
News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको छ भने भारतसँगको स्थिर विनिमय दरका कारण भारुमा हुने उतारचढावले नेपाली रुपैयाँलाई असर गरेको छ।
- नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले अमेरिका र भारतबीचको व्यापारिक द्वन्द्वले डलर र भारुको विनिमय दरमा प्रभाव पारेर नेपाली रुपैयाँ कमजोर भएको बताए।
- नेपालमा डलर बलियो हुँदा मूल्यवृद्धि बढ्ने, आयात महँगो हुने र अन्तर्राष्ट्रिय ऋण भुक्तानी महँगो पर्ने सम्भावना रहेको छ भने रेमिट्यान्स र विदेशी लगानी बढ्ने सम्भावना पनि छ।
२३ असोज, काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको छ । अमेरिका र भारतबीचको व्यापारिक द्वन्द्वका कारण भारतीय मुद्रा (भारु) कमजोर हुँदा नेपाली रुपैयाँको असर त्यसमा परेको हो ।
नेपाली मुद्राको विनिमय दर भारुसँग स्थिर अर्थात् १ सय भारु बराबर १ सय ६० नेपाली रुपैयाँ कायम गरिएको छ । भारतसँगको स्थिर विनिमय दरका कारण भारुमा हुने उतारचढाव आधारमा डलर र रुपैयाँको कारोबार हुन्छ ।
अमेरिकी डलरसँगको विनिमय दर पनि भारुमा परिवर्तन गरेर गणना हुने भएकाले अमेरिका र भारतको व्यापारिक द्वन्द्वको असर नेपाली विनिमय दरमा देखिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताए ।
रुस र युक्रेन युद्धका बेला पश्चिमा देशले रुसबाट इन्धन आयात नगर्ने निर्णय गरे । त्यससँगै रुसलाई पश्चिमा देशले ऋण बक्यौता पनि भुक्तानी गर्न दबाब दिएका थिए । सोही समयमा भारतले भारु र रुसले रुबेलमा कारोबार गर्ने गरी कच्चा तेल आयात गर्न सुरु गरेको थियो ।
भारतले रुससँग स्थानीय मुद्रामा व्यापार सुरु गरेपछि अमेरिका रुष्ट हुँदै आएको थियो । त्यसपछि अमेरिकाले भारतबाट निर्यात हुने वस्तुमा ५० प्रतिशत भन्सार शुल्क कायम गरेपछि भारतमा विदेशी लगानी फिर्ता हुने क्रम बढ्न थालेको छ ।
भारतमा प्रत्यक्ष वैदेशिक लगानीमा कमी आउनुका साथै फिर्ता हुने क्रम बढ्यो । त्यसले डलरको माग बढाउँदा भारु कमजोर भएको कार्यकारी निर्देशक नेपालको भनाइ छ ।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विनिमय दरका आधारमा १ अमेरिकी डलर बराबर बिक्री दर १ सय ४२ रुपैयाँ ३८ पैसा र खरिद दर १ सय ४१ रुपैयाँ ७८ पैसा कायम भएको छ । यो विनिमय दर हालसम्मकै उच्च हो ।
त्यसैगरी बिहीबार एक अमेरिकी डलर बराबर ८८.७९ भारु कायम भएको छ । पछिल्लो समयमा ब्रिक्स राष्ट्रहरूले अन्तर्राष्ट्रिय व्यापारमा डलरको बाहुल्य रहेको हुनाले त्यसलाई कमजोर बनाउने संयुक्त मुद्राको अभ्यास गर्ने प्रक्रिया अघि बढाएका छन् ।
त्यसैगरी चीनले पनि आफ्नो मुद्रा युआन कारोबार गर्ने गरी सहमति गरेर आयात निर्यातको काम पनि गर्दै आएको छ । अमेरिकाले अन्तर्राष्ट्रिय व्यापारमा डलरको बाहुल्य कमजोर हुन नदिन भारतसँगको व्यापारमा कडाइ गर्दाको असर नेपाली विनिमय दरमा देखिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक नेपालको विश्लेण छ ।
रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले डलरको तुलनामा भारु थप कमजोर हुन नदिन हस्तक्षेपकारी नीति अवलम्बन गर्दै आए पनि यसपालि गरेन ।
आरबीआईले डलर र भारुको विनिमय दर उतारचढावमा कुनै पनि हस्तक्षेप नगरी बजारलाई नै निर्धारण गर्न छाडेको छ । त्यसले गर्दा पनि भारतबाट विदेशी लगानी फिर्ता जाने क्रम बढ्दा डलरको माग बढ्दा भारु कमजोर भएको हो । भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि डलरसँग स्वतः कमजोर हुन्छ ।
‘भारुसँगको स्थिर विनिमय दरका कारण डलर र भारुको जति रेट छ, त्यसलाई मल्टिप्लाई गरेर राष्ट्र बैंकले विनिमय दर तोक्ने हो,’ नेपालले भने, ‘पछिल्लो समय विदेशी लगानी फिर्ता भएको र नयाँ लगानी नआएका कारण इन्डियाले आफ्नो रेट खुला छाडेको छ, डलर डिमान्ड भएपछि आईसीको माग घट्यो, डलर बढ्दा आईसी बेच्नुपर्याे ।’
विश्वको कुल सञ्चितिको ७५ देखि ८० प्रतिशत डलरमा छ । त्यसैगरी अन्तर्राष्ट्रिय व्यापारमा डलर प्रयोग पनि सोही अनुपातमा छ । त्यसकारण अधिकांशले डलर सञ्चिति बढाउँदा माग बढेको नेपालको बुझाइ छ ।
नेपालजस्तो मुलुकको कुल विदेशी विनिमय सञ्चितिमध्ये ६०–६५ प्रतिशत अमेरिकी डलरमा नै राख्ने गरेको जानकारी नेपालले दिए । उनका अनुसार डलरमै नराखे पनि लगानी गर्दा डलरको बाहुल्य रहेका देशमा बढी छ ।
त्यसैले अन्य देशले पनि त्यसैगरी डलरलाई नै प्राथमिकतामा राखेर कारोबार गर्ने भएकाले पनि डलर माग बढेको उनको बुझाइ छ ।
पछिल्लो समय ब्रिक्स राष्ट्रहरूसँग अमेरिकाको सम्बन्ध राम्रो नभएकाले पनि डलरको बाहुल्य कम गर्नेलाई अमेरिकाले कर बढाइदिएको अवस्थाले पनि डलर माग बढेको उनी बताउँछन ।
भारतकै सन्दर्भमा कुरा गर्दा पनि अमेरिकाले भन्सार दर बढाएपछि त्यहाँको स्टक मार्केट घट्यो, अन्य क्षेत्रको पनि लगानी फिर्ता भएको अवस्था छ ।
डलर बलियो हुँदा नेपाललाई के गर्छ असर ?
नेपाली मुद्रा डलरको तुलनामा कमजोर हुँदा मूल्यवृद्धि बढ्ने अवस्था रहन्छ । आयातमा आधारित अर्थतन्त्र भएकाले पनि आयातित वस्तुको मूल्य बढ्ने स्वाभाविक नै भयो । त्यसका साथै अन्तर्राष्ट्रिय ऋण भुक्तानी महँगो पर्न जान्छ । तर, डलर बलियो भएको खण्डमा रेमिट्यान्स आप्रवाह बढ्न जान्छ ।
त्यसैगरी निर्यात बढाउन सकेको खण्डमा पनि अन्तर्राष्ट्रिय व्यापारबाट लाभ लिन सकिने अवस्था रहन्छ । त्यसका साथै विदेशी लगानी बढ्ने तथा विदेशी लगानी फिर्ता नभई नेपालमै पुनः लगानी बढने अवस्था रहन्छ ।
प्रतिक्रिया 4