+
+

संसदमा तीतो पोख्दै छुट्टिए नेताहरु

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १ गते २०:३०

१ असोज, काठमाडौं । प्रतिनिधिसभाको कार्यकालको अन्तिम दिन शनिबारको बैठकमा दलका शीर्ष नेताले आपसमा हार्दिकता साटासाट गर्ने धेरैको अपेक्षा थियो । छुट्टिनुअघि धन्यवाद आदान प्रदान र पाँच वर्षे कामको समीक्षा गर्नुके साटो शीर्ष नेताहरु घोचपेच र एक अर्काविरुद्ध तीतो टिप्पणीमा उत्रिए ।

यसको सुरुवात प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरे । त्यसलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले विस्तार गरे भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झन् फैलाए ।

प्रधानमन्त्री देउवाले अहिलेको सरकारले संविधान अनुसार मुलुक चल्ने वातावरण बनाएको बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै देउवाले परमादेश नभएको भए सँगै काम गर्ने अवसर नै नपाउने टिप्पणी गरे ।

‘हुनत हाम्रो प्रतिपक्षी दलको नेताले परमादेशको सरकार भन्नुहुन्छ, यो संसद नै परमादेशबाट आएको हो, जहाँ उहाँ र हामी सँगै काम गर्न पाइरहेका छौं’ प्रधानमन्त्री देउवाले भने, ‘परमादेश नभएको भए उहाँ रु हामी सँगसँगै काम गर्न नै पाउँदैनथ्यौं, धेरै ठूलाठूला विधेयकहरु पास गर्न नै पाउँदैनथ्यौं ।’

दुई पटक प्रतिनिधिसभा विघटन गरेका निवर्तमान प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई परमादेशको सरकार भन्दै आइरहेका छन् ।

देउवापछि बोलेका पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले अहिलेको सरकारले निर्वाचनमा जानुलाई प्रतिगमन भनेको भन्दै आलोचना गरे ।

जनादेश अनुसार संसद नचलेपछि आफूले ताजा जनादेशमा जान खोजेको भन्दै उनले ताजा जनादेशमा जानुलाई प्रतिगमन भन्न नहुने भन्दै आफ्नो कदमको बचाउ गरे । उनले अहिलेको सरकारले निर्वाचन घोषणा गर्नु प्रतिगमन हो त भनी प्रश्नसमेत गरे ।

‘निर्वाचनतर्फ जाने कुरालाई प्रतिगमन भनिँदैन । आवश्यकता अनुसार निर्वाचन भएन र समयमभित्र निर्वाचन भएन भने प्रतिगमन हुन्छ, जे होस् मुलुक निर्वाचनतर्फ गइसक्यो, म यसलाई प्रतिगमन भन्दिन’ ओलीले भने ।

उनले परमादेशबाट सरकार गठन गर्नु प्रतिगमन भएको टिप्पणी गरे । ओलीले भने, ‘असंवैधानिक ढंगले परमादेशबाट नक्कली सरकार गठन गर्नु प्रतिगमन हो । निर्वाचनमा जाने कुरा प्रतिगमन होइन, पहिले पनि होइन, अहिले पनि होइन ।’

ओलीपछि बोलेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीको कडा आलोचना गरे । पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभा भंग गरेको र निर्वाचनमा जानुलाई विरोध गरेको भन्दै भ्रम फैलाउन खोजेको भन्दै ओलीको आलोचना गरे ।

‘तुलना गर्नुको पनि एउटा हद हुन्छ नि ! यहाँ बसेका हामी सबै केही नै नबुझ्ने छन् भन्ने ठान्नुभएको हो कि प्रतिपक्ष दलको नेताले ? नेपाली जनताले केही जान्दैनन्, भेडा नै छन् भन्ने ठान्नु भएको हो कि ?’ उनले प्रश्न गरे, ‘निर्वाचन घोषणा गर्नुलाई कहिले प्रतिगमन भन्यौं ? हामीले प्रतिगमन भनेको संविधान मिचेर हुँदै नभएको अधिकार किन प्रयोग गरियो ?’

ओलीले निर्वाचन गर्न नभई देशलाई अँध्यारो सुरुङतिर लैजान प्रतिनिधिसभाको विघटन गरेको प्रचण्डले टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?