त्वपूर्ण हुन्छ । यदि कुनै पुरुषलाई मधुमेह, मुटुको समस्या, हर्मोन समस्या, यौन स्वास्थ्य समस्या वा मोटोपन आदि छ भने यसले शुक्रकीटको गुणस्तर कमजोर बनाउँछ । यसबाहेक जसले बढी मदिरा पिउँछन्, धूम्रपान गर्छन्, लामो समय तनावमा छन् वा कम शारीरिक गतिविधि हुने काम गर्छन् जस्तै कम्प्युटरमा काम गर्ने वा पसलमा बसेर काम गर्ने आदि । यस्ता जीवनशैलीका प्रभावले पनि शुक्रकीटको कमी निम्त्याउन सक्छन् ।
थप रूपमा, अत्यधिक तातो पानीको नुहाउने, टाइट लुगा लगाउने वा ल्यापटप घुँडामा राख्ने जस्ता बानीले पनि शुक्रकीटलाई नोक्सान पुर्याउँछ । स्वस्थ आहार (फलफूल, तरकारी, नट्स र एन्टिअक्सिडेन्टयुक्त खानेकुरा) ले भने शुक्रकीटको गुणस्तर सुधार्न मद्दत गर्छ ।
बिस्तारै घट्छ प्रजनन क्षमता
पुरुषमा प्रजनन क्षमता अचानक समाप्त हुँदैन, बरु बिस्तारै–बिस्तारै घट्छ । ४० देखि ५० वर्षको उमेरमा पनि धेरै पुरुषहरू बाबु बन्न सक्छन्, विशेष गरी यदि उनीहरूले स्वस्थ जीवनशैली अपनाए भने । यसका लागि सही तौल कायम राख्ने, नियमित व्यायाम गर्ने, धूम्रपान र मदिराबाट बच्ने, पुराना रोगहरू नियन्त्रणमा राख्ने र समय–समयमा प्रजनन जाँच गराउने हो भने बाँझोपनबाट बच्न सकिन्छ ।
अध्ययनहरूले देखाएअनुसार ५० वर्षपछि आईभीएफ जस्ता उपचारमा सफलता दर घट्ने भए पनि स्वस्थ जीवनशैलीले ४०–५० वर्षमा पनि राम्रो सम्भावना कायम राख्छ । ३५ वर्षपछि नै नियमित शुक्रकीट जाँच गराउनु उत्तम हुन्छ ।
पुरुषको बढ्दो उमेरले मुख्य रूपमा शुक्रकीटको गुणस्तर र जेनेटिक स्वास्थ्यका कारण प्रजनन क्षमतलाई प्रभावित गर्छ ।
सही जानकारी र स्वस्थ जीवनशैली अपनाएर पुरुषहरूले राम्रो निर्णय लिन सक्छन् र स्वस्थ सन्तान प्राप्त गर्ने सम्भावना बढाउन सक्छन् । ४० वर्षपछि सावधान रहनु र चिकित्सकसँग परामर्श लिनु नै सबैभन्दा राम्रो उपाय हो ।
प्रतिक्रिया 4