+
+

प्रमुख प्रशासकीय अधिकृतलाई एमाले नेता राईले दिए ‘समाप्त’ पारिदिने धम्की

प्रमुख प्रशासकीय अधिकृत पौडेलले मागे सरकारसँग सुरक्षा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १४ गते १०:४१

१४ असोज, काठमाडौं । धनुकटाका एमाले नेता एवम् निवर्तमान प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई ज्यान लिने धम्की दिएका छन् । राईले बिहीबार अपराह्न टेलिफोन गरी पौडेललाई धम्क्याएका हुन् ।

पौडेलले आफू असुरक्षित भएको भन्दै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । पौडेलले अनलाइनखबरसँग भने, ‘हिंजो चारदेखि पाँच बजेको बीचमा मलाई धम्की आयो । आज प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा ज्यूज्यानको सुरक्षा चाहियो भनेर पत्र पठाएको छु ।’

सामाजिक सन्जालमा सार्वजनिक भएको टेलिफोन सम्वादमा राईले पौडेललाई सरुवा भएर नगए अस्तित्व ‘समाप्त’ पारिदिने धम्की दिएका छन् । उनले भनेका छन्, ‘मैले भन्दिएको छु नि तपाईंको अस्तित्व म समाप्त पार्दिन्छु ।’

पौडेलले ‘के गर्या छुर हजुर मैले त्यस्तो ?’ भनेर सोध्दा राईले उत्तर दिएका छैनन् । उनले भनेका छन्, ‘तपाईंलाई कसैले जोगाउन सक्दैन, शेरबहादुर देउवा आए पनि, तपाईंको रामचन्द्र पौडेल आए पनि जोगाउन सक्दैन, तपाईं खुरुक्क जाने अब सरुवा लिएर । त्यो राम्रो हुन्छ । कुनै घटना घट्यो भने मलाई नभन्नु ।’

त्यसपछि फेरि पौडेलले के गरेंर मैले भन्नु न त ? भनेर सोधेका छन् । त्यसपछि राई भन्छन्, ‘तपाईं जस्ता कति मान्छेलाई झुण्ड्याएर हान्दिएको छु मैले थाहा छ ? झुण्ड्याएर हान्न बाँकी छ । म आउँछु कुन दिन । तपाईंले डडाल्नो दह्रो बनाएर राख्ने कुरा यत्ति क्लियर हो ।’

पौडेलले हेपेको र दादागिरी चलाएको आरोप राईले लगाएका छन् । पौडेलले भने नगरपालिकालाई सिस्टममा चलाउन खोज्दा धम्की आएको बताएका छन् । ‘नगरप्रमुख ज्यू र हामीहरु मिलेर सिस्टममा चलाइरहेका छौं । त्यसो गर्दा विगतको क्रम भंग भएपछि विभिन्न बाधा अवरोधहरु सहनु परिरहेको छ,’ उनले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?