+
+

एक वर्षमा मूल्यवृद्धि दर दोब्बर

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३० गते १९:३३

३० भदौ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउन महिनामा महँगी दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन महिनामा समग्र मुद्रास्फिीति ८.२६ प्रतिशत पुगेको छ ।

गत आर्थिक वर्षको यसै महिनामा मूल्यवृद्धि ४.३५ प्रतिशत मात्रै थियो । यस अवधिमा गैर खाद्य, सेवा क्षेत्र र खाद्य तथा पेय पदार्थ उपसमूहको मूल्यवृद्धि दर दोब्बरले बढेको राष्ट्र बैंकले जनाएको छ ।

साउनमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ७.११ प्रतिशत पुगेको छ, जुन गत आर्थिक वर्षको साउनमा भन्दा ३.२५ प्रतिशत बिन्दुले बढी हो । आर्थिक वर्ष २०७८/७९ साउनमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ३.८६ प्रतिशत थियो ।

यस वर्षको साउनमा घ्यू तथा तेलमा १९.५८, फलफूलमा १८.७९, रेष्टुरेन्ट तथा होटलमा ११.८४, मदिराजन्य पेय पदार्थमा १०.२४ र दुग्ध पदार्थ तथा अण्डामा १०.१९ प्रतिशतले मूल्यवृद्धि भएको छ ।

गैर खाद्य र सेवा उपसमूहमा पनि गत वर्ष भन्दा दोब्बर मूल्यवृद्धि भएको केन्द्रिय बैंकले जनाएको छ । २०७९ साउनमा गैर खाद्य र सेवा क्षेत्रमा मूल्यवृद्धि ९.१८ प्रतिशत छ । जुन गत आर्थिक वर्षमा ४.७४ प्रतिशत मात्रै थियो ।

यातायातमा २३.८८, स्वास्थ्यमा १०.५४, फर्निसिङ तथा घरायसी उपकरणमा ९.०४, शिक्षामा ८.११ घरायसी उपयोगका वस्तुहरुमा ७.८६ प्रतिशत मूल्यवृद्धि भएको छ ।

काठमाडौं उपत्यकामा भने मूल्यवृद्धि ७.३९ प्रतिशत, तराईमा ८.७२ प्रतिशत, पहाडमा ८.६४ प्रतिशत र हिमालमा ६.६४ प्रतिशत मूल्यवृद्धि भएको छ ।

गत वर्षको साउनमा काठमाडौंमा ३.७ प्रतिशत, तराईमा ४.११ प्रतिशत, पहाडमा ५.६३ प्रतिशत र हिमालमा ३.५८ प्रतिशत मूल्यवृद्धि थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?