+
+

अनि पीयूष मिश्रालाई भोक लाग्यो…

सागर चन्द सागर चन्द
२०७९ भदौ २५ गते १९:५६

‘स्टार’ परिवारमा जन्मेका रणवीर कपुरलाई ‘रक स्टार’ फिल्ममा ‘स्टार’ बन्न सिकाउने पीयूष मिश्राले शुक्रबार साँझ भने आफू ‘स्टार’को चमकधमकबाट टाढै रहेको सुनाए ।

बलिउडमा गायक, कलाकार, कवि, लेखक र रंगकर्मीको परिचय बनाइसकेका मिश्रा आफ्ना नेपाली ‘फ्यान’का अगाडि गुजुमुज्ज परेको खैरो कुर्थाको चेपबाट छाती र गर्धन कन्याउँदै देखा परे । एक घण्टाको कार्यक्रमभरि उनले कुर्थाको खुल्ला टाँकाबाट हात छिराएर गर्धन र छाती कन्याइरहे ।

किताब जात्राको आतिथ्य सत्कारमा नेपाली दर्शक/श्रोतालाई सम्बोधन गर्न आइपुगेका मिश्राले अंग्रेजी भाषा नभइ हिन्दीमै सम्बोधन गर्ने इच्छा देखाए, ‘हिन्दी तो समझ ते हो ना ?’

‘समझ ते हैं ।’ खचाखच भरिएको प्रज्ञा प्रतिष्ठानको हलबाट एकै स्वरमा सुनियो ।

मञ्चमा मिश्राको इन्ट्री हुनु अगावै मिश्राको परिचयमा कवि तथा टेलिभिजन कार्यक्रम प्रस्तोता रुपेश श्रेष्ठले प्रसस्तै शब्द अंग्रेजीमा खर्चिसकेका थिए ।

मिश्राले आफ्नो अन्दाजमा परिच दिए, ‘मलाई मान्छेहरू राम्रो बोल्ने मान्छे भन्छन् । तर, म होइन। म हरेक चिज थोरै-थोरै गर्छु । गाना, बजाना, एक्टिगं थोरै थोरै गर्छु ।’

भारत, मध्यप्रदेशको ग्वालियरमा सन् १९६३ मा जन्मिएका मिश्राले ८ कक्षा पढेदेखि नै नाटकमा अभियन गर्न सुरु गरेका थिए । सन् १९८३ मा भारतका चर्चित कलाकार उत्पादन गर्ने ‘नेशनल स्कुल अफ ड्रामा’ (एनएसडी)छिरेका मिश्रा १९८६ मै एनएसडीबाट पास आउट भइसकेका थिए ।

एनएसडीबाट पास भइसकेका अधिकांश विद्यार्थीले बलिउडमा आफ्नो भाग्य खोज्छन् । तर, मिश्राले भने २० वर्षसम्म एनएसडीको सेरोफेरो छाडेनन् । दिल्लीबाट मुम्बई सडक यात्रा गर्दा २४ घण्टा लाग्छ, हवाई यात्रा गर्दा सवा घण्टा तर, मिश्रालाई भने यो यात्रा तय गर्न २० वर्ष लाग्यो ।

सन् २००३ मा मात्र उनले राजधानी दिल्लीको एनएसडी छाडेर बलिउडको राजधानी मुम्बइको रेल समाते ।

बाध्यताले दिल्लीबाट मुम्बइको यात्रा गरेको सुनाए उनले । दर्दभरि कहानी पनि उनले अन्दाज ए हसिं तवरमा बयान गर्दै भने, ‘मनोज वाजपेयी लगायत मेरा साथीहरु स्टार भईसकेका थिए । दिल्लीमा मलाई भोक लाग्न थालेको थिए । थिएटर खुबै गरेको थिए तर, कमाएको केही थिइन ।’

‘पापी पेट पाल्न’ मुम्बई जानुपर्ने आफ्नो कारुण यथार्थमा हाँस्य रस मिसाउँदै भने, ‘हालातले मलाई बाध्य बनायो । पेटले भन्न थाल्यो पियूया मिश्रा भोक लाग्यो । पेटलाई भोक पनि लाग्दो रहेछ ।’

कविता र गीतपछि मिश्राले ‘क्रान्तिकारी’ चरित्र छाडेर आएको सुनाए । जीवनका २०/२२ वर्ष कम्युनिष्ट भएको बताउँदै उनले आजभोलि आफूले सामाजिक मुद्दामा बोल्न छाडेको सुनाए

श्रीमती, छोरा र आमासहित २००३ मा बलिउड नगरीमा छिरेका उनले आफ्नो स्ट्रगल पनि रोचक शैलीमा बयान गरे । ‘पैसा थिएन, तर साथीहरुले केही चिजको कमी हुन दिएनन् । रोटी खान पैसा थिएन, तर चिकेन खाए । ठर्रा खाने पैसा थिएन तर हृवीस्की खाए,’ मिश्राले सुनाए ।

जीवनका चार दशक बाहिर बिताइसकेपछि बलिउडको केन्द्रमा छिरेका मिश्राले रंगमञ्चको जीवन निष्कर्ष सुनाए, ‘थिएटरको जवानी बडा सुन्दर हुन्छ बुढापा भने निकै खराब हुन्छ पैसा हुँदैनन् । आदमी सिकुड जाता हैं ।’

२००३ यता बलिउडमा पैसा र ताली कमाएर आफूलाई पुगिसकेको दाबी गर्दै उनले आफू स्टार नभएको सुनाए । युवाहरुसँग संवाद गर्न रुचाउने बताइरहेका मिश्राले अनुराग कश्यपको निर्देशनमा सन् २००९ मा रिलिज भएका गुलाल सिनेमामा अभियनका साथै गीत लेखेर गाएका थिए ।

गुलाल सिनेको ‘प्रचण्ड हैं, आरम्भ है..’ बोलको गीतपछि एक वर्षसम्म आफूलाई कसैले काम नदिएको तितो यथार्थ सुनाउँदै उनले भने, ‘त्यतिखेर मान्छेले यो चल्दैन भनेका थिए । गुलाल फिल्म फ्लप पनि भयो । तर, आज त्यही चलिरहेको छ ।’

कहिल्यै संगीतको औपचारिक शिक्षा नलिएको बताउने मिश्राले दर्जन बढी फिल्ममा गीत गाएका छन् र लेखेका छन् ।

चल्तीको बलिउडले आफूलाई ‘प्रचण्ड’को अर्थ सोध्दै आइटम गीत लेख्न भनेको पनि उनले सुनाए । मिश्रासँगै मञ्चमा रहेका रुपेश श्रेष्ठले ‘प्रचण्ड’ नाम नेपालका पूर्वप्रधानमन्त्रीको हो भनेपछि मिश्रा खुसी भए ।

उनले ‘स्टार’का बेफाइदा सुनाए र आफू ‘स्टार’ नभएको दोहोर्‍याए । यही बीचमा उनले आफू कुनै समय ‘अल्कोहोलिक’ भएको पनि सुनाए ।

‘क्या सुन्ना चाहोगे ?’ मिश्राले फर्माइस गर्न आग्रह गरे ।

दर्शकले ‘घर, हुस्ना, आरम्भ है प्रचण्ड, इक बगल मे चाँद होगा…’को फर्माइस गरे । तर, उनले अघि नै भनिसकेका थिए, ‘मलाई जे रुचि लाग्छ म त्यही गर्छु ।’ हार्मोनियममा पुर्‍याइसकेका हात रोक्दै, ‘अरे इसके पहिले इक पोयट्री सुनिए ।’

अनि त्यसपछि उनले आफ्नो कवितासंग्रह ‘कुछ इश्क किया कुछ काम किया’ खोले ।

फैज अहमद फैजको चर्चित कविता ‘कुछ इश्क किया कुछ काम किया’ सुनाउँदै उनले आफ्नो कविता सुनाए ।

दर्शकलाई बिच्चबिच्चमा ‘वाह..वाह..’ गर्न लगाउँदै मिश्राले वाचे –

‘वो काम भला क्या काम हुआ
जिस काम का बोझा सर पे हो
वो इश्क भला क्या इश्क हुआ
जिस इश्क का चर्चा घर पे हो..’

यही कविताको बिचमा उनले आफ्ना हरेकजसो अन्तवार्ता, कार्यक्रममा सुनाउने गरेको ‘पिटा हुवा आशिक’ किस्सा नेपाली दर्शकलाई पनि सुनाए ।

नयाँ पुस्ताले रगतले प्रेमपत्र लेख्न नपाएकोमा चिन्ता जाहेर गर्दै उनले सुनाए, ‘तिमिहरूको जनेरेशनमा दिल टुट्दैन, ब्रेक-अप हुन्छ । दिल नटुटेको प्रेममा के मज्जा भयो र ? हाम्रो समयमा पिटा हुवा आशिक हुन्थ्यो, जसको दिल टुटेको हुन्थ्यो ।’

मिश्राले कविता रोकेर भनिरहे, ‘हामी रगतले प्रेमपत्र लेख्थ्यौं । रगत ल्याउन मासु पसलमा जान्थ्यौ । प्रेमिकाके पास इत्ने पैसे कहाँ कि वो उस खुनका डिएनए टेष्ट करवाए ।’
अनि उनले कविता मार्फत नयाँ पुस्ताको काम र प्रेममाथि व्यग्यं कसे –

‘ वो काम भला क्या काम हुआ
जो कम्प्यूटर पे खट्-खट् हो
वो इश्क भला क्या इश्क हुआ
जिसमें ना चिठ्ठी ना खत हो’

यो लामो कविता सुनाइसकेपछि उनले हार्मोनियममा औला चलाए । गुलाल फिल्मको चर्चित गीत ‘सरफरोशीकी तमन्ना अब हमारी दिल मै है’ सुनाए ।

कविता र गीतपछि मिश्राले ‘क्रान्तिकारी’ चरित्र छाडेर आएको सुनाए । जीवनका २०/२२ वर्ष कम्युनिष्ट भएको बताउँदै उनले आजभोलि आफूले सामाजिक मुद्दामा बोल्न छाडेको सुनाए ।

‘म खुबै बोलें, चिच्याए । कुनै समय म लगातार बोलिरहे । मैले बोलेर जमाना बद्लिएको होइन,’ मिश्राले भने, ‘जमानालाई जति बद्लिनु थियो त्यति बद्लियो । २० वर्ष कम्युनिष्ट बनेर दुनियाँ बदल्ने कोसिस गरे । सोसाइटी त होइन बरु कम्युनिष्ट बदलिए । लगातार इनकलाब जिन्दावाद भनिरहेँ, क्रान्ति आउँछ भन्ने सोचेको थिए, क्रान्ति त सडकको रातो बत्तिमा उभिएर म आउँदिन पो भन्छे ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी र भारतीय कांग्रेस नेता राहुल गान्धीको नाम लिदैं उनले बडा बेरुखी अन्दाजमा भने, ‘आज सबै लडिरहेका छन्। राहुल गान्धी हुन् वा मोदी साहेब आपसमा लडुन, काटिउन मलाई केही फरक पर्दैन ।’

त्यसो त सन् २०१२मा बीबीसी हिन्दिसँगको एक अन्तवार्तामा मिश्राले हरेक मान्छे २० वर्षमा कम्युनिष्ट हुने र ३० वर्षपछि कम्युनिष्ट रहँदैन भनेका थिए । उनले भनेका थिए, ‘म वामपन्थी थिए । जो २२ वर्षमा वामपन्थी हुँदैन उसको जिन्दगी बेकार हुन्छ र जसले ३० वर्षमा वामपन्थ छाड्दैन त्यसको जीवन पनि बेकार हुन्छ ।’

सामाजिक मुद्दाको कुरा उठेपछि उनले बालिकामाथि हुने हिंसामाथि लेखेको आफ्नो कविता ‘क्यूं आते हो अंकल मुझे डर लगता हैं’ सुनाए ।

यो प्रसंगपछि उनले गुलाल फिल्मको ‘आरम्भ है प्रचण्ड हैं ।’ ग्याग्स अफ वासेपुर फिल्मको ‘इक बगल मे चाँद होगा,’ सुनाए ।

त्यसपछि उनले आफ्नो चर्चित गीत ‘हुस्ना’को प्रसंग कोट्याए । धेरैजनाले ‘हुस्ना’ को हो भनेर सोध्ने गरेको सुनाउँदै उनले हुस्ता पाकिस्तानी नाटककारको नाटकको एक पात्र भएको सुनाए । र, हुस्ना गीत पनि सुनाए ।

गीतपछि बलिउड फर्किएका उनले अभिनयलाई कसैले गम्भीरतापूर्वक नलिएको टिप्पणी ठोके । आफूले पिंक फिल्ममा अमिताभ बच्चनसंग काम गरेर धेरै सिक्ने मौका पाएको सुनाउँदै उनले केही टिप्स बाँडे ।

‘हरकोहीसँग काम गर्दा सिक्न पाइन्छ, बस तपाईंका आँखा, नाक, कान खुल्ला हुनुपर्छ,’ उनले टिप्स दिए, ‘लेख्ने कुनै तरिका छैन । लेखकले आफूले काटेर हेर्नुपर्छ । अहिले राम्रो लागेको भएपनि त्यसलाई काट । अनि पछि केही दिनपछि आफैमा विश्वास आउँछ म आफैले लेखेको पनि काट्न सक्छु भनेर ।’

गुरु बन्ने काम सबैभन्दा सजिलो हुने सुनाउँदै उनले गुरु बन्ने कुलत सबैभन्दा खतरनाक हुने पनि सुनाए ।

फेरि अभिनयतिरै फकिए मिश्रा । सिनेमा, नाटकमा चरित्र निर्वाह गरिसकेपछि उक्त चरित्रले आफूलाई पच्छ्याइरहृयो भन्नेहरुले दर्शकलई मुर्ख बनाउने गरेको उनको टिप्पणी रहृयो । ‘त्यो क्यारेक्टर गरेपछि मेरो दिमाग खराब भयो । म त पागल भए भन्ने सबैले बेवकुफ बनाइरहेका छन् । डाइरेक्टले कट भनेपछि, हामीले पेमेन्ट पाएपछि सब बिर्सन्छौ’ मिश्राले पोल खोले, ‘फिल्मवालाहरुले बेवकुफ बनाउन राम्रैसँग जानेका हुन्छन् ।’

यो रहस्योद्घाटनपछि उनले आफ्नो चर्चित गीत घर सुनाए । हार्मोनियम बजाइरहेका औंला हावामा चलाउँदै उनले सुनाए –

‘मखमल सी नाजुक दिवारें भि होगीं
कोनो में बैंठी बहारे भि होगीं…’

‘तुम्हारी औकात क्या है पीयूष मिश्रा’ शीर्षकको कविता लेखेका उनले यही शीर्षकमा आफ्नो औपन्यासिक आत्मकथा प्रकाशित हुन लागेको सुनाए । ‘म केही पनि होइन यार,’ भन्दै मञ्चमा छिरेका मिश्रले जाँदाजाँदै आफू धेरैथोक भएको आभास दिएर गए ।

लेखकको बारेमा
सागर चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?