+
+

पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते २०:५४

२९ भदौ, वीरगञ्ज । पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आन्दोलन स्थगित गरेको छ । देशभरका डिपोबाट पीडीओ (प्रोडक्ट डेलिभरी अर्डर) नलिएर आन्दोलनमा रहेको महासंघले नेपाल आयल निगमसँग तीन बुँदे सहमतिपछि आन्दोलन स्थगित गरेको हो ।

बुधबार भएको सहमति र आउँदै गरेको ठूला चाडपर्वका कारण आम जनताको आवागमनलाई ध्यानमा राखेर आन्दोलन स्थगित गरिएको महासंघका अध्यक्ष खगेश्वर बोहराले जानकारी दिए ।

नेपाल आयल निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइत र महासंघका अध्यक्ष बोहराले संयुक्त विज्ञप्ति जारी गर्दै सहमतिबारे जानकारी गराएका छन् ।

व्यवसायीको माग अनुरुपको भाडा वृद्धिसम्बन्धी सञ्चालक समितिमा पेश भएको प्रतिवेदन आगामी असोज ७ गतेसम्म निर्णय गरी लागु गर्ने सहमति भएको छ । त्यस्तै ढुवानी व्यवसायीको मागका सम्बन्धमा महासंघका प्रतिनिधिसहित सम्बन्धित संघ संस्था तथा संगठनका प्रतिनिधिहरुको उपस्थितिमा छलफल गरेर उचित सम्बोधन गर्ने र महासंघले ढुवानी सेवा नियमित गर्ने सहमति भएको हो ।

महासंघले लामो समयदेखि ढुवानी भाडामा समयसापेक्ष वृद्धि तथा समायोजनका लागि माग पेश गरेपनि निगमले सुनुवाइ नगरेको भन्दै पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने चेतावनी दिएको थियो ।

त्यसपछि बुधबारदेखि अमलेखगञ्ज डिपोबाट अन्यत्र डिपोका लागि पेट्रोलियम पदार्थ लोडिङ गर्न छोडेको थियो । असोज १ गतेबाट देशभरका सबै डिपोहरुमा लोड तथा अनलोड नगर्ने चेतावनी दिएको थियो ।

ढुवानी व्यवसायीको आन्दोलनका कारण विभिन्न एयरपोर्टमा पेट्रोलको अभाव हुन थालेको भन्दै निगमले कानुनी कारबाही गर्ने चेतावनीसमेत दिएका थिए ।

हेर्नुहोस् संयुक्त विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?