+
+

शिक्षकको परीक्षामा माग भन्दा धेरै कम परीक्षार्थी पास

नुनुता राई नुनुता राई
२०७९ भदौ ३० गते २०:३५

३० भदौ, काठमाडौं । शिक्षक सेवा आयोगको सार्वजनिक गरेको माध्यमिक तह तृतीय श्रेणीको नतिजाअनुसार विद्यालय तहमा फेरि पनि शिक्षक अभाव हुने देखिएको छ । आयोगले गत असार ९ गते लिएको विषयगत परीक्षामा चाहिए जति परीक्षार्थी उत्तीर्ण हुन नसकेपछि विषय शिक्षक पाउनै सकस देखिएको छ ।

आयोगको तथ्यांकअनुसार आवेदन दिने पर्याप्त भए पनि उत्तीर्ण हुने संख्या ज्यादै न्यून छ । आयोगले २०७८ माघमा माध्यमिक तहमा एक हजार ५४२ रिक्त शिक्षक पदपूर्तिका लागि विज्ञापन खुला गरेको थियो । २०७८ चैत १५ गते सञ्चालित सामान्यतर्फको परीक्षामा ३२ हजार ९७ जना सहभागी भएकामा ३ हजार ८८६ मात्र उत्तीर्ण भए ।

सामान्यतर्फको परीक्षामा उत्तीर्ण भएका उम्मेद्‍वारहरुको गत असार ९ गते विषयगत परीक्षा भयो । तर, आयोगले माग गरे अनुरुप अधिकांश विषयमा शिक्षक छनोट हुन सकेनन् ।

नेपाली विषय शिक्षकको २३१ रिक्त दरबन्दीको लागि १० हजार १३७ आवेदन परेकोमा २२९ जना मात्र अन्तर्वार्तासम्म पुगे । गणित विषयको २८९ शिक्षकका लागि ३ हजार ७५० आवेदन परेकोमा जम्मा १४१ जना अन्तर्वार्ताको लागि छनोट भएका छन् । त्यस्तै, ४३५ पद रिक्त विज्ञान शिक्षकको लागि २ हजार ८० आवेदन परेकोमा ३८३ जना मात्रै उत्तीर्ण भएका छन् ।

आयोगले नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, कार्यालय सञ्चालन तथा लेखा, शिक्षा, स्वास्थ्य, शुक्ल यजुर्वेद, कम्प्युटर विज्ञान र न्याय विषयको नतिजा हेर्दा अधिकांश विषयमा माग गरिएभन्दा निकै कम उम्मेद्‍वार अन्तर्वार्ताको लागि छनोट भएका छन् ।

आयोगका अनुसार सबैभन्दा बढी गणित विषय शिक्षकको अभाव हुने देखिएको छ । सबै प्रदेशमा रिक्त रहेका २८९ दरबन्दीको लागि जम्मा १४१ जना अन्तर्वार्ताको लागि छनोट भएका छन् । आयोगले माग गरेभन्दा ४७.७५ प्रतिशत कम उम्मेद्‍वार उत्तीर्ण भएका छन् ।

प्रदेशगत नतिजा हेर्दा प्रदेश १ मा ७६ पदका लागि ८३२ आवेदन परे पनि जम्मा २८ जना उत्तीर्ण, ४८ पद खाली, मधेश प्रदेशमा १७ पदका लागि २९५ आवेदन परेकोमा ४ जना उत्तीर्ण १३ पद खाली, बागमतीमा ५९ पदका लागि ८१२ आवेदन परेकोमा ५४ उत्तीर्ण ५ सिट खाली, गण्डकीमा ५५ जना माग रहेकोमा ८१६ आवेदकमध्ये ३२ उत्तीर्ण २३ सिट खाली, लुम्बिनी प्रदेशमा ३७ पदको लागि ४७६ आवेदकमध्ये १४ जना उत्तीर्ण र २३ पद खाली हुने भएको छ ।

त्यस्तैगरी कर्णालीमा २९ पदको लागि २८४ आवेदन परेकोमा ८ जना उत्तीर्ण बाँकी २१ पद खाली, सुदूरपश्चिममा १६ पदको लागि २३५ आवेदन परेकोमा ११ जना अन्तर्वार्ताको लागि छनोट भएपछि ५ पद खाली हुने भएको छ ।

विज्ञान विषयको पनि मागअनुसार शिक्षक उत्तीर्ण भएनन् । प्रदेशहरुमा ५८ जना विज्ञान शिक्षकको पदपूर्ति नहुने भएको छ । प्रदेश १ मा सबभन्दा बढी १२७ शिक्षक माग गरिएकोमा ७१४ जनाको आवेदन परेको थियो । त्यसमध्ये १०१ जना मात्र अन्तर्वार्ताको चरणमा पुगेका छन् ।

मधेश प्रदेशमा २२ सिटको लागि १०८ आवेदन परेकोमा जम्मा ६ जना अन्तर्वार्ताको लागि छनोट भए भने बागमतीमा ९१ दरबन्दीको लागि १७० आवेदकमध्ये ९६ जना उत्तीर्ण भएका छन् ।

गण्डकी प्रदेशमा ९८ पदका लागि ७२७ आवेदन प¥यो, तर ९३ जना मात्र लिखितमा उत्तीर्ण भएका छन् भने लुम्बिनीमा ३३ पदको लागि ३१६ आवेदकमध्ये ३२ जना अन्तर्वार्तामा पुगे ।

कर्णालीमा ३४ दरबन्दीका लागि १५२ आवेदकमध्ये २८ जनाले मात्र लिखित परीक्षा पास गरे भने सुदूरपश्चिममा २९ दरबन्दीको लागि १९७ आवेदन परेका २७ जना अन्तर्वार्तामा पुगेका छन् ।

नेपाली विषय शिक्षकमा सबै प्रदेश गरी २३३ रिक्त दरबन्दीको लागि ३७८ आवेदक रहेकामा २३३ जना मात्र उत्तीर्ण भएका छन् । प्रदेश १ मा ६१ दरबन्दीका लागि २ हजार ५८१ आवेदन परेकोमा जम्मा ७० जना अन्तर्वार्तामा पुग्न सफल भएका छन् ।

मधेश प्रदेशमा ३२ रिक्त पदको लागि ६५८ आवेदन परेकोमा जम्मा २३ जना अन्तरवार्तामा पुगेका छन् भने बागमती प्रदेशमा ३५ रिक्त दरबन्दीका लागि १ हजार ६८७ आवेदकमध्ये ३४ जनाले लिखित परीक्षा उत्तीर्ण गरे । गण्डकी प्रदेशमा ५५ रिक्त दरबन्दीको लागि २ हजार ९७ आवेदकमध्ये ५२ जना लिखितमा उत्तीर्ण भए ।

लुम्बिनीमा २० दरबन्दीको लागि १ हजार ५१५ प्रतिस्पर्धी रहेकोमा २२ जना मात्र लिखित परीक्षा उत्तीर्ण भएका छन् । कर्णाली प्रदेशमा ९ दरबन्दीको लागि ३६८ आवेदन परेकोमा ७ जना उत्तीर्ण भएका छन् भने सुदूरपश्चिममा १९ दरबन्दीका लागि १ हजार २३१ जना आवदेन रहेकामा जम्मा २१ जना उत्तीर्ण भएका छन् ।

शिक्षा सेवा आयोगले मधेश प्रदेशको लागि स्वास्थ्य र शुक्ल यजुर्वेद संस्कृत व्याकरणको लागि १–१ शिक्षकको विज्ञापन गरेकोमा कोही पनि उत्तीर्ण हुन सकेनन् । बागमती प्रदेशको लागि संस्कृत व्याकरण, प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा खुला तर्फबाट एक र महिलातर्फबाट १ संस्कृत भाषा शिक्षक, लुम्बिनी प्रदेशको लागि १ संस्कृत साहित्य शिक्षक उत्तीर्ण हुन नसकेको कारण शिक्षक दरबन्दी खाली हुने भएको छ ।

‘पठन संस्कृति कमजोर हुनुको परिणाम’

शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला विषयगत ज्ञानको तागत नभएका उम्मेदवार परीक्षा दिन जाँदा यस्तो नतिजा आएको बताउँछन् । ‘नपढ्ने मान्छे जागिरको लागि परीक्षा दिन जाँदा ज्ञानको तागत नै भएन’, उनी भन्छन्, ‘खेताला लगाएर परीक्षा दिनेहरुको हविगत हुने यही हो ।’

जागिर खान दिएको परीक्षामा फेल हुनुमा सम्बन्धित व्यक्ति बढी दोषी हुने उनको तर्क छ । विश्वविद्यालयको शैक्षिक गुणस्तर कमजोर भएको यथार्थ भए पनि विगतमा आफूले हेरेका उत्तरपुस्तिकाहरुले उम्मेदवारहरुको तागतबारे बताएको प्रा.डा.कोइरालाले बताए ।

काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेशनका डीन बालचन्द्र लुईंटेल भने शिक्षा आयोगको परीक्षामा धेरै उम्मेद्‍वार फेल हुनुको मुख्य कारण पठन संस्कृति कमजोर हुनुलाई मान्छन् । ‘हाम्रोमा नोट, किताव कण्ठ गर्ने सिकाइ प्रणाली छ, जसको असर शिक्षक परीक्षामा देखिएको हो’, प्रा. डा. लुईंटेल भन्छन् ।

उनका अनुसार यस्तो सिकाइ प्रणालीको स्मृति निश्चित समयसम्म मात्र हुन्छ, त्यसपछि बिर्सने हुन्छ । विषयवस्तु छिचोलेर ज्ञान प्राप्त नगर्नाले शिक्षक परीक्षामा धेरै फेल भएका बताउँदै उनी भन्छन्, ‘शिक्षक हुनलाई सिर्जनात्मक, रचनात्मक हुनुपर्छ, घोकेको परिभाषा लेखेर शिक्षक बनिन्न ।’

शिक्षक सेवा आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठा उम्मेद्‍वारहरुले आयोगको पाठ्यक्रमले निर्दिष्ट गरेको क्षेत्र राम्रोसँग नबुझ्दा र तयारी नपुग्दा यस्तो नतिजा आएको हुन सक्ने बताउँछन् । शिक्षक सेवा आयोगको परीक्षा पास गर्न खासै तयारी चाहिन्न भन्ने भ्रम पनि कतिपयमा भएकाले सहभागीमध्ये धेरै फेल भएको हुनसक्ने उनले बताए ।

‘यसमा विश्वविद्यालयको शैक्षिक गुणस्तर पनि जोडिन्छ नै’, प्रवक्ता मरहठ्ठाले भने, ‘विश्वविद्यालयहरुले पनि कस्ता जनशक्ति उत्पादन गरिरहेका छौं, कुन स्तरको ज्ञान दिइरहेका छौं भनेर समीक्षा गर्न जरुरी देखियो ।’

त्रिविको ग्राजुएट स्कुल अफ एजुकेशन (पीएचडी एमफील कार्यक्रम) का निर्देशक प्रा.डा.बेदराज आचार्य शिक्षक सेवा आयोगको परीक्षाको नतिजालाई विश्वविद्यायको सिकाइ प्रणाली, परीक्षा प्रणाली, प्रश्नपत्र लगायत आधारमा मूल्यांकन गर्नुपर्ने बताउँछन् ।

उनका अनुसार नेपालमा उच्च शिक्षाको शिक्षण सिकाइ प्रणाली प्रयोगात्मकभन्दा सैद्धान्तिकमा बढी केन्द्रित छ ।

विद्यालय शिक्षामा प्रभाव

शिक्षा सेवा आयोगको परीक्षामा धेरै परीक्षार्थी फेल भइरहँदा विश्वविद्यालयको शैक्षिक गुणस्तरमा पनि प्रश्न उठेको छ । काठमाडौं विश्वविद्यालयका स्कुल अफ एजुकेसनका डीन प्रा.डा. लुईंटेल यसबाट विद्यालय शिक्षामा संकट आउने बताउँछन् ।
विषय शिक्षकको अभावका कारण अहिले धेरै विद्यालयले विभिन्न उपायबाट काम चलाइरहेका छन् । शिक्षक पाउनै गाह्रो हुने भएकाले कतिपय विद्यालयहरुले एउटै शिक्षकलाई विभिन्न विषय पढाउन दिनुपर्ने अवस्था छ ।

ग्र्याजुएट स्कुल अफ एजुकेशनका निर्देशक प्रा.डा. आचार्य विषय शिक्षक नपाउने स्थितिले विद्यालय शिक्षामा सिधा असर पर्ने भएकाले छिटो–छिटो विज्ञापन खुलाएर योग्य उम्मेद्‍वारहरु छान्नुको विकल्प नभएको बताउँछन् ।

शिक्षक सेवा आयोगले लिखित परिक्षा उत्तीर्ण उमेद्वारहरुको अन्तरवार्ता असोज २५ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन गर्दैछ । त्यसको नतिजा कात्तिकभित्रै सार्वजनिक गर्ने आयोगले जनाएको छ ।

इन्फोग्राफ : अरुण देवकोटा/अनलाइनखबर

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?