+
+

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट कात्तिकमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ४ गते १३:५८
विनोद भण्डारी र शरद भेषवाकर ट्रफीका साथ । फाइल तस्वीर

४ असोज, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता कात्तिकमा आयोजना हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यक्रम अन्तर्गत रहेको प्रधानमन्त्री कप पुरुष क्रिकेटको पाँचौ संस्करण कात्तिक १२ देखि २६ गतेसम्म आयोजना गर्ने नेपाल क्रिकेट संघ (क्यान) को तयारी छ ।

क्यान कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लका अनुसार यस पटक एकदिवसीय फर्म्याटमा प्रतियोगिता हुनेछ । ओमानमा भएको टी-२० विश्वकप छनोटलाई मध्यनजर गर्दै गत वर्ष चौथो संस्करण टी-२० फर्म्याटमा भएको थियो ।

नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट सम्पन्न भइसकेको र असोजमा ८ देखि सुरु गर्ने भनिएको नेपाल टी-२० लिग मंसिरसम्मका लागि सरेपछि क्यानले यसवर्ष प्रधानमन्त्री कप क्रिकेट अगाढि सारेको हो ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० वटा टिमको सहभागिता हुनेछ । सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ ।

क्यान कार्यवाहक सचिव मल्लले यस पटक टिमलाई धेरै खेल खेल्न पाउने गरी व्यवस्था गरिने बताए । ‘१५ दिनको समय छ । एउटा टिमलाई ६ खेलसम्म खेल्न पाउने गरी नयाँ प्रयोग गर्न लागेका छौं’, मल्लले हरेक टिमको पोजिसन छुट्याउनका लागि प्लेअफ खेल हुने बताए ।

क्यानले प्रधानमन्त्री कपका लागि सम्बन्धित जिल्ला र प्रदेशलाई पत्र पठाइसकेको छ ।

जिल्लाले क्याम्पबाट वा प्रतियोगिता गरेर टिम छनोट गर्न सक्नेछन् भने प्रदेशले कात्तिक ६ गतेसम्म प्रतियोगिता गरिसक्नुपर्नेछ । त्यसपछि तिहार ब्रेक हुनेछ र तिहार सकिएपछि प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता सुरु हुनेछ ।

नेपालले मंसिरमा आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नामिबियामा गएर शृंखला खेल्ने तालिका छ । जसमा नेपाल, नामिबिया र स्कटल्याण्डले खेल्नेछन् । प्रधानमन्त्री कपले त्यसको तयारीका लागि पनि सहयोग पुग्ने क्यानको विश्वास छ ।

लिग २ शृंखला डिसेम्बर २ देखि ९ अर्थात मंसिर १६ देखि २४ सम्म नामिबियामा हुनेछ ।

क्यान आईसीसीबाट निलम्बन भएको अवस्थामा सन् २०१७ देखि राष्ट्रिय खेलकुद परिषदले प्रधानमन्त्री कपको सुरुवात गरेको थियो । क्यान निलम्बन फुकुवा भएपछि राष्ट्रिय खेलकुद परिषदको आर्थिक सहयोगमा क्यानले नै प्रधानमन्त्री कप आयोजना गर्दै आएको छ ।

प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल आर्मी र नेपाल पुलिस क्लब संयुक्त विजेता बनेका थिए । दोस्रो संस्करण एपीएफ, तेस्रो संस्करण नेपाल पुलिस क्लब र चौथो संस्करण आर्मीले जितेको थियो । आर्मीले हरेक संस्करणको फाइनल खेल्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?