+
+

मोरङ क्षेत्र नम्बर २ : चुनावी अभियानमा एमाले, टिकट कुर्दै कांग्रेस उम्मेदवार 

हरि अधिकारी हरि अधिकारी
२०७९ असोज ११ गते १९:२८
बायाँबाट– नेपाली कांग्रेसका नेता सुजाता कोइराला, मिनेन्द्र रिजाल र नेकपा एमालेका नेता ऋषिकेश पोखरेल ।

११ असोज, विराटनगर । प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट एकल उम्मेदवार सिफारिस भएका ऋषिकेश पोखरेल चुनावी तयारीका लागि कार्यकर्ता भेटघाट र छलफलमा व्यस्त छन् । एमाले उम्मेदवार पोखरेल चुनावी तयारीमा हुँदा नेपाली कांग्रेसका प्रस्तावित उम्मेदवार क्षेत्र नम्बर २ मा देखिएका छैनन् ।

क्षेत्रीय समितिले सो क्षेत्रबाट सुजाता कोइराला र डा. मिनेन्द्र रिजालको नाम सिफारिस गरेको छ ।  तर टिकट निश्चित नभएका कारण दुवै नेता निर्वाचन क्षेत्रसम्म नपुगी विराटनगरमा अड्किएका छन् ।

गठबन्धनबीच सिट बाँडफाँट हुँदा मोरङका ६ मध्ये ४ वटा क्षेत्रमा कांग्रेसको एकल दाबी छ । क्षेत्र नम्बर १, २, ३ र ६ क्षेत्र कांग्रेसको भागमा परेको छ । क्षेत्र नम्बर ४ र ५ मा भने माओवादीको दाबी छ । २०७४ सालको निर्वाचनमा ४ र ५ मा माओवादी विजयी भएको थियो ।

२०७४ सालको निर्वाचनमा क्षेत्र नम्बर २ बाट कांग्रेस उम्मेदवार डा. मिनेन्द्र रिजाल विजयी भएका थिए । यस पटक उनको र गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाताको नाम उम्मेदवारको रुपमा सिफारिस भएको छ । दुवै नेता मौन छन् । केन्द्रबाट टिकट कन्फर्म भएपछि मात्रै क्षेत्र जाने उनीहरुको तयारी छ ।

तत्कालिन वाम गठबन्धनबाट उम्मेदवार बनेका पोखरेललाई पराजित गरेका रिजाल चुनावी तयारीका बारेमा बोल्न चाहँदैनन् । ‘यसबारे अहिले केही टिप्पणी नगरौं,’ डाक्टर रिजालले अनलाइनखबरसँग भने । रिजाल शेखर कोइरालाको समूहमा छन् । सुजाता कोइराला भने सभापति शेरबहादुर देउवा खेमामा छिन् ।

कांग्रेस नेताहरुका अनुसार सभापति देउवाले कोइरालालाई टिकट दिने आश्वासन दिएका छन् । आश्वासन पाएपछि उनी विराटनगरमा छिन् । ‘अहिले म विराटनगरमा नै छु,’ कोइरालाले भनिन्, ‘चुनावको विषयमा अहिले कुरा गर्ने बेला भएको छैन ।’ उनले केही दिनपछि बोल्ने बताइन् ।

२०७४ सालको निर्वाचनमा रिजालले ३५ हजार ८१९ मत ल्याउँदा एमाले नेता पोखरेलले ३४ हजार १४ मत पाएका थिए ।

सोही निर्वाचन क्षेत्रको प्रदेश ‘क’बाट नेपाली कांग्रेसका शिवनारायण गनगाई १६ हजार ४१८ मतसहित विजयी हुँदा वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता गणेश उप्रेतीले १५ हजार १०७ मत पाएका थिए । प्रदेशको निर्वाचन क्षेत्र ‘ख’ मा वाम गठबन्धनबाट एमालेका लिलाबल्लभ अधिकारी १८ हजार ३८६ मतसहित विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवार घणिन्द्रबहादुर कुँवरले १७ हजार १२७ मत पाएका थिए ।

आफ्नो बुबा गिरिजाप्रसाद कोइरालाको क्षेत्र भएका कारण आफूले टिकट पाउनुपर्ने सुजाताको दाबी छ । वाम गठबन्धन उम्मेदवारलाई पराजित गरेका कारण पुनः टिकट आफूले पाउनुपर्ने मिनेन्द्रको दाबी थियो । तर पछिल्लो समय मिनेन्द्रले टिकट नपाउने सम्भावना कमजोर बनेको कांग्रेस नेताहरु बताउँछन् । ‘सभापतिले सुजाता दिदीलाई तयारी थाल्न भन्नु भएको छ, सोही अनुसार दिदी (सुजाता)ले  विराटनगरबाट तयारी गर्दै हुनुहुन्छ,’ कांग्रेस मोरङका एक नेताले भने, ‘अहिलेकै अवस्था रहे मिनेन्द्रले टिकट पाउने सम्भावना धेरै कम छ ।’

०७४ सालको स्थानीय तह निर्वाचनमा क्षेत्र नम्बर २ मा पर्ने रतुवामाई नगरपालिकामा कांग्रेसबाट बहुमत वडाध्यक्षसहित प्रमुखमा रविन राईले जितेका थिए । सुनवर्षीमा कांग्रेसका कालीप्रसाद दास  विजयी भएका थिए । रंगेली नगरपालिकाका ५ र कानेपोखरी गाउँपालिकाका ३ वडा मध्ये अधिकांशमा कांग्रेस विजयी भएको थियो ।

गत बैशाखमा सम्पन्न निर्वाचनमा स्थानीय तहमा कांग्रेसले पकड गुमाएको छ । रतुवामाईको प्रमुखमा कांग्रेस विजयी भए पनि उपप्रमुख र बहुमत वडा अध्यक्ष एमालेबाट विजयी भएका छन् । सुनवर्षी नगरपालिकाको बहुमत वडासहित प्रमुख र उपप्रमुख एमालेले जितेको छ । रंगेली नगरपालिका र कानेपोखरी गाउँपालिकाका बहुमत वडाहरु पनि एमालेले जितेको छ ।

क्षेत्र नम्बर २ का वडाहरुमा स्थानीय तह निर्वाचनमा एमालेले ३१ हजार ३४० र कांग्रेसले २८ हजार ६१४ मत पाएको थियो । माओवादी केन्द्रको ७ हजार २७१ र जसपाको ४ हजार ३४६ मत थियो ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?