+
+
गफ स्टेसनमा गायक बाबु बोगटी :

‘सान्नानीको रिमेक नयाँ पुस्तालाई रिकल हो’

१८ वर्षपछि बाबु बोगटी अनायास फर्किए, उही भाका, उही गीत लिएर ‘सान्नानी तिमीलाई हिर्काउँला लौरीले ।’ यद्यपि हिजोको पुस्ताले सुनेको गीत र आज सार्वजनिक गीत दुरुस्तै छैन । किनभने यसलाई उनले ‘नवीकरण’ गरेका छन् ।

खेम रिसाल खेम रिसाल
२०७९ असोज ७ गते १७:२८

सान्नानी तिमीलाई हिर्काउँला लौरीले

ठ्याक्क ठ्याक्क ठ्याक्क ।’

६० को दशकमा लोकलयको यो गीत सबैको मुख-मुखमा झुण्डिएको थियो । माया-पिरतीको नोकझोंकलाई ठट्यौली ढंगले प्रस्तुत गरिएको गीतमा खासगरी प्रेमिल पुस्ताको भावना अभिव्यक्त हुन्थ्यो । त्यसैले जीवनमा प्रेमको भाका खोजिरहेकाहरु यही गीतबाट आफूलाई उजागर गर्थे । यसरी ‘सान्नानी’ उनीहरुको पेवा झैं बनेको थियो ।

यो गीतसँगै नेपाली संगीतमा गायक बाबु बोगटीको जबर्जस्त उदय भयो । हुन त, २०५६ सालमै ‘शिरमाथि सगरमाथा’ गीतबाट उनले सांगीतिक क्षेत्रमा पाइला राखेका थिए । तर ‘सान्नानी’ले सौम्य व्यक्तित्व र मिजासिलो स्वभावका बाबु चाँडै नै लोकप्रियताको उत्कर्षमा पुगे । फिल्मको पार्श्व गायनमा पनि उनको आवाज औधी रुचाइयो । गायककै रुपमा चर्चा बटुलिरहेका बेला उनी चलचित्रमा प्रवेश गरे । यता पनि उनको अपेक्षाकृत फलिफाप भयो ।

तर यसैबीच उनी एकाएक अलाप भए ।

१८ वर्षपछि उही गीत नयाँ भर्सनमा

र, १८ वर्षपछि बाबु बोगटी अनायास फर्किए, उही भाका, उही गीत लिएर ‘सान्नानी तिमीलाई हिर्काउँला लौरीले ।’ यद्यपि हिजोको पुस्ताले सुनेको गीत र आज सार्वजनिक गीत दुरुस्तै छैन । किनभने यसलाई उनले ‘नवीकरण’ गरेका छन् ।

त्यसो त ‘कमब्याक’ आफैंमा चुनौतीपूर्ण हुन्छ । कुनैबेला पाएको प्रसिद्धि, बीचमा विभिन्न कारण गुमनामजस्तै भएको अवस्था र त्यसपछि पुरानै लय समात्ने अठोट अर्थात् ‘कमब्याक’ । जुनसुकै क्षेत्रमा कमब्याक एउटा अवसर र चुनौती दुवै बनेर उभिएको हुन्छ ।

‘नयाँ पुस्ताले मेरो यो गीत सुनेका छैनन्, उनीहरुकै लागि ‘सान्नानी’ गीतको रिमेक भर्सन ल्याएको हुँ । एक हिसाबले मेरो दर्शक-श्रोतालाई रिकल हो, अनि सुखद् कमब्याकको आशा पनि,’ अनलाइखबरको गफ स्टेसनमा गफिंदै बाबुले भने ।

सांगीतिक आकाशमा पुनरोदय गर्दा अरु थप चुनौती हुन्छ । कुनै समय आफ्ना गीत-संगीतलाई श्रोता-दर्शकले अत्यन्त रुचाएको, केही समय झण्डै ओझेल परेर फेरि उस्तै दमदार सिर्जना ल्याएर दर्शक-श्रोतामाझ आउनु साँच्चै फलामको चिउरा चपाउनु जत्तिकै कठिन हुन्छ ।

झण्डै दुई दशकअघिको लोकलयमा आधारित ‘सान्नानी’ गीत सुन्दा मीठो मात्रै होइन, यसको भिडियो पनि उत्तिकै आकर्षक थियो । अभिनेत्री नन्दिता केसी र स्वयं गायक बाबुको केमेस्ट्री गज्जब देखिन्थ्यो । यो गीत सार्वजनिक भएपछि बाबुले पछाडि फर्केर हेर्नुपरेन ।

मोरङको लेटाङबाट गायक बन्छु भनेरै २०५५ सालमा एसएलसी उत्तीर्ण भएपछि ललितकला क्याम्पसमा संगीत विषय लिएर पढ्न उनी काठमाडौं हान्निएका थिए । २०६१ सालमा रिलिज भएको ‘सान्नानी’पछि बाबुका सानो छ गाउँ, तुलसी आँगनमा, जमुना, टिकुली लगायत गीत पनि उत्तिकै रुचाइए । यद्यपि आज पर्यन्त पनि उनलाई ‘सान्नानी गायक’ भनेर चिन्नेकै बाहुल्यता छ ।

ठीकठाक सांगीतिक जीवन अगाडि बढिरहेको बेला विवाह गरेर सन् २०१६ मा गायक बाबु अमेरिका पुगे । श्रीमती उतैकी ग्रीनकार्ड होल्डर भएकाले बाबु पनि उतै बस्नुपर्‍यो, जसकारण उनको सांगीतिक यात्रामा केही ‘ब्रेक’ लाग्यो । बीचमा नेपाल आउने जाने गर्दा गीत सार्वजनिक गरिरहेको भए पनि उनको पहिलेको ‘चार्म’ भने हराएजस्तै भयो । यस्तोमा उनी गतिलो ‘कमब्याक’को पर्खाइमा थिए ।

अनि उनलाई आइडिया फुर्‍यो, ‘सान्नानी’लाई रिमेक गर्ने ।

‘नयाँ पुस्ताले मेरो यो गीत सुनेका छैनन्, उनीहरुकै लागि ‘सान्नानी’ गीतको रिमेक भर्सन ल्याएको हुँ । एक हिसाबले मेरो दर्शक-श्रोतालाई रिकल हो, अनि सुखद् कमब्याकको आशा पनि,’ अनलाइखबरको गफ स्टेसनमा गफिंदै बाबुले भने ।

तपाईं त एक प्रतिभाशाली गायक अहिलेको शैलीको नयाँ गीत ल्याएर पनि त ‘कमब्याक’ राम्रै गर्नुहुन्थ्यो होला नि ? भन्ने हाम्रो प्रश्न खस्न नपाउँदै उनको जवाफ थियो, ‘यसमा खास कारण छ । सान्नानी रिलिज भएको झण्डै दुई दशक भयो, हाम्रो पुस्ताले त यो गीत धेरै सुन्यौं । तर पछिल्लो पुस्ताले सान्नानी सुन्न पाएका छैनन् । यो उनीहरुका लागि हो ।’

यो रिमेक गर्नुको खास कारण भने उनले ‘सान्नानी २’ गीत ल्याउन लागेका रहेछन् । जुन गीतको भिडियोमा नन्दिता नै उनको जोडी बन्नेछिन् । ‘सान्नानी २’लाई दशैंलगत्तै रिलिज गर्ने उनको योजना छ । कतिपय हलिउड फिल्मले सिक्वेल ल्याउँदा अघिल्लो भाग फेरि हलमा रिलिज गरेजस्तै शैली उनले अपनाएका रहेछन् ।

एउटा सुपरहिट भइसकेको गीत नयाँ स्वरुपमा ल्याउँदा कमजोर सावित भएका उदाहरण पनि छन् । पुरानो गीतको मिठास नयाँले पटक्कै बोक्न नसकेको गुनासो पनि आउँछन् । ‘मेरो हकमा पनि त्यो लागू होला,’ गायक बाबु भन्छन्, ‘कुनै पनि हालतमा पुरानो सान्नानीको स्थान रिमेकले लिन सक्दैन । त्यो मेलोडी, त्यो एरेन्जमेन्ट अहिले हुँदैन । तर पनि एरेन्जमेन्ट, भिडियोमा अहिलेका दर्शकले रुचाएका कलाकार लगायत अहिलेको नयाँ हतियार प्रयोग गरेर नयाँ पुस्तालाई सुनाउन, हेराउन खोजेको हुँ ।’

नयाँ भर्सनमा उनले गीतको चर्चित शब्द लौरीलाई लौरो बनाइदिएका छन् । ‘अहिलेको राजनीतिक परिवेशमा पनि लौरो ठीक होला भनेर राखेको हो,’ हाँस्दै उनले भने ।

कहाँ हराए यत्रो वर्ष ?

मनमा यत्रो सांगीतिक तिर्खा बोकेर हिंडेका बाबु ६-७ वर्ष कहाँ हराएका थिए त ? ‘म अमेरिकामा थिएँ । तर संगीतबाट पूरै टाढा भने होइन । नेपाल आउँदा गीतहरु ल्याइरहेको हुन्थें । तर पनि यहाँ हुँदाजस्तो चाँजोपाँजो मिलाउन सहज नहुने रहेछ,’ उनी भन्छन् ।

श्रीमती र दुई सन्तानका साथ बाबु हाल अमेरिकाको ओहायो राज्यस्थित कोलम्बस सहरमा बस्छन् । उनका बुबाआमा काठमाडौंको बौद्धस्थित घरमा बस्छन् । बाबुलाई संगीतप्रतिको लगावले नेपालमै बसौंजस्तो पनि लाग्छ, तर श्रीमती र बच्चाहरुका लागि पनि विदेशमा बस्नुको विकल्प तत्काललाई नरहेको उनी सुनाउँछन् ।

‘श्रीमती (फुलु बोगटी) पहिलेदेखि नै अमेरिका बस्दै आएकी थिइन् । विवाहपछि म पनि उतै जानुपर्‍यो,’ उनी सुनाउँछन्,’ तर पनि यो बीचबाट आठ पटक नेपाल आएँ र संगीतकै लागि केही काम पनि गरें, तर पहिलेजस्तो ती काम नोटिस्ड भएनन् ।’

बाबुलाई पनि अहिले भिडियोमा गरिएको लगानीले केही खिन्न बनाएको छ । व्यावसायिक कलाकार, सर्जकभन्दा रहरले आउनेहरुले गर्दा म्युजिक भिडियोको लागत लाखौं पुगेकोमा उनी दुःखी छन् । विदेशमा बस्ने सर्जकहरुले दुई-तीन लाख रुपैयाँ लगानी गरेर गीत निकाल्छन्, तर लगानी फिर्ता असम्भवप्रायः हुन्छ ।

फिल्ममा पनि बाबु

भोजपुरको टक्सार कोटडाँडामा जन्मिएका बाबु बोगटीको परिवार उनी सानै हुँदा मोरङको लेटाङ बसाइँ सर्‍यो । आमाको प्रेरणाले उनी सानैदेखि गीत गाउन रचि राख्थे । नाच्न र नाटक खेल्नमा उनको रचि थियो ।

बाबुले हालसम्म १५० गीतमा आफ्नो स्वर दिइसकेका छन् भने १०० गीतमा संगीत र ३० वटा जतिमा शब्द रचना गरेका छन् । उनको २०५७ सालमा पहिलो एल्बम ‘पुल्चोक पाटन’ रिलिज भयो भने त्यसपछि रिक्वेस्ट, जमुना लगायत सातवटा एल्बम निकाले ।

सांगीतिक क्षेत्रमा सफलता हात पारेका बाबुले आफूमा सुषुप्त रुपमा रहेको अभिनयको भोक पनि मेटाउन सफल भए । उनले करिब डेढ दर्जन फिल्ममा अभिनय गरेका छन् । जसमध्ये गायक यशकुमारसँगको फिल्म ‘बाटोमुनिको फूल’लाई धेरैले रुचाए ।

तर अब भने फिल्ममा उति साह्रो रुचि नभएको उनी सुनाउँछन् । ‘अमेरिकामा बस्ने भएकाले फिल्मको अफर पनि खास आउँदैन । अनि समय दिन नै नभ्याउने भएपछि फिल्म करिअर चाहिं अलि टुटेकै हो,’ फिल्ममा फर्किनेबारे बाबु भन्छन्, ‘म यहाँ हुन्न पनि, त्यस्तो अफर छैन । फिल्मलाई लिएर म आफैं पनि म इन्ट्रेस्टेट छैन ।’

उनले आधा दर्जनजति टीभी सिरिज समेत खेलेका छन् ।

यशकुमारसँगको दोस्ती

गायक यशकुमार र बाबु बोगटीको मित्रतालाई कुनैबेला उदाहरणीय मानिन्थ्यो । उनीहरुको मित्रता यतिसम्म झाँगियो कि संगीतमा मात्रै होइन, फिल्ममा पनि उनीहरुले एकसाथ काम गरे । तर एक समय एउटा गीतको विवादका कारण उनीहरुको सम्बन्धमा चिसोपन समेत आयो । अझै पनि उनीहरुबीच हार्दिकता आइनसकेको सांगीतिक वृत्तमा सुनिन्छ । तर यो विषयलाई बाबुले भने अस्वीकार गरे ।

‘हो कुनैबेला एउटा गीतका कारण हामीबीच सामान्य विवाद भएको थियो, तर अहिले त्यस्तो छैन,’ यशकुमारसँगको सम्बन्धबारे प्रष्टीकरण दिंदै बाबु भन्छन्, ‘साथीभाइको फोटो उहाँ पनि धेरै राख्नुहुँदैन । म पनि जोसँग भेट्यो उहीसँग फोटो खिच्ने टाइपको परिनँ । तर हाम्रो सम्बन्ध राम्रो छ, अस्ति नै अमेरिकामा जाँदा पनि यश दाइ मेरै घरमा बस्नुभएको थियो । सान्नानीको रेकर्डिङको बेला पनि स्टुडियो पुग्नुभएको थियो ।’

फिल्ममा भने आफू नेपालमा धेरै नबस्ने भएकाले सहकार्य हुन नसकेको उनी बताउँछन् ।

अहिलेका गीत कस्ता ?

समयसँगै गीत-संगीतको पनि शैली परिवर्तन भइरहेको छ । केही समयअघिका गीत र अहिलेका गीतमा धेरै कुरामा फरक पाउन सकिन्छ । बाबुको अनुभवमा अहिलेको पुस्ताले अलि फास्ट शैलीका गीत धेरै रुचाएका छन् ।

‘हुन त, पहिलेको पुस्ताले आफ्नै पालाको राम्रो भन्ने बानी हुन्छ । मलाई पनि त्यस्तै लाग्न सक्छ । अहिले गीत सुन्ने मात्रै होइन, हेरिन्छ पनि । पहिले नेपालकै मात्र आउँथ्यो भने अहिले संसारका भरका गीत-संगीतसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको छ,’ उनी भन्छन्, ‘तर पनि प्रविधि, प्लेटफर्म लगायतका कुराले अहिलेको संगीत राम्रो हुँदै गएको छ । यद्यपि पुरानो र नयाँ पुस्ताबीच केही ग्याप भने छ ।’

अहिले गीत सुन्ने कम हेर्ने बढी भएको देखिन्छ । भिडियोका लागि दुई-तीन लाख रुपैयाँमाथि खर्च गर्नुपर्ने अवस्था छ । बाबुलाई पनि अहिले भिडियोमा गरिएको लगानीले केही खिन्न बनाएको छ । व्यावसायिक कलाकार, सर्जकभन्दा रहरले आउनेहरुले गर्दा म्युजिक भिडियोको लागत लाखौं पुगेकोमा उनी दुःखी छन् । विदेशमा बस्ने सर्जकहरुले दुई-तीन लाख रुपैयाँ लगानी गरेर गीत निकाल्छन्, तर लगानी फिर्ता असम्भवप्रायः हुन्छ । ‘यसमा आम्दानी भन्दा पनि मेरो गीत, अभिनय दर्शक-श्रोताले हेरिदिउन्, सुनिदिउन् भन्ने हुन्छ होला,’ बाबु भन्छन् ।

गफ स्टेसनसँगको कुराकानी बिट मार्दै गर्दा उनी थप्छन्, ‘रहरले आउने धेरै हुँदा प्रतिभाले आउनेहरु छोपिएका छन् ।’

तस्वीर/भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर

भिडियो सम्पादन : शंकर गिरी

लेखकको बारेमा
खेम रिसाल

रिसाल अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् । उनी समाज, कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?