+
+

जसपा त्यागेका नेता भन्छन् : एमालेबाट टिकट पक्का गरेर आएँ

सुरेश बिडारी सुरेश बिडारी
२०७९ असोज ९ गते १७:२५

९ असोज, वीरगञ्ज । जनता समाजवादी पार्टी नेपालका प्रदेश सभा सदस्य मञ्जुर भनिने अब्दुल रहिम अन्सारी नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार धनुषामा आयोजित कार्यक्रममा मञ्जुरलाई एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन् ।

०७४ सालको निर्वाचनमा मञ्जुर पर्सा क्षेत्र नं ३ को (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । मंसिर ४ गते हुने निर्वाचनका लागि पनि जसपाले उनको नाम प्रदेश सभा सदस्यका लागि सिफारिस गरेको थियो ।

संघीय समाजवादी फोरम नेपालबाट २०७४ मा प्रदेशसभा सदस्य निर्वाचन लडेका उनले नेपाली काँग्रेसका चन्द्र किशोर प्रसाद र नेकपा एमालेका नागेन्द्र प्रसाद चौधरीलाई पराजित गरेका थिए । नागेन्द्र अहिले नेकपा एकीकृत समाजवादी पार्टीमा आवद्ध छन् । मञ्जुरले ७००४ मत ल्याउँदा चन्द्रकिशोरले ६८४५ ल्याएर दोस्रो र नागेन्द्र ५९८६ मत ल्याएर तेस्रो भएका थिए ।

अन्सारीले मधेस मुक्तिपछि देश निर्माणका लागि राष्ट्रिय पार्टी एमालेमा गएको प्रतिक्रिया दिएका छन् । ‘१५ वर्ष मधेश मुक्तिका लागि लडाई लड्यौं, आन्दोलन गर्‍यौं । धेरै हदसम्म सफल पनि भयौं, गणतन्त्र संघीयता मात्रै ल्याएनौं, नयाँ संविधान आयो, प्रदेशको नाम मधेस प्रदेश राख्न सफल भयौं । अरु कुरा पनि पुरा हुँदै जान्छ’, उनले भने, ‘जसपा क्षेत्रीय र जातीय पार्टीबाट माथि उठ्न सकेन । जसपामा रहेर देश बनाउन सकिन्न भन्ने लाग्यो, भविष्य देखिएन ।’

एमालेको जिल्लादेखि केन्द्रीय नेतासँगको समन्वयमा पार्टी प्रवेश गरेको बताउँदै टिकट पनि कन्फर्म भएरै पार्टीमा आएको बताए । ‘हुन त जसपामा रहेको भएपनि गठबन्धनबाट मेरो टिकट कन्फर्म थियो, नेताहरुले पार्टी नछोड्न आग्रह पनि गरेका थिए’, उनले भने तर पार्टीमा बस्न मनै थिएन, एमालेमा हचुवाको तालमा आएको छैन, टिकट कन्फर्म गरेरै आएको छु । अध्यक्ष केपी ओली र महासचिव ईश्वर पोखरेल कमेरडहरुसँग प्रत्यक्ष कुरा भएको छ ।’

एमालेले पर्सा क्षेत्र नं ३ को (क) लागि उम्मेदवार सिफारिस गरेका व्यक्ति निरराज गिरी पनि वडा सदस्यको उम्मेदवार भएकोले आफूले नै टिकट पाउने दाबी उनको छ । ‘मेरो क्षेत्रमा एमालेबाट निरराज गिरीजीको नाम सिफारिस भएको छ । उहाँ स्थानीय चुनावमा नेपाली कांग्रेसबाट सखुवा प्रसौनी गाउँपालिका– ५ को वडा सदस्यमा निर्वाचित भएको व्यक्ति हो । पद त्यागेर एमालेमा आउनुभएको हो । एमालेको कुनै पुरानो नेता हैन’ उनले भने ‘मैले आफ्नो क्षेत्रमा हुने चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रममा आइदिन अध्यक्ष ओलीलाई निम्तो समेत दिएर आइसकेको छु ।’

जनता समाजवादी पार्टीका पर्सा अध्यक्ष राम नरेश यादवले पार्टीमा कुनै असन्तुष्टी नराखी मन्जुरले पार्टी परित्याग गरेको बताउँछन् । ‘ पार्टी छोड्नु अघि हामीसँगै बसेर चिया खाएका थियौं, पार्टी प्रति खासै असन्तुष्टि देखाउनु भएन’ उनले भने ‘स्थानीय स्तरमा केही नेता कार्यकर्ताले असहयोग गर्दै थिए । त्यसलाई मिलाउँला, विद्यालयकको टिकट पनि तपाईंले नै पाउने हो भनेको थिँए, अचानक पार्टी छोडेको खबर आयो ।’

पर्सा क्षेत्र नं ३ को (ख) मा प्रदेश सभा सदस्यमा निर्वाचित प्रल्हाद गिरी गोश्वामी यसअघि नै एमालेमा गईसकेका छन् । ०७४ मा संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका प्रल्हाद गिरी लोसपा हुँदै एमालेमा प्रवेश गरेका हुन् ।

०७४ को निर्वाचनमा गिरीले नेपाली कांग्रेसका जनार्दन सिंह क्षेत्रीलाई ९५ मतले पराजित गरेका थिए । गिरीले ६३४५ मत ल्याउँदा क्षेत्रीले ६२५० मत ल्याएका थिए । क्षेत्री अहिले नेपाली कांग्रेसको पर्साको सभापति छन् ।

निर्वाचन क्षेत्रका नेता नै असन्तुष्ट

पर्सा क्षेत्र नं ३ मा प्रतिनिधि सभा सदस्यका लागि एमालेबाट केन्द्रीय सदस्य समेत रहेका राजकुमार गुप्ताको नाम सिफारिस गरेको छ । गुप्ता संविधान सभा सदस्य पनि हुन् ।

०७४ सालको निर्वाचनमा भने उनी संघीय समाजवादी फोरम नेपालका हरिनारायण रौनियारसँग पराजित भएका थिए । पप्पु कन्स्ट्रक्सनका संस्थापक रौनियार भ्रष्टाचार मुद्धा परेपछि निलम्बित छन् ।

रौनियार १५१६८ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री सुरेन्द्र चौधरीले १३८०१ मत ल्याएका थिए भने एमालेका गुप्ताले १०९८६ मत ल्याएर तेस्रो भएका थिए ।

गुप्ताले ग्रास रुटमा दुवै प्रदेश सभा सदस्यको प्रवेशले कुनै अर्थ नराख्ने बताएका छन् । ‘प्रल्हाद गिरी पार्टी परिवर्तन गरिरहने व्यक्ति हुन्, उनी आउँदा लोसपाबाट कति जना आए त ? भन्ने मुख्य कुरा हो । एक जना पनि कार्यकर्ता आएन’, उनले भने ‘ मञ्जुरजीको सवालमा पनि त्यही कुरा लागु हुन्छ । को कहाँ कसरी कुन उद्देश्यले पार्टी प्रवेश गर्दैछन्, ग्रास रुटमा त्यसको कुनै अर्थ छैन ।’

पार्टी कमिटीको सर्वसम्मत निर्णयबाट पर्सा क्षेत्र नं ३ को (क) बाट निर गिरी र (ख) बाट किरण गुप्ताको नाम सिफारिस भएकोले उनीहरु नै उम्मेदवार हुने दावी नेता गुप्ताको छ । ‘को कहाँबाट पार्टी प्रवेश गर्दैछन, पुरै क्षेत्रको पार्टी पंक्तिलाई जानकारी छैन, टिकटकै लागि आउनुभएको हो भनेपनि त्यो सपना पुरा हुन्न’, उनले भने, ‘पार्टीमा पहिल्यैदेखि खटिएका नेताको मुल्यांकन हुनुपर्छ ।’

स्थानीय स्तरका नेता कार्यकर्तासँग सरसल्लाह नगरी पार्टीमा जसलाई पनि प्रवेश गराईरहेको विषयमा अध्यक्ष ओलीलाई भेटेर गुनासो गर्ने उनले बताए ।

एमाले पर्साका अध्यक्ष जय प्रकाश थारुले पनि जसपाका प्रदेश सभा सदस्य एमालेमा आउँदा आफूसँग सरसल्लाह नभएको प्रतिक्रिया दिए । ‘मसँग त सल्लाह भएको छैन, अरु साथीहरुसँग सल्लाह गरेर आउनुभएको होला’, उनले भने ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?