+
+

अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड

अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबारका लागि १ अमेरिकी डलरको बिक्री मूल्य १२९ रुपैयाँ ६८ पैसा र खरिद मूल्य १२९ रुपैयाँ ८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ७ गते २२:०६

७ असोज, काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबारका लागि १ अमेरिकी डलरको बिक्री मूल्य १२९ रुपैयाँ ६८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै खरिद मूल्य १२९ रुपैयाँ ८ पैसा रहेको छ ।

बिहीबार १ अमेरिकी डलरको बिक्री मूल्य १२८ रुपैयाँ २७ पैसा रहेकोमा शुक्रबार एकैदिन १ रुपैयाँ ४१ पैसाले बढेको छ ।

शुक्रबार डलरको मूल्य २ महिना अगाडिको रेकर्ड तोड्दै माथि लागेको हो । यसअघि ५ साउन २०७९ मा १ अमेरिकी डलरको बिक्री मूल्य १२८ रुपैयाँ २९ पैसा र खरिद मूल्य १२७ रुपैयाँ ६९ पैसासम्म पुगेको थियो । त्यसपछि १८ साउनमा १ अमेरिकी डलरको बिक्री मूल्य १२६ रुपैयाँ २५ पैसा र खरिद मूल्य १२५ रुपैयाँ ६५ पैसासम्म झरेको थियो । त्यसपछि पुनः बढ्न लागेको डलरको मूल्यले शुक्रबार नयाँ उचाई कायम गरेको हो ।

किन बलियो बन्यो डलर ?

अमेरिकी केन्द्रीय बैंक ‘फेडेरल रिजर्भ बैंक’ (फेड) ले ब्याजदर बढाउँदा अमेरीक डलर बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा अर्थविद् नरबहादुर थापा बताउँछन् ।

‘फेडले ब्याजदर बढाउँदा विश्वभरी रहेको अमेरिकी लगानी (पोर्टफोलियो) अमेरिका फिर्ता भयो । भारतबाट पनि पोर्टफोलियो लगानी ( प्रत्यक्ष वैदेशिक लगानी बाहेकका सेयर बजार तथा अन्य लगानी) फिर्ता भएको छ,’ उनले भने, ‘युरोपको अर्थतन्त्र राम्रो छैन । रसिया र युक्रेन युद्धले तेल र ग्यासको आपूर्ति सहज नहुँदा युरोपीयन अर्थतन्त्र कमजोर बनेको छ, जसले गर्दा डलर बलियो बन्दै गएको छ ।’

हिउँदको समय नजिकिंदै गर्दा रसियाले ग्याँस र तेलको आपूर्ति रोक्ने चेतावनी दिइरहँदा हिउँदमा के हुने भन्ने अन्यौलता युरोपियन अर्थतन्त्रमा देखिएको उनले बताए । जसले गर्दा युरो कमजोर बनेको र डलर झनै बलियो बनेको उनले बताए । यस्तै विश्वव्यापी रुपमा बढेको महँगीले पनि डलरलाई थप बलियो बनाउन सहयोग पुगेको उनले बताए । महँगीका कारण अन्य अर्थतन्त्र कमजोर बनेको र जसले गर्दा डलर झनै बलियो भएको उनको तर्क छ ।

‘भारतिय अर्थतन्त्रमा असहज अवस्था छ । भारतले चलाखी गरेर रसियाबाट सस्तो मूल्यमा इन्धन आयात गर्दा रसिया र युक्रेन युद्धको प्रभाव भारतिय अर्थतन्त्रमा जति पर्नुपर्ने थियो त्यति परेन,’ उनले भने, ‘तर, रसियो युक्रेन युद्धको प्रभाव विश्व बजारमा परेको छ । त्यसको असर भारतीय अर्थतन्त्रमा पनि देखियो जसले गर्दा भारतीय रुपैयाँ डलरको तुलनामा कमजोर बन्यो । भारुसँगै नेपाली रुपैयाँ पनि कमजोर बन्यो ।’

डलरको मूल्य लगातार बढ्दा नेपाली रुपैयाँमा आयात बढेर व्यापार घाटा झनै बढ्ने जोखिम बढेको थापा बताउँछन् । यसको साथै डलरको मूल्यवृद्धिले यसै उच्च रहेको मुद्रास्फीतिमा थप चाप पर्ने उनको तर्क छ । ‘डलरको मुल्य बढ्दा नेपाल सरकारको वैदेशीक ऋणको दायीत्व बढेर बजेट घाटा झनै बढ्न जान्छ,’ उनले भने, ‘रेमिट्यान्स, पर्यटन र बस्तु निर्यातमा वृद्धि हुने जस्ता सकारातमक प्रचाव पनि पर्नसक्छ ।’

उनले भनेजस्तै डलरको मूल्य बढ्नुको सकारात्मक र नकारात्मक दुवै प्रभाव हुने राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ पनि बताउँछन् । डलरको मूल्य बढ्दा मूल्यवृद्धि थप उच्च हुनुको साथै सरकारको वैदेशिक ऋणीको दायित्व पनि बढ्ने उनको भनाइ छ । अर्कोतर्फ डलर महँगिदा आयातमा कमी आउनुको साथै रेमिट्यान्स पनि बढ्नसक्ने उनी बताउँछन् ।

अमेरिकी डलर बलियो बन्दै जाँदा युरो भने कमजोर बन्दै गएको छ । २०१७ यता लगातार डलर भन्दा बलियो रहेको युरो पछिल्लो १/२ महिना यता भने कमजोर बनेको छ । शुक्रबार पनि युरोको खरिद मूल्य १२७ रुपैयाँ ५७ पैसा र बिक्री मूल्य १२८ रुपैयाँ १६ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?