+
+

स्वादिलो पोर्क सेकुवा कहाँ खाने ? यी हुन् काठमाडौंका चर्चित ७ रेस्टुरेन्ट

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ भदौ २७ गते १८:०२

काठमाडौं । स्वादका पारखीलाई गुनासो गर्ने कुनै ठाउँ बाँकी राखेको छैन, काठमाडौं सहरले । यहाँको मेनुमा के छैन ? नेवारी समयबजीदेखि जापानी सुशीसम्म, थकाली थालीदेखि भियतनामी फसम्म, किराती वाचिपादेखि थाई तोमयाम सुपसम्म । तपाईंको जिब्रोले खोज्ने अनेकथरी स्वाद यहाँ उपलब्ध छन् ।

अनेकथरी व्यञ्जनको भीडमा पनि यस्ता केही खान्की छन्, जहाँ नेपाली जिब्रोले खोज्ने खास स्वाद छ । अर्थात् चट्ट नुनिलो, पिरो । यस्तै स्वाद खोज्नेहरुका लागि छ, सेकुवा । खासगरी पोर्क सेकुवा धेरैको रोजाइमा परेको छ । त्यससँगै बफ र मटन सेकुवाले स्वाद पारखीलाई लोभ्याएको छ । यहाँ काठमाडौं उपत्यकाका चर्चित १० सेकुवा कर्नरका विषयमा चर्चा गरिएको छ ।

याङतारु सेकुवा कर्नर

काठमाडौंको लोकप्रिय सेकुवा कर्नरमध्येको एक हो, याङतारु सेकुवा कर्नर । कपनमा १५ वर्षअघि स्थापना भएको याङतारुमा मटन, चिकेन, बफ र पोर्क गरेर पाँच प्रकारको सेकुवा यहाँ पाइन्छ ।

यहाँ १ केजी चिकेन, बफ र पोर्क सेकुवाको १२ सय रुपैयाँ पर्छ भने मटन सेकुवा केजीको भने २५ सय रुपैयाँ पर्छ । सेकुवाको साथमा पिरो मिठो अचार यहाँको विशेषता हो । यदि सेकुवा चटपटे केही खान इच्छा भए त्यो पनि यहाँ उपलब्ध गराइन्छ । त्यसका लागि १५० रुपैयाँ थप तिर्नुपर्ने हुन्छ ।

यहाँ ३०० जनासम्मले एकैपटकमा सेवा लिन सक्छन् । यहाँ पार्किङको पनि राम्रो व्यवस्था छ ।

नवराज नीरज सेकुवा कर्नर

सेकुवाको पारखीका लागि गोल्फुटारस्थित नवराज निरज सेकुवा कर्नर पनि रोजाइको रेस्टुरेन्ट हो । नवराज निरज सेकुवा कर्नरलाई गोल्फुटार सेकुवा कर्नरको नामले बढी चिनिन्छ ।

बफ, चिकेन र पोर्क सेकुवा पाइने यहाँ सेकुवासँग भुजा र दुईथरी अचार पनि सर्भ गरिन्छ । यहाँ एक प्लेट बफ सेकुवाको १७० रुपैयाँ, पोर्कको २०० रुपैयाँ र चिकेन सेकुवाको २८० रुपैयाँ पर्छ ।

सेकुवा कर्नरमा एक पटकमा ५० जनासम्म बसेर खान सकिन्छ । सानो गाडाबाट सुरु भएको यो सेकुवा कर्नर अहिले आफ्नै तीनतल्ले भवनमा रहेको छ ।

लगभग १४ वर्षअघि सुरु भएको यो सेकुवा कर्नर नवराज नीरजको आमाले सुरु गरेकी हुन् । १४ वर्षको लामो अवधिमा पनि यहाँको स्वाद फेरिएको छैन । यहाँको टिम्बुर राखेको पिरो गोलभेंडाको अचार र कुटेको मुलाको खाँदेको अचारले सेकुवाको स्वाद झन् बढाइदिन्छ ।

धराने सेकुवा कर्नर

धराने सेकुवा कर्नर पोर्क सेकुवाको लागि लोकप्रिय छ । धराने सेकुवामा पोर्कको साथै चिकेन र मटन सेकुवा पनि पाइन्छ । यहाँ मटन सेकुवा केजीको २२ सय ९९, चिकेनको ९४९ रुपैयाँ र पोर्कको १ हजार ५० रुपैयाँ पर्छ ।

सेकुवाको साथमा मूलाको अचार र भुजा पनि दिइन्छ । यहाँको सबैभन्दा बढी बिक्री हुने पोर्क सेकुवा नै हो । धरानका प्रेमबहादुर राईले सुरु गरेको धराने सेकुवा कर्नरले १६ वर्षको अवधिमा अनामनगरका साथै नख्खिपोटमा पनि अर्को शाखा विस्तार गरेको छ ।

अनामनगरमा एकै पटकमा एक सय जनासम्म अट्ने क्षमता छ भने नख्खिपोटमा तीन सय जनाको क्षमता छ । पार्किङको उचित व्यवस्था भएको यो सेकुवा कर्नर स्थापना भएको १६ वर्ष पूरा भइसकेको छ ।

लामाको सेकुवा कर्नर

लामाको सेकुवा कर्नर पनि काठमाडौंको लोकप्रिय सेकुवा कर्नरमध्ये पर्छ । लामाको सेकुवा कर्नरमा बफ, चिकेन, पोर्क र मटन सेकुवा पाइन्छ । पहिले सिनामंगलमा अवस्थित यो सेकुवा कर्नर अहिले मूलपानीमा सरेको छ ।

यहाँ पोर्क सेकुवा प्लेटको ११० रुपैयाँ, बफ सेकुवा १ सय रुपैयाँ, चिकेन सेकुवा ११० र मटन सेकुवाको १७० रुपैयाँ छ ।

सेकुवा र अचारको साथमा भुजा चटपटे आदि खानु परेमा अतिरिक्त २० रुपैयाँ तिर्नुपर्ने हुन्छ । लगभग २५ जना क्षमता भएको यस सेकुवा कर्नर सुरु भएको २० वर्ष भइसकेको छ ।

तारेवा सेकुवा

सुकेधारमा रहेको तारेवा सेकुवा पनि काठमाडौंको लोकप्रिय सेकुवा कर्नरमा पर्छ । यहाँ पोर्क, चिकेन, मटन, बट्टाई, बफ र माछा गरी लगभग ७ प्रकारको सेकुवा पाइन्छ ।

यहाँ पोर्क सेकुवा केजीको एक हजार रुपैयाँ, चिकेन ९ सय रुपैयाँ, बटाई ३०० रुपैयाँ पिस, मटन २ हजार रुपैयाँ केजी, चिकेन ९ सय रुपैयाँ र बफको ९ सय रुपैयाँ केजी पर्छ ।

साकेला फ्यामिली सेकुवा प्रालि

नख्खिपोटमा रहेको साकेला फ्यामिली सेकुवा प्रालि पनि सेकुवाका लागि रुचाइएको रेस्टुरेन्ट हो । १५ वर्षअघि खुलेको यो रेस्टुरेन्टमा पोर्क, चिकेन, मटन र बफ सेकुवा पाइन्छ ।

साकेलामा पोर्क सेकुवा केजीको ९ सय, चिकेन सेकुवाको ९ सय, मटन सेकुवाको १६ सय र बफ सेकुवाको ९ सय रुपैयाँ पर्छ । पार्किङको राम्रो व्यवस्था भएको यो सेकुवा कर्नरमा ८० जनाले एकैपटक सेवा लिन सक्छन् ।

नासिका धराने कालो बंगुरको सेकुवा

बुद्धनगर चोकमा रहेको नासिका धराने कालो बंगुरको सेकुवा पनि लोकप्रिय सेकुवा कर्नरमध्येको एक हो । यहाँ पोर्क चिकेन र पांग्रा सेकुवा पाइन्छ ।

२०७४ सालमा स्थापना भएको नासिकामा पोर्क सेकुवा केजीको ९९० रुपैयाँ, चिकेन र पांग्रा सेकुवाको ८९० रुपैयाँ पर्छ । ६० जनाको क्षमता भएको नासिकामा पार्किङको राम्रो व्यवस्था छ । धराने कालो बंगुरको सेकुवा यहाँको सर्वाधिक बिक्री हुने सेकुवा हो ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?