+
+

माधवले छाडेपछि काठमाडौं-२ मा गठबन्धनबाट को होला उम्मेदवार ?

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २६ गते १९:०८

२६ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २०७४ को चुनाव जितेको काठमाडौं २ बाट उम्मेदवार नबन्ने भएका छन् ।

एकीकृत समाजवादीको काठमाडौं–२ क्षेत्रीय समितिले उम्मेदवार बनाउने सर्वसम्मत निर्णय पनि गरेको क्षेत्र छाडेर नेपाल रौतहट १ बाट चुनाव लड्ने छन् ।

गत निर्वाचनमा एमालेबाट विजयी नेपालले काठमाडौं २ बाट चुनाव नलड्ने भएपछि समाजवादीकै अन्य नेताले यहाँ दाबी गरेका छन् । एकीकृत समाजवादीबाट प्रमेश हमाल र डा. रमेश ढकालले संघीय संसदको उम्मेदवारको दाबी गरेका छन् ।

अघिल्लो निर्वाचनमा जितेको आधारमा नेपाललाई छोड्न सकिने तर एकीकृत समाजवादीका अर्को व्यक्तिलाई काठमाडौं २ मा उम्मेदवार बनाउन नसकिनेमा कांग्रेस अडिग छ ।

कांग्रेसको अडानकै बीचमा पनि काठमाडौं २ मा दाबी गर्ने हमाल एकीकृत समाजवादीमा उपाध्यक्ष छन् । ढकाल स्वास्थ्यमन्त्री भवानी खापुङको विज्ञ सल्लाहकार छन् ।

शंकरापुर अस्पतालमा मेडिकल डाइरेक्टर रहेका ढकालले एकीकृत समाजवादीबाट आफ्नो दाबी रहेको बताए । ‘अध्यक्ष रौतहटमा जानु हुने भएको छ । म स्थानीय पनि हुँ । नयाँ पुस्ताको उम्मेदवार मतदाताले खोजेका छन्,’ ढकालले अनलाइनखबरसँग भने, ‘माधव जीले काठमाडौं २ बाट प्रतिस्पर्धा नगर्दा एकीकृत समाजवादीले अरु दललाई छोडेको हुँदैन । एकीकृत समाजवादीबाट फ्रेस अनुहार म हुँ ।’

माधव उठ्ने शर्तमा मात्रै छाड्ने अडानमा रहेको कांग्रेसबाट माधवी भट्ट, कविर शर्मा फुयाँल, दीपकप्रसाद कुईकेल, मनिष कोइराला, लोकेश ढकाल सिफारिस भएका छन् । क्षेत्रबाट भट्टको नाम नआए पनि जिल्लाबाट पठाइएको काठमाडौं सभापति सबुज कृष्ण बानियाँले जानकारी दिए ।

माधव नेपालले यस क्षेत्र छोडेपछि कांग्रेसबाट चर्चामा प्रतिमा गौतमको थियो । केन्द्रीय सदस्य समेत रहेकी तथा गौतम २०७० सालमा उम्मेदवार बनिसकेको हुनाले उनी बलियो दावीकर्ता थिइन् । गौतमले समानुपातिकमा रुचि देखाइन् ।

पछिल्लो समय कांग्रेसबाट भट्टको चर्चा यस क्षेत्रमा चलेको छ । पार्टी भित्र उनी संस्थापन निकट छिन् । सत्य निरुपण तथा मेलमिलाप आयोगको सदस्यको भूमिका निर्वाह गरिसकेकी भट्टले अनलाइनखबरसँग भनिन्, ‘देश विदेशको अनुभव संगालेको छु । क्षेत्रमा तपाईं नै उठ्नुपर्छ भन्नेहरु धेरै हुनुहुन्छ । पार्टीले विश्वास गर्ने देखेर नै अघि बढेकी छु ।’

भट्टले दक्षिण कोरियाबाट पीएचडी गरेकी छन् । अर्का आकांक्षी रहेका लोकेश ढकाल भने यस क्षेत्रबाट आकांक्षीमा कांग्रेसमा सबैभन्दा सबल व्यक्ति आफू रहेको दाबी गर्छन् । कांग्रेसबाट प्रत्यक्षमा सिफारिसमा पर्नेमा कुईंकेल २०६४ मा प्रतिस्पर्धा गरेर पराजित भएका थिए । कविर क्षेत्रीय सभापति हुन् । अन्य आकांक्षी महाधिवेशन प्रतिनिधि हुन् ।

माओवादी केन्द्रबाट झक्कु सुवेदी र शशी श्रेष्ठले रुचि देखाएका छन् । कांग्रेसका क्षेत्रीय नेताहरु माओवादीको उम्मेदवार स्वीकार्ने पक्षमा छैनन् । झक्कुले यसै क्षेत्रमा २०६४ मा माधव नेपाललाई पराजित गरेका थिए । उनी २०७४ सालमा काठमाडौं ६ मा पराजित भएका थिए । श्रेष्ठ हालको सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छन् ।

गठबन्धनका अन्य दलको जनआधार कमजोर रहेकाले कांग्रेसकै उम्मेदवार हुनुपर्ने उक्त पार्टीका क्षेत्रीय नेताहरुको दाबी छ । यस क्षेत्रको अर्को रोचक पक्ष वडा नम्बर ३२ छ । काठमाडौं २ मा ८२ हजार आसपास मतदाता छन् । काठमाडौं ३२ मा मात्रै २२ हजार बढी मतदाता छन् । यस क्षेत्रमा कसलाई जिताउने निर्णायक काठमाडौंको वडा नम्बर ३२ बनेको छ । काठमाडौं ३२ कै स्थानीय भएकाले टिकट प्राप्त गरेको अवस्थामा आफूले जीत निकाल्ने भट्ट दाबी गर्छिन् ।

काठमाडौं २ मा शंकरापुर, कागेश्वरी मनोहराको ४ देखि ९ सम्मका वडा साथै महानगरको ९ र ३२ वडा पर्दछन् ।

काठमाडौं २ मा गत स्थानीय तहको निर्वाचनमा एमाले पहिलो दल बनेको छ । एमालेले १७ हजार ३२८, कांग्रेसले १४ हजार १२८, एकीकृत समाजवादीले ७ हजार ९११, राप्रपा ७ हजार २०० र माओवादी ३ हजार १३१ मत पाएका छन् ।
एमालेबाट सर्वसम्मत रुपमा मणिराम फुँयालको नाम यस क्षेत्रमा सिफारिस भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?