+
+

‘राजनीतिमा रोमाञ्च थप्ने, संसदमा युवा रोजगारीका मुद्दा उठाउने’

रामकुमार डिसी रामकुमार डिसी
२०७९ असोज १ गते १८:३२

१ असोज, काठमाडौं । ‘पोलिटिक्स इज अ डर्टी गेम’ भन्ने पुस्ता पछिल्लो समय राजनीतितिर आकर्षित जस्तो देखिन्छ । आगामी संघीय चुनावका लागि विभिन्न क्षेत्रमा गरेको उम्मेदवारी घोषणाले पनि त्यसतर्फ संकेत गर्छ ।

यस्तैमा पर्छन् ३० वर्षीय  अब्दुस मियाँ । राजनीतिका यी नयाँ अनुहारले काठमाडौं-६ बाट स्वतन्त्र उम्मेदवारका रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेर गतिविधि अगाडि बढाइरहेका छन् । उनै अब्दुसलाई आज हामीले अनलाइनखबरको चुनावी शृंखला ‘नयाँ अनुहार’मा समेटेका छौं ।

२०५० सालमा गोरखामा जन्मेका अब्दुसले प्राथमिक शिक्षापछि काठमाडौंतर्फ पाइला चाले । परिवार नै गोरखाबाट काठमाडौंको बूढानीलकण्ठमा बसाइँ सरेपछि बाँकी शिक्षा उनले यहींबाटै अघि बढाए ।

आफ्ना छोराछोरी चिकित्सक या इन्जिनियर बनुन् भन्ने आम नेपाली बुबा-आमाको सपना हो । अब्दुसको परिवारले पनि त्यही सपना देखेकाले उनले प्लस टुमा विज्ञान विषय लिएर पढे । तर, मेडिकल क्षेत्रमा उनलाई खासै रुचि जागेन । त्यसैले उनले ‘हार्डकोर मेडिकल’को सट्टा पब्लिक हेल्थ पढे ।

‘प्लसटुमा डाक्टर बन्नुपर्छ भनेर विज्ञान पढें तर, मलाई विस्तारै मेडिकल भन्दा पनि केही नयाँ गर्नुपर्छ भन्नेतिर रुचि जाग्यो’, उनले सुनाए ।

पब्लिक हेल्थको पढाइसँगै पब्लिक संस्थाप्रतिको आफ्नो संलग्नता उनले बढाउँदै लगे । त्यसको साटो एमबीबीएस पढेको भए सायदै उनी त्यसतर्फ लाग्थे ।

अब्दुसका अनुसार सामाजिक संस्थामा आबद्धता जनाउने क्रममा उनी सन् २०१० मा ‘यूथ इनिसिएटिभ’को सदस्य बने । त्यही संस्थाको उनी ‘बोर्ड अफ डिरेक्टर’ हुँदै निर्वाचित अध्यक्षसम्म बने जतिबेला उनी २२ वर्षका मात्रै थिए ।

कति भोटको अपेक्षा छ भन्ने प्रश्नमा अब्दुस १४-१५ हजार मतले जितिने भए पनि आफूले कम्तीमा २५ हजार पाउने दाबी गर्छन्

अरू केही स-साना सामाजिक संस्था सुरु गरेका उनी यूथ इनिसिएटिभ अध्यक्षमा भने ६ महिना भन्दा बढी टिकेनन्, किनभने अब्दुसमा त्यतिबेला राजनीतिको चस्का पसिसकेको थियो ।

नेपालमा वैकल्पिक राजनीतिक शक्ति चाहिने भन्दै बीबीसी नेपालीबाट रवीन्द्र मिश्रले राजिनामा दिएको समय थियो । त्यही बेला अब्दुसले पनि यूथ इनिसिएटिभ अध्यक्षबाट राजिनामा दिंदै राजनीतिमा हाम फालेका थिए ।

मिश्रकै तत्कालीन साझा पार्टीमा जोडिएका उनी त्यो पार्टीको कान्छो केन्द्रीय सदस्य समेत बने । विवेकशील नेपाली दलसँग एकतापछि बनेको साझा विवेकशील पार्टीको युवा संगठनको अध्यक्ष समेत नियुक्त भए ।

साझा पार्टीमा विभाजन र विघटन भएपछि भने उनी अहिले स्वतन्त्र उम्मेदवार बनेका छन् । ‘रवीन्द्र मिश्र आफैंले हात उठाइसकेपछि यो पार्टी राजनीतिक रूपमा विघटन भयो भन्ने मैले निष्कर्ष निकालें’ अब्दुसको भनाइ छ, ‘चुनाव आइहाल्यो । पार्टी बनाउने काम पछाडि गरौंला भनेर स्वतन्त्र उम्मेदवारी घोषणा गरेको छु ।’

दल विना केही पनि हुँदैन भन्ने ठान्ने उनी आफूलाई प्राविधिक रूपमा मात्रै स्वतन्त्र उम्मेदवार भन्छन् । मंसिरको चुनावपछि भने पार्टी निर्माणमै लाग्ने बताउँछन् उनी । ‘हामी राजनीतिक अभियन्ता नै हौं’ भन्छन्, ‘पार्टी चाहिन्छ । पार्टी बनाउँछौं । पार्टी निर्माण चाहिं लामो यात्रा रहेछ त्यसैले मंसिर ४ पछि हामी फेरि पार्टी निर्माणमा लाग्छौं ।’

सामाजिक संस्थाका काम गर्दाताका नै परिवर्तनका लागि राजनीति ठूलो हतियार हो भन्ने बुझेकाले आफू राजनीतिमा आएको बताउँछन् अब्दुस ।

त्यसलाई उदाहरणबाट बुझाउन खोज्दै उनी भन्छन्, ‘मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्छ भनेर जनचेतना फैलाउन सामाजिक संघसंस्थालाई एक अर्ब पैसा दिनुभयो भने त्यसबाट कति प्रतिशत परिणाम प्राप्त हुन्छ होला । तर, राज्यले चाहृयो भने २४ घण्टाभित्र त्यसलाई कार्यान्वयन गर्न सक्छ ।’

राजनीतिमार्फत नै एउटा राज्य संयन्त्र परिचालन गर्न पाइने भएकाले त्यो परिवर्तनका लागि प्रभावकारी हुने उनको बुझाइ छ ।

चुनावका लागि काठमाडौं-६ रोज्नुका पछाडि यही कर्मथलो हुनु बाहेक खास कारण नरहेको अब्दुस बताउँछन् ।

सार्वजनिक नीति-निर्माणमा आफूलाई विशेष रुचि भएको बताउने उनी संसद्मा पुगे विशेष गरी युवाका मुद्दा उठाउने प्रतिबद्धता जनाउँछन् । ‘मैले संसद्मा जाँदा लिएर जाने भनेको युवाको मुद्दा’ उनी भन्छन्, ‘त्यो भनेको रोजगारीको मुद्दा, स्टार्टअप नीतिको मुद्दा, युवाको आधारभूत आयको मुद्दा र वातावरण परिवर्तनको मुद्दा ।’

नेपालको ठूलो समस्या नीतिगत भ्रष्टाचार हो भन्ने ठान्ने अब्दुस संसदका उपसमितिहरूमा बसेर त्यसलाई रोक्न सकिने विश्वास राख्छन् । राज्य लोककल्याणकारी हुनुपर्छ भन्ने उनको मान्यता छ । र, संसदमा पुगेको खण्डमा त्यस्तै नीतिनिर्माणमा आफ्नो जोड रहने उनको भनाइ छ ।

‘नेपाललाई कल्याणकारी राज्य बनाउन सकिन्छ’ उनको भनाइ छ, ‘राज्यको प्राथमिकता शिक्षा, स्वास्थ्य हेरचाह, यातायात, सार्वजनिक यातायात, सार्वजनिक सुरक्षा जस्ता विषयमा हुनुपर्छ । अरू क्षेत्रमा निजी क्षेत्रले काम गर्नुपर्छ । तर, अहिले ठ्याक्कै उल्टो भइरहेको छ ।’

यी त भए नीतिगत कुरा । उनी आफ्नो उम्मेदवारी राजनीतिक बहसमा नयाँपन दिलाउन भएको दाबी गर्छन् । ‘नेपालको राजनीतिमा सबैभन्दा ठूलो कुरा फ्रेसनेस चाहिएको छ’ उनको टिप्पणी छ, ‘संसद्को ढोका खोलेर हेर्नुहुन्छ भने अधिकांश २५-३० वर्षदेखि त्यही ठाउँमा हुनुहुन्छ । राजनीतिको दोस्रो पुस्ता पनि १५-२० वर्षदेखि त्यहीं छन् । त्यही भएको हुनाले हाम्रो राजनीतिक बहसमा केही नयाँ कुरा आइरहेको छैन ।’

आफूहरू जस्ताको उपस्थितिले नेपालको राजनीतिमा ‘रोमाञ्चकता’ थपिने टिप्पणी उनको छ । ‘नेपालको राजनीति र राजनीतिक संवाद चाहिं असाध्यै डिप्रेसिङ हुन थाल्यो’ उनी भन्छन्, ‘अलिकति राजनीतिक रोमान्स पनि चाहिएको छ ।’

कति भोटको अपेक्षा छ भन्ने प्रश्नमा अब्दुस १४-१५ हजार मतले जितिने भए पनि आफूले कम्तीमा २५ हजार पाउने दाबी गर्छन् ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?