+
+

वीरगञ्जमा ल्याबसहितको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ सुरू

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २६ गते १९:३६

२६ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ सुरू गरेको छ । वडा नं ३० स्थित लालपर्सा स्वास्थ्य चौकीमा मेयर राजेशमान सिंहले कार्यक्रमको उद्घाटन गरेका छन् ।

‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’का लागि महानगरले प्रयोगशाला सहितको मोबाइल भ्यान तयार गरेको छ । चिकित्सक, स्वास्थ्यकर्मीको टोली प्रयोगशाला सहितको मोबाईल भ्यान सहित गएर गाँउघरमै पुगेर सेवा दिनेछन् ।

आइतबारदेखि लालपर्सामा सुरू भएको कार्यक्रम भदौ ३० गतेसम्म चल्नेछ । बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म स्थानीयले सेवा लिन सक्नेछन् ।

प्रसुती रोग विशेषज्ञ र जनरल फिजिसियनसहित २१ जना स्वास्थ्यकर्मी र सहयोगी कर्मचारीको टोली कार्यक्रमका लागि खटिएका छन् । कार्यक्रम मार्फत सर्वसाधरणलाई प्रयोगशाला (रगत, पिसाब जाँच ) ईसिजी, भिडियो एक्स–रे सेवा (गर्भवतीलाई) प्रदान गरिएको वीरगञ्ज महानगरपालिका स्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरीक्षक सुमन चन्द्र ठाकुरले जानकारी दिए ।

यो समाचार तयार पर्दासम्म कार्यक्रम मार्फत १७० जनाले सेवा लिइसकेका छन् । नगर प्रमुख सिंहले ग्रामिण भेगमा बस्ने नगरबासीको पैसा र समयको बचत होस भनेर ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ ल्याईएको बताए ।

‘वीरगञ्ज महानगर १३२ वर्ग किलोमिटरमा फैलिएको छ । पछि थपिएका १६ वटा ग्रामिण वडाबाट वीरगञ्जको मुख्य बजार क्षेत्र पुग्न समय लाग्छ । औषधि उपचारमा पनि बढी खर्च लाग्छ ।’ उनले भने ‘उनीहरुले आफ्नै गाउँ ठाउँमा बसेर नै आधारभूत स्वास्थ्य सेवा पाउन भन्ने उद्देश्यले ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ सुरू गरेका हौं ।’

गाउँघरका महिलाले पुरुष चिकित्सक, स्वास्थ्यकर्मीसँग खुलेर आफ्नो स्वास्थ्य समस्या नराख्ने भएकोले ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’मा महिला टिम नै खटाईएको उनको भनाई छ ।

‘ महिलाले खुलेर स्वास्थ्य समस्या राखुन भनेर महिला चिकित्सक, स्वास्थ्यकर्मीको टोली नै खटाएका छौं । उनीहरुसँग महिलाले खुलेर आफ्नो स्वास्थ्य समस्या बताउन सक्छन् ।’ उनले भने ‘गर्भवतीलाई भिडियो एक्स–रे गर्न आवश्यक देखियो भने त्यो सुविधा पनि छ । उनीहरुलाई आवश्यक पर्ने भिटामिन र पौष्टिक आहारपनि वितरण गर्छौ ।’

कार्यक्रम मार्फत चिकित्सकहरु नै घरदैलोमा पुगेर गर्भवती जाँच, सुगर, ब्लड प्रेसरको नियमित चेकजाँच सेवा दिने भएकोले ग्रामिण भेगका जनताले यीसेवाका लागि वीरगञ्जका ठूला ठूला अस्पतालहरु धाईरहनु नपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?