+
+

चीनको जीडीआई अन्तर्गत नेपालमा २ परियोजना कार्यान्वयन हुने

दिपेश शाही दिपेश शाही
२०७९ असोज ६ गते १८:४१
जीडीआईमा आबद्ध मुलुकहरूको बैठक ।

६ असोज, काठमाडौं । चीनको विकास अवधारणा भनिएको ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) अन्तर्गत नेपालमा दुईवटा परियोजना लागू हुने भएका छन् ।

अमेरिकाको न्यूयोर्कमा मंगलबार बसेको जीडीआईमा आबद्ध मुलुकहरूको बैठकपछि चीनको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा यस अन्तर्गतका परियोजना र ती कार्यान्वयन हुने देशहरूको सूची सार्वजनिक गरिएको छ ।

चीनको विदेश मन्त्रालयका अनुसार नेपालमा लागू हुने परियोजनाहरूमा नेपाल स्माइल प्रोजेक्ट तथा ग्रामीण क्षेत्रका समुदाय र विद्यालयमा महामारी रोकथाम तथा हरित पुनर्स्थापना गर्ने रहेको छ ।

यीमध्ये पहिलो परियोजना नेपाल स्माइल गत असारमा नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले काठमाडौंको एउटा विद्यालयमा उद्घाटन गरेका थिए ।

यसले खाद्य सुरक्षा र गरीबी न्यूनीकरणका क्षेत्रमा काम गर्ने जनाइएको छ । चीनको विदेश मन्त्रालयद्वारा जारी सूचीमा उल्लेख भएअनुसार यस परियोजनाअन्तर्गत काठमाडौंमा रहेका विपन्न समुदायका ३ हजार ६०० बालबालिकालाई खाद्यन्न उपलब्ध गराइने छ ।

यसको कार्यन्वयनको एजेन्सीका रूपमा चीनको वाणिज्य मन्त्रालय, चाइना इन्टरनेशनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी र चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टलाई तोकिएको छ ।

त्यस्तै दोस्रो परियोजना ग्रामीण क्षेत्रका समुदाय र विद्यालयमा महामारी रोकथाम तथा हरित पुनर्स्थापना अन्तर्गत रहेर पनि गरीबी न्यूनीकरण, महामारी र खोपसम्बन्धी काम गरिने जनाइएको छ । यसको कार्यान्वयनको एजेन्सीमा चीनको वाणिज्य मन्त्रालय, चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी र संयुक्त राष्ट्रसंघ अन्तर्गतको संस्था यूएनडीपीलाई तोकिएको छ ।

जीडीआई अन्तर्गत कतिपय मुलुकमा तीनवटा कार्यक्रम राखिएका छन् भने कतिपय दुईभन्दा बढी मुलुकमा एउटै परियोजना राखिएका छन् । सूचीमा राखिएका ५० वटा परियोजनाहरू मध्ये नेपाललाई क्याम्बोडियापछि राखिएको छ ।

क्याम्बोडियामा पनि दुईवटा परियोजना लागू हुने उल्लेख छ । जीडीआई लागू हुने मुलुकमा पाकिस्तान, मंगोलिया, म्यानमार, इरान, क्यूबा, सोमालिया, सिरिया, ट्यूनिसिया, पेरु, फिजी, मोजाम्बिक, जिम्बावे, निकारागुवा र बोलिभियालगायत छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०२१ को संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा जीडीआईको अवधारणालाई अघि सारेका थिए । यस अवधारणामा रहेर संयुक्त राष्ट्रसंघीय दिगो विकासको लक्ष्य (एसडीजी) हासिल गर्न विकासशील मुलुकलाई सघाउने लक्ष्य रहेको दावी चीनको छ ।

अहिले संयुक्त राष्ट्रसंघको ७७औं महासभाको छेकोमा अमेरिकामा नै यसको कार्यान्वयको विषयलाई लिएर चीनले बैठक आयोजना गरेर लागू हुने देश र परियोजनाको सूची सार्वजनिक गरेको हो ।

चिनियाँ विदेशमन्त्री वाङ यीको नेतृत्वमा बसेको जीडीआई कार्यान्वयन सम्बन्धी बैठकबारे जारी विज्ञप्तिमा उक्त सूचीसमेत समावेश गरिएको छ । वाङको अध्यक्षतामा बसेको बैठकमा संयुक्त राष्ट्रसंघको ७७औं महासभामा सहभागी हुन न्यूर्योक पुगेका विभिन्न ६० वटा मुलुकका उच्च तहका प्रतिनिधिहरूको सहभागिता रहेको जनाइएको छ ।

चिनियाँ विदेशमन्त्रालयका अनुसार बैठकमा सहभागी हुनेमा चारवटा देशका उपप्रधानमन्त्री, ३० वटाभन्दा बढी मुलुकका विदेशमन्त्री, १० वटा अन्तर्राष्ट्रिय संस्था र यूएन अन्तर्गतका विभिन्न संगठनका प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।

उक्त बैठकलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भिडियो सन्देशमार्फत सम्बोधन गरेका थिए भने उपमहासचिव अमिना मोहम्मद बैठकमै सहभागी भएको चीनको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?