+
+
विशेष रिपोर्ट :

दशैं : पारिवारिक पुनर्मिलनको मेलो

खुकुलिंदै गएका सम्बन्धलाई कस्ने, जोड्ने र तिनमा नयाँ ऊर्जा सञ्चार गर्ने मौका भएको छ, दशैं ।

सागर चन्द सागर चन्द
२०७९ असोज १७ गते २०:१०

१७ असोज, काठमाडौं । धार्मिक संस्कारको रूपमा विकसित भएको दशैं आजभोलि पारिवार र आफन्तजनसँग समय बिताउने मेलो बनेको छ । रोजगारी, उच्च शिक्षाको खोजीमा देशभित्रै र बाहिर गएकाहरू घर फर्किने समयका रूपमा दशैंको परिचय बदलिएको छ । परिवार र थातथलोबाट टाढा रहेकाहरू गाउँघर फर्किने समयका रूपमा स्थापित हुँदैछ, एक हप्ता लामो दशैं बिदाको समय ।

भारतको गुजरातमा रहेका रमेश रावल तीन वर्षपछि आफ्नो गाउँ फर्किंदैछन् । उनका लागि दशैं धार्मिक रीतिरिवाज मात्र होइन, ‘धेरैपछि गाउँ जाँदैछु । बा–आमा, आफन्त साथीभाइसँग भेटघाट हुन्छ, अझ राम्रो सबैसँग भेटघाट हुन्छ ।’

दशैंको सुरुवात धार्मिक संस्कारका रूपमा विकसित भए पनि बदलिएको सामाजिक बनोटले दशैंलाई मीठो–मसिनो खाने, राम्रो लगाउने र पारिवारिक जम्मघट गर्ने अवसरमा रूपान्तरण गरेको बताउँछन् समाजशास्त्री डा. मृगेन्द्र कार्की । कार्की भन्छन्, ‘हिजो हामी गाउँबाट शहरमा आयौं, अहिले शहरबाट विदेश जाँदैछौं । रोजगारी, शिक्षाको खोजीमा परिवार, गाउँघर, आफन्त र साथीभाइबाट टाढा हुन थाले मान्छे । दशैं, टाढा भएका मान्छे भेटघाट गर्ने अवसरमा रूपान्तरण भएको छ ।’

सुदूरपश्चिम र पूर्वबाट रोजगारीका लागि ठूलो संख्यामा मान्छेहरू भारत जान्छन् । यसरी भारत जानेहरूको आधिकारिक तथ्यांक नभए पनि दशैंको समयमा सुदूरपश्चिम र पूर्वका नाकामा दशैं मनाउन नेपाल फर्किनेहरूको लस्कर हुन्छ ।

अध्यागमन विभागको तथ्यांक अनुसार गत वर्षको दशैंमा विदेशबाट ६० हजारभन्दा बढी नेपाली नेपाल फिरेका थिए । २०७७ मा २० हजार नेपाली विदेशबाट फर्किएका थिए । विदेशबाट आउनेहरूमा अधिकांश खाडी मुलुकका हुन्छन् । दक्षिण कोरिया, जापानबाट दशैं मनाउन फिर्नेहरूको संख्या पनि उत्तिकै हुन्छ ।

जानकारहरू दशैं बिदाको फुर्सदिलो समयमा कामको बोझ बिसाएर आफ्नो गाउँघर, पुख्र्यौली थलो फर्किने यो चाडले परिवारसँगै समाजकै पुनर्मिलन गराइरहेको बताउँछन् । दशैं प्राथमिकतामा नपर्ने मधेशमा पनि यो चाडको महत्व बढ्दै गएको मान्छन्, पत्रकार तथा मधेश मामिलाका जानकार चन्द्रकिशोर ।

‘हामीले दशहरा भन्ने गरेको यो चाड आध्यात्मिक र धार्मिक अनुष्ठानका लागि जानिन्थ्यो’ चन्द्रकिशोर भन्छन्, ‘तर, पहाडका मान्छेहरू मधेश झर्दै गएपछि मधेशमा पनि यो चाडको रौनक बढेको छ । पहाड र मधेशी दुवै समुदायले यो चाड मनाउन थालेका छन् ।’

बन्द समाजबाट खुला समाजतर्फ मोडिंदै गरेको नेपाली समाजका लागि दशैं सामाजिक सम्बन्ध नवीकरण गर्ने उत्तम मेसो हो । ‘आफ्नै परिवार, नातागोतासँग भेटघाट, रमाइलो गर्ने । सुख–दुःखका कुरा गर्ने मौका लिएर आउँछ दशैं’ समाजशास्त्री गणेश गुरुङ भन्छन् ।

‘नेपाल बाहिर रहेका नेपालीले आफू रहेकै ठाउँमा पनि दशैं मनाउन थालेका छन्’ गुरुङ भन्छन्, ‘विदेशमा रहेका नेपालीले दशैंको धार्मिक संस्कार पूरा गर्न नभई, कामको बोझबाट उम्किन, साथीभाइसँग समय बिताउन दशैं मनाउँछन् ।’

नयाँ पुस्ताले दशैंको धार्मिक मान्यता बिर्संदै यसलाई घुमघाम, भेटघाट र बिदा मनाउने अवसरका रूपमा लिएको मृगेन्द्र कार्कीको ठम्याइ छ । ‘हिजो दशैंले धार्मिक अनुष्ठान र आस्था बढी जनाउँथ्यो’ कार्की भन्छन्, ‘तर, आज भने दशैं भेटघाट गर्ने, किनमले गर्ने, घुमघाम गर्ने र बिदा मनाउने अवसर भएको छ ।’

समुदाय–समुदायबीच पनि दशैंले आत्मीयता बढाउन मद्दत गरेको छ । चन्द्रकिशोर भन्छन्, ‘हाम्रो मधेशमा पहिला जमरा, रातो टीका लगाउने चलन थिएन । तर, पहाड र मधेशी समुदायको अन्तरघुलन बढ्दै गएपछि अहिले मधेशमा पनि रातो टीका, जमरा लगाउने; पहाडमा पाक्ने परिकार पकाएर दशैं मनाउने चलन बढेको छ ।’

समाजशास्त्री चैतन्य मिश्रको बुझाइमा रोजगारीको सिलसिलामा आफ्नो थातथलो छाडेर जाने अभ्यासले सामाजिक सम्बन्ध खुकुलो बनाउँछ । उनी भन्छन्, ‘जीविकोपार्जनका आयाममा भइरहेको पुनर्गठनले सामाजिक सम्बन्धहरू खुकुलो बनाउँदै लगेको छ । रोजगारीको खोजीमा परिवारका सदस्यहरू पनि एकअर्काबाट टाढा भएका छन् ।’

यसरी खुकुलिंदै गएका सम्बन्धलाई कस्ने, जोड्ने तिनमा नयाँ ऊर्जा सञ्चार गर्ने मौका हो दशैं । दशैंमा हुने लामो बिदाले यो अवसर जुराएको उनको बुझाइ छ । विशेष गरी २०४६ र २०६३ को परिवर्तनले नेपाली समाजमा जीविकोपार्जनका लागि आफ्नो ठाउँ छाड्ने चलन बढाएको मिश्रको भनाइ छ ।

समुदाय–समुदायबीच पनि दशैंले आत्मीयता बढाउन मद्दत गरेको छ । चन्द्रकिशोर भन्छन्, ‘हाम्रो मधेशमा पहिला जमरा, रातो टीका लगाउने चलन थिएन । तर, पहाड र मधेशी समुदायको अन्तरघुलन बढ्दै गएपछि अहिले मधेशमा पनि रातो टीका, जमरा लगाउने; पहाडमा पाक्ने परिकार पकाएर दशैं मनाउने चलन बढेको छ ।’

दशैंको मान्यतामा खासै परिवर्तन नभए पनि यसको अभ्यासमा भने परिवर्तन भएको समाजशास्त्रीहरूको बुझाइ छ । वैदेशिक रोजगारीले दूर–दराजका गाउँमा पनि रुपैयाँ–पैसा र बजारको पहुँच बढाएपछि दशैं उपभोगको नयाँ रूप पनि बनेको छ । वैदेशिक रोजगारीकै कारण किनमेलको दायरा पनि फराकिलो भएको छ ।

आफ्नै खेतबारीमा उत्पादित सामग्रीको बाहुल्य हुने दशैंमा अहिले बजारका उत्पादनको अधिकता रहेको पाइन्छ । नेपाली अर्थतन्त्र धानिरहेको रेमिट्यान्सले गर्दा दशैंको रौनक दुई तरिकाले बढाएको समाजशास्त्री गुरुङको बुझाइ छ । भन्छन्, ‘पहिलो– वैदेशिक रोजगारीले पैसाको प्रवाह बढायो । आफूले चाहेका सामान किन्न सक्ने बनायो । दोस्रो– यसले परिवारको सदस्य बाहिर हुने भएकाले पारिवारिक मिलनको आवश्यकता र महत्व बढायो ।’

समाजको क्रयशक्ति बढेसँगै दशैं मनाउने स्वरुपमा परिवर्तन देखिएको समाजशास्त्रीहरूको बुझाइ रहेको छ । डा. कार्की भन्छन्, ‘आर्थिक रूपमा बलियो भएपछि मान्छेहरू दशैंको बेला किनमेलमा धेरै खर्च गर्न र घुमघाम पनि यही समयमा गर्न थाले ।’

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/७९ मा विदेशमा रहेका नेपालीले १० खर्ब ३७ अर्ब रुपैयाँ पठाएका थिए । वैदेशिक रोजगार विभागका अनुसार, ५० लाख हाराहारी नेपाली वैदेशिक रोजगारीमा छन् । विदेशमा रहेका यी नेपालीले दशैं–तिहारको समयमा अरू बेला भन्दा धेरै पैसा पठाउँछन् । राष्ट्र बैंकका अनुसार असोजदेखि मंसिरसम्म अरू बेलाको भन्दा २५ प्रतिशतले रेमिट्यान्समा वृद्धि हुन्छ । २०७८ को असोजमा विदेशमा रहेका नेपालीले करिब ७३ अर्ब र कात्तिकमा ८३ अर्ब रुपैयाँ पठाएका थिए ।

रोजगारीका लागि विदेशिएकाहरूले रुपैयाँ–पैसा पठाउन थालेपछि चाडबाड मनाउन पैसा खर्च गर्ने चलन बढाएको गुरुङ बताउँछन् । ‘एक जोर नयाँ लुगा र एक भाग मासुमा मात्र दशैं सीमित हुन छाडेको धेरै भइसक्यो’ गुरुङ सुनाउँछन्, ‘अब दशैं भनेको रमझम गर्ने । मनग्गे पैसा खर्च गर्ने पर्व भयो ।’

लेखकको बारेमा
सागर चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?