+
+

शहरी क्षेत्रको ३१ प्रतिशत फोहोर खोलामा

केन्द्रीय तथ्यांक विभागले गरेको अध्ययन प्रतिवेदन अनुसार शहरी क्षेत्रबाट हरेक वर्ष उत्पादन हुने फोहोरमध्ये ३१.५१ प्रतिशत फोहोर नदी किनार तथा बगरमा फाल्ने गरिन्छ ।

अच्युत पुरी अच्युत पुरी
२०७९ असोज ३ गते १५:१३

३ असोज, काठमाडौं । नेपालको शहरी क्षेत्रबाट एक वर्षमा १० लाख टन फोहोर उत्पादन हुने सरकारी अध्ययनले देखाएको छ । केन्द्रीय तथ्यांक विभागले गरेको अध्ययन प्रतिवेदन अनुसार हरेक वर्ष उत्पादन हुने फोहोरमध्ये ३ लाख १५ हजार ६९ टन (३१.५१ प्रतिशत) फोहोर नदी किनार तथा बगरमा फाल्ने गरिन्छ ।

विभागका अनुसार ३ लाख ८९ हजार ९८३ टन (झण्डै ३९ प्रतिशत) फोहोर भने ल्यान्डफिल साइटमा जम्मा हुने गरेको छ । यस्तै २२ हजार ७५ टन (२.२१ प्रतिशत) फोहोर जलाइन्छ भने ८ हजार ६९० टन (०.८७ प्रतिशत) फोहोर पुनः प्रयोगमा जान्छ । बाँकी २ लाख ६४ हजार १८३ टन (२६.४१ प्रतिशत) फोहोरको व्यवस्थापनबारे भने प्रतिवेदनमा उल्लेख छैन ।

विभागले नेपालमा अहिलेसम्म फोहोरमैला उत्पादन तथा उपयोगसम्बन्धी पूर्वअध्ययन प्रतिवेदन, प्रकाशित प्रतिवेदन तथा अनुसन्धानमुलक लेखहरुको अध्ययन गरी उपलब्ध तथ्यांक तथा सूचना संकलन गरी सिस्टम अफ इन्भारोमेन्टल अकाउन्टिङ (एसईईए) ढाँचा अबलम्बन गर्दै राष्ट्रिय फोहोरमैला लेखा पद्दती तयार गरेको छ । सोही ढाँचामा आधारित रहेर देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाको फोहोरमैला व्यवस्थापनका तथ्यांकलाई अध्ययनमा समेटेको विभागले जनाएको छ ।

अध्ययन अनुसार नेपालमा धेरै मात्रामा फोहोर अग्र्यानिक वस्तुमार्फत उत्पादन हुन्छ । यसमा कृषिजन्य वस्तुबाट हुने फोहोरको मात्रा धेरै हुने गरेको छ । यसबाहेक प्लाष्टिक, पेपर उत्पादन, मेटल, ग्लास, रबर तथा लेदर, टेक्सटायल बढी मात्रामा उत्पादन हुने फोहोर हो ।

आवासीय क्षेत्रबाट उत्पादन हुन्छ धेरै फोहोर

अध्ययन अनुसार नेपालमा सबैभन्दा धेरै फोहोर आवासीय क्षेत्रबाट उत्पादन हुन्छ । आवासीय क्षेत्रबाट वार्षिक ३ लाख ८६ हजार ६९० टन फोहोर उत्पादन हुने केन्द्रीय तथ्यांक विभागको आंकडा रहेको छ ।

व्यापारिक क्षेत्रबाट २ लाख ४५ हजार ८८४ टन र शैक्षिक संस्थाबाट १ लाख ३ हजार २४४ टन फोहोर उत्पादन हुन्छ ।

औद्योगिक क्षेत्रबाट मात्र ९४ हजार ३९२ टन फोहोर उत्पादन हुने तथ्यांक छ । स्वास्थ्य सेवा क्षेत्रबाट १ लाख १ हजार ५०७ टन फोहोर उत्पादन हुने गरेको छ ।

कुन क्षेत्रबाट कति फोहोर उत्पादन ?

  • आवासीय क्षेत्र : ३ लाख ८६ हजार ६९० टन
  • व्यापारिक क्षेत्र : २ लाख ४५ हजार ८८४ टन
  • शैक्षिक संस्था : १ लाख ३ हजार २४४ टन
  • स्वास्थ्य सेवा क्षेत्र : १ लाख १ हजार ५०७ टन
  • औद्योगिक क्षेत्र : ९४ हजार ३९२ टन

वातावरणीय क्षेत्रमा जान्छ ३ लाख टन फोहोर

फोहोर व्यवस्थापनका लागि नदी किनार र बगर प्रयोग गर्दा ठूलो मात्रामा फोहोर वातावरणीय क्षेत्रमा जाने गरेको समेत अध्ययनले देखाएको छ ।

अध्ययन अनुसार उत्पादन भएको फोहोरमध्ये ३ लाख ८९ हजार ९८३ टन फोहोर ल्याण्डफिल साइटमा जान्छ । ३ लाख १५ हजार ६९ टन भने नदी किनार तथा बगर जस्ता वातावरणीय क्षेत्रमा जाने गरेको छ । २२ हजार ७५ टन फोहोर भने जलाउने गरिएको छ ।

यसअनुसार फोहोरको पुनःचक्रीय उपयोगमा जान सक्ने प्लाष्टिक, धातु, कागज तथा कागजजन्य वस्तु भने मात्र ८ हजार ६९० टन मात्र रहेको छ ।

फोहोर कहाँ व्यवस्थापन हुन्छ ?

  • फोहोर ल्याण्डफिल साइट : ३ लाख ८९ हजार ९८३ टन
  • नदी किनार तथा बगर : ३ लाख १५ हजार ६९ टन
  • जलाउने : २२ हजार ७५ टन
  • पुनः प्रयोग : ८ हजार ६९० टन
  • अन्य : २ लाख ६४ हजार १८३ टन
लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?