+
+
Shares
विचार :

चाडपर्व सुरक्षामा नागरिकको दायित्व

प्रहरीका लुटिएका हतियार फिर्ता ल्याउन, कारागारबाट भागेका अपराधीलाई कानूनको दायरामा ल्याउन, प्रहरीका कार्यालयहरू पुन: निर्माण गर्न र समाजमा शान्ति कायम गरिराख्न पनि नागरिकको अहं भूमिका छ।

दिनेशराज मैनाली दिनेशराज मैनाली
२०८२ असोज १० गते १७:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भदौ २३ र २४ गते चलेको ‘जेनजी आन्दोलन’ पछि नयाँ सरकार गठन भई शान्ति सुरक्षा बहाल भएको छ।
  • दशैं पर्वमा यात्राको लागि प्रहरी कन्ट्रोल कक्ष १०० र ट्राफिक प्रहरीको हटलाइन १०३ मा सूचना लिएर मात्र यात्रा गर्न सचेत हुनुपर्नेछ।
  • सामाजिक सञ्जालमा सावधानी अपनाउन, घरमा सीसीटीभी जडान गर्न र मादक पदार्थ सेवन नगर्न नागरिकलाई सचेत गराइएको छ।

भदौ २३ र २४ गते दुई दिनसम्म चलेको ‘जेनजी आन्दोलन’ र अकल्पनीय जनधनको हताहती तथा क्षतिपश्चात नयाँ सरकार गठन भई हाल समाजमा शान्ति सुरक्षा र अमनचयन बहाल रहेको भए पनि सुरक्षाकर्मीहरूको हतियार लुटपाट, कारागारबाट भागेका आपराधिक व्यक्तिहरूबाट समाजलाई अशान्त राख्न र ठूलो क्षति पुर्‍याउन सक्नेतर्फ हरपल सचेत रहनु सभ्य नागरिकको कर्तव्य भएकोले आफू, आफन्त, समाज र मुलुकको दैनिक शान्ति सुरक्षामा नागरिकबाट सम्पादन गरिनु पर्ने दायित्वलाई मध्यनजर गर्दै यो आलेख तयार पारिएको छ।

नेपालीहरूको महान् चाड बडा दशैं घर आँगनमा आइसकेको छ। नवरात्रिको पहिलो दिनलाई स्वागत गरी घर-घर, कार्यालय तथा कोतघरमा घटस्थापना गरी जमरा राख्ने कार्य सम्पन्न मात्रै भएको छैन अपितु हालको विषम परिस्थितिमा पनि चाडपर्व मनाउन नागरिकहरू हतारमा रहेको देखिन्छ।

विदेशमा रहेकाहरू नेपाल फर्कने, आवश्यकता अनुसार किनमेलमा सरिक हुने, गाऊँस्थित घरमा जाने र खुसी साँटासाँट गर्ने लगायतका कार्य भई नै रहेको छ भने शुभ दीपावली, छठ पर्व र नयाँ नेपाल सम्वतसम्म निरन्तर रहि नै रहने छ।

लगातारको वर्षाको कारण विभिन्न राजमार्गहरूमा पहिरो खस्न गई आंशिक तथा पूर्णतया अवरुद्ध रहेका छन् भने सरकारी संयन्त्रहरू आ-आफ्ना तर्फबाट खुलाउन यथासम्भव प्रयास गरिरहेका पाइन्छन्। यस पालाको दशैं हिले दशैं हुन सक्नेतर्फ मौसम पूर्वानुमान विभागले जनाएको छ। यात्रा गर्दा प्रहरी कन्ट्रोल कक्षको १००, ट्राफिक प्रहरीको हटलाइन १०३ तथा प्रहरीको वेबसाइटमा राखिएको सूचना  मा जानकारी लिएर मात्र यात्रा गर्न सचेत हुन पर्ने देखिन्छ।

अत: मानिसहरूको आवागमन असाध्यै बढी हुने यस अवसरमा सरकारी निकायहरू जिल्ला प्रशासन कार्यालय, यातायात कार्यालय, सडक विभाग, ट्राफिक प्रहरी र जनपथ प्रहरी तथा सवारीधनी, सवारीचालक, सह-चालक लगायतबाट समूहगत सचेतनामूलक कार्यक्रम गरी सोही बमोजिम कार्यान्वयन गरिनु पर्ने टड्कारो समेत रहेको छ। लामो यात्राको लागि दुई जना सवारीचालक राख्नु पर्ने नियमलाई कार्यान्वयन गरी सवारीधनीहरूले आफूलाई प्राप्त जिम्मेवारी पूर्णतया पालन गरी समाजलाई गुन लगाउनु पर्ने त छँदैछ दुर्घटना न्युनीकरणमा समेत अहम् भूमिका खेल्नु पर्ने छ।

सरकारी संयन्त्रहरूबाट बढी भन्दा बढी चेकजाँच गरी मादक पदार्थ सेवन (मापसे) तथा लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाएको पाइएमा हदैसम्मको कारबाही गर्ने, समयमै यान्त्रिक चेकजाँचको व्यवस्था मिलाउने, सिट क्षमता भन्दा बढी यात्रु राख्न निषेध गर्ने, छतमा यात्रु राख्न नदिने, अनधिकृत पार्किङलाई नियन्त्रण गर्ने र ट्राफिक नियमको सधैं पालना गर्न सके र सम्बन्धित सम्पूर्ण निकायले समेत यथासम्भव सहकार्य गरे मात्र सवारी साधनसहित यात्रुहरूलाई निर्धारित गन्तव्यमा सुरक्षित तथा सुविधापूर्वक पुर्याउन मद्दत गर्दछ।

सवारीसाधनमा यात्रा गर्ने अवधिभर असाध्यै चनाखो रहनुपर्ने हुन्छ। नगद, बहुमूल्य गर-गहनाको प्रयोगले यात्रा अवधिभर सुरक्षा खतरा बढाउँछ। यात्राको क्रममा अपरिचित व्यक्तिले दिएको सामान्य चकलेट, चिया बिस्कुट खाएर लुटिएको घटना त वर्णन गरिसाध्य नै छैन। लुटिनु भन्दा अगावै चनाखो हुन सके राम्रो। पछि पछुताएर गर्न सकिने सम्भावना धेरै कम भइसकेको हुन्छ।

साथै, दैनिक रुपमा काठमाडौंको विभिन्न नाकाहरूबाट बाहिरिने व्यक्तिहरूले आ-आफ्नो घर डेरा छाड्ने क्रममा सुरक्षाका उपायहरूसमेत अवलम्बन गरी आफू, आफन्तजन, स्व:जन लगायतलाई सुरक्षित बनाउनु अपरिहार्य भई सकेको छ।

अन्यथा आपराधिक कार्यमा संलग्न व्यक्तिहरूबाट लुटिइसकेपछि लगन पछिको पोते जस्तो पछुताउनुबाहेक के नै बाँकी रहन्छ र? तसर्थ, सम्पूर्ण घर धनीहरूले घरमा राखेको कामदार, डेरामा बस्ने व्यक्तिहरूको नाम, थर, स्थायी, वतन, मोवाइल नम्बर र फोटोसहितको विवरण राखेको खण्डमा आवश्यक परेको अवस्थामा अनुसन्धान कार्यमा सहजता आउने छ।

घरमा सीसीटीभी क्यामेरा जडान गर्ने, घरबाट बाहिर जाने क्रममा सके त सुरक्षा गार्डको व्यवस्था गर्ने, नसके टोल छिमेकका विश्वासिलो व्यक्तिलाई जानकारी गराउने र नजिकको प्रहरी इकाइलाई जानकारी गराई समय-समयमा गस्ति तथा निगरानी गर्नको लागि अनुरोध गर्ने कार्य गरेमा सम्भावित चोरीबाट बच्न सकिने हुन्छ। सकेसम्म नगद र बहुमूल्य गर-गहनाहरू बैंकमा राख्न सके र अनलाइन कारोबार गर्ने गरेको खण्डमा ठूलो क्षति हुनबाट जोगिन सकिन्छ।

प्रहरीको भर नागरिकलाई र नागरिकको भर प्रहरीलाई भन्ने उक्तिलाई सार्थक बनाउन समाजबाट गरिएको हर प्रयास स्तुत्य रहेको छ।

त्यस्तै, प्रकारान्तरले आधुनिक युगमा अपराधीहरूले विविध विधि र प्रविधिहरूको व्यापक दुरुपयोग गरी आपराधिक घटनाहरू घटाउने भएकाले आफू सजग रही अरुलाई सजग गराउन हुन तथा सामाजिक सञ्जालको सदुपयोग मात्रै गर्न सके पनि अनलाइन ठगी, हनी ट्र्याप, आपराधिक विश्वासघात र आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरबाट जोगिन सकिने छ।

जुवा, तास, मापसे, लापसे लगायतबाट जोगाएको रकममध्ये केही रकम समाजको हितमा लगाई आ-आफ्नो टोल छिमेकमा सीसीटीभी क्यामेरा र साइरन जडान गर्ने सके आपत परेको समयमा आफू जोगिन र छर छिमेक समुदाय आदिलाई जोगाउन सकिने तर्फ पनि सम्पूर्णको ध्यान पुग्नु पर्ने देखिन्छ।

त्यस्तै, प्रकारले फेसबुकमा नचिनेको व्यक्तिबाट फ्रेण्ड रिक्वेस्ट आएमा, तपाईंलाई चिठ्ठा पर्यो लगायतको सूचना ह्वाट्स एप्समा आएमा नखोली डिलेट गर्ने गर्दा पीडित हुने सम्भावना कम हुन्छ। सामाजिक सञ्जालको पासवर्ड कसैसँग पनि शेयर गर्ने नगरौं। कुनै मित्रसँग अनलाइन भिडियो कल गर्ने क्रममा वास्तविक जीवनमा आफूले के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने तथ्यलाई हृदयंगम गर्न र पालना गर्न सके पनि आफू जोगिन सकिने हुन्छ।

सामाजिक सञ्जालको प्रयोग गर्ने क्रममा लाइभ अपडेट गर्ने बानीले पनि कतै न कतै समस्यामा पार्ने हुन सक्दछ। आज त गाऊँ जान लागेको सपरिवार, अहिले नागढुङ्गामा पुगियो, केही समयपश्चात मुग्लिनमा खाना खाँदै र दिउँसोको समयमा पोखराको फेवातालमा डुङ्गा सयर आदि छिनछिनमा अपडेट गर्ने बानीले चोरले घरमा सफाचट पारिसकेको पत्तै हुँदैन। तसर्थ, यात्रा समाप्त गरी फर्केर लेट पोष्ट राख्दा पनि बिग्रने त केही होइन। यसमा सजगता नै अपनाउँदा बेश हुन्छ।

आफूले कहिल्यै पनि नकाटेको चिठ्टा पर्यो भनी कोही कसैले सूचना पठाउँदैमा त्यसैलाई पत्याई आफू सहभागी नभएको चिठ्ठाका पछि लाग्नु किमार्थ बुद्दिमानीपूर्ण कार्य हुनै सक्दैन, कदापि पछि नलागौं। त्यस्ता प्रकारका चिठ्ठाका पछि लाग्दा धेरैजनाले अनाहकमा धन गुमाएका, परिवारमा बिखण्डन आएका र अन्त्यमा ज्यानैसम्म गुमाएका घटना समेत बढीरहेको पाइन्छ।

जसरी पौडन नजानेको एउटा व्यक्तिले पौडन सिकेर मात्र गहिरो स्थानमा पौडनु उचित हुन्छ; त्यसरी नै अति उच्च सावधानी अपनाएर मात्र सामाजिक सञ्जालको प्रयोग गर्न सकेको खण्डमा धन, सामाजिक प्रतिष्ठा र जनको समेत क्षति हुनबाट जोगिन सकिने हुन्छ।

धेरै जनाको बानी सित्तैमा पायो भने जे पनि प्रयोग गर्ने हुन्छ। सित्तैमा पाइने वाइफाइमा लगइन गरी घण्टौंसम्म ह्याङआउट भइरहने बानीबाट पनि फिसिङमा पर्ने सम्भावना हुन्छ। जसरी मछुवारेले गड्यौलाको चारो हाली पानीमा बल्छी फाल्दा माछाले मुख खोलेन भने बल्छीमा पर्ने सम्भावना हुँदैन त्यसरी नै हामीले पनि सित्तैमा उपलब्ध हुने वाइफाइमा लगइन नगरेमा फिसिङमा पर्नबाट बच्न सकिन्छ।

मापसेले गर्दा लगभग ७७ प्रतिशत अपराध घट्ने गरेको पाइन्छ। तसर्थ, सके त मापसे गर्दै नगरौं र गर्नै परे पनि आफूले एउटा हदसम्म मात्रै मापसे गर्ने गरौं तर मादक पदार्थले आफूलाई कहिल्यै पनि सेवन नगरोस् भन्ने तर्फ पनि सचेत रहनसके जीवन, धन त अपराध कर्मबाट जोगिन सकिने हुन्छ।

मापसे गरी बाबुको हत्या गरेको एउटा सन्दर्भ यहाँ प्रस्तुत गर्नु सान्दर्भिक हुन्छ जस्तो लाग्छ। यो पङ्तिकार २०७६ सालमा जिल्ला प्रहरी कार्यालय झापाको प्रमुख रहेको समयमा बिहान एउटा बृहतको हत्या भएको भनी मातहत कार्यालयबाट प्रतिवेदन भयो।

इलाका नाकाबन्दी गरी अनुसन्धान गर्ने क्रममा अघिल्लो दिन बाबुले वृद्ध भत्ता ल्याएका रहेछन्। साँझ बाबु छोरा बसेर मापसे गरेछन्। बाबुले छोरालाई अब पिउने कार्य बन्द गरौं भन्दा छोराले मानेनछ र अझै पिउने कुरा गर्दा बाबुले नमानेपश्चात छोराले छेउमै रहेको दाउराको चिर्पटले हिर्काउँदा बाबुको तत्कालै ज्यान गएको रहेछ। बाबुको दु:खद निधन र छोराको कारागारको बास मापसेले नै गराएकोले यसलाई आफूले प्रयोग गर्ने बानीमा पनि आमुल सुधार गरिनु जरुरी देखिन्छ।

The principle of jurisprudence is ‘The ignorance of law is no excuse and everyone must know and follow the law of the land’. जसरी सम्पूर्ण व्यक्तिले कानून जानेकै र पालना गरेकै हुनु पर्दछ भन्ने विधिशास्त्रीय मान्यता छ त्यसरी नै कानूनको पालनाको लागि प्रहरीको परिकल्पना गरिएको हुन्छ।

नेपाल प्रहरी ऐन, २०१२ ले प्रहरीको गठन गरी जन र धनको सुरक्षा गर्ने जिम्मेवारी प्रदान गरेको परिप्रेक्षमा उक्त कार्यका लागि २४ सै घण्टा प्रहरी परिचालित रहेको छ। तर के अहिलेको अवस्थामा प्रहरीको मनोवल उच्च रहेको छ त ? भन्ने तर्फ हामी नागरिकले मनन गरी तोडफोड तथा आगजनी गरिएका प्रहरी कार्यालयहरू स्वतस्फुर्त तवरले पुन:निर्माण गरिनु र प्रहरीलाई समाजमा पुनर्स्थापित गराएको कार्यले नै प्रमाणित गरिसकेको छ। अत: प्रहरीको भर नागरिकलाई र नागरिकको भर प्रहरीलाई भन्ने उक्तिलाई सार्थक बनाउन समाजबाट गरिएको हर प्रयास स्तुत्य रहेको छ।

ढुङ्गाको भर माटो र माटोको भर ढुङ्गा भने झै सभ्य नागरिकबाट अपराध नियन्त्रण र अनुसन्धानमा हरसमभव सहयोग गरिने भएकाले सम्पूर्ण नागरिकलाई बिना बर्दीका प्रहरी भनी बर्दीका प्रहरीद्वारा सम्मान व्यक्त गरिएको पाइन्छ।

हालैको विषम अवस्थामा प्रहरीका लुटिएका हतियारहरू फिर्ता ल्याउन, कारागारबाट भागेका आपराधिक व्यक्तिहरूलाई कानूनको दायरामा ल्याउन, प्रहरीका कार्यालयहरू पुन: निर्माण गर्न र समाजमा शान्ति कायम गरिराख्न पनि नागरिकको अहं भूमिका रहन जान्छ।

अत: ‘सेवा हि परमो धर्म’ को मूलमन्त्रलाई आत्मसात गरी सम्पूर्ण नागरिकको प्रयास यसैमा कार्यमा केन्द्रीत हुन सके सुरक्षा र पुन:निर्माण तथा सुरक्षा र प्रशासन सुदृढ हुन जाने अपेक्षा गर्न सकिन्छ।

(अपराधशास्त्रमा स्नातकोत्तर गरेका मैनाली पूर्वप्रहरी वरिष्ठ उपरीक्षक हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?