+
+

यस वर्ष क-कसले पाए नोबेल पुरस्कार ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २१ गते १६:४६

२१ असोज, काठमाडौं । नोबेल शान्ति पुरस्कार घोषणासँगै यस वर्षको नोबेल पुरस्कार घोषणा लगभग सकिएको छ । अब सोमबार अर्थशास्त्रतर्फको पुरस्कार घोषणा गरेपछि यस वर्षको नोबल पुरस्कार घोषणा सकिनेछ । सन् १९०१ देखि प्रदान गर्न थालिएको नोबेल पुरस्कार साहित्य, विज्ञान र अर्थशास्त्रमा योगदान पुर्‍याउने मान्छेलाई दिइन्छ ।

चिकित्साशास्त्र
चिकित्साशास्त्रको नोबेल पुरस्कार घोषणा भएसँगै यस वर्षको नोबेल रौनक सुरु भएको भयो । चिकित्साशास्त्रतर्फ यस वर्ष मानव प्रजातिको विकासक्रम सम्बन्धी काम गरेका स्वीडेनका वैज्ञानिका स्वान्टे पाबोलाई दिइयो ।

संसारबाट विलुप्त भइसकेको मानव जातिसँग निकट मानिने नीयनडर्थलको आनुवंशिक कोड पत्ता लगाएर असम्भव कामलाई सम्भव तुल्याएको भन्दै पाबोलाई चिकित्साशास्त्रको नोबल पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

भौतिकशास्त्र
‘क्वान्टम मेकानिक्स’बारे अनुसन्धान गरेका तीन जना वैज्ञानिकले यस वर्ष भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार पाउने भएका छन् । अलाँ आस्पेय, जोन क्लअसन र एन्टोन साइलिङ्गरले ‘क्वान्टम मेकानिक्स’ को अध्ययन गरे बापत यस वर्षको भौतिकशास्त्रको पुरस्कार पाउनेछन् ।

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार पाएका अलाँ आस्पेय फ्रान्सेली नागरिक हुन् । जोन क्लअसन अमेरीकी नागरिक हुन् । एन्टोन साइलिङ्गर अष्ट्रियन नागरिक हुन् । सन् २०१० मा यी तीनै जनालाई एकसाथ वुल्फ पुरस्कार प्रदान गरिएको थियो । अघिल्लो वर्ष पनि भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकले पाएका थिए ।

रसायनशास्त्र
यस वर्ष रासायनशास्त्र तर्फको नोबेल पुरस्कार क्यारोलिन बर्टोजी, मोर्टन मेल्डल र ब्यारी शार्पलेशलाई दिइनेछ । यी तीन जना वैज्ञानिकले ‘क्लिक केमिस्ट्री’ पनि भनिने अणु काँटछाँट गर्ने काममा सहयोग पुर्‍याएको योगदानका लागि पुरस्कार प्रदान गरिएको हो ।

शार्पलेसले सन् २००१ मा पनि नोबेल पुरस्कार पाएका थिए ।

साहित्य
साहित्य विधातर्फको नोबेल पुरस्कार यस वर्ष फ्रान्सेली साहित्यकार एनी अर्नेक्सोले पाउने भएकी छिन् । आफ्ना नीजि अनुभव समेटेर आत्मकथात्मक उपन्यास लेख्ने एनीलाई उनको लेखनीको साहस र हिम्मतका लागि पुरस्कार दिइने नोबेल पुरस्कार समितिले जनाएको छ ।

‘अ म्यान्स प्लेस’ र ‘अ वुमन्स स्टोरी’ उनका चर्चित किताब हुन् । साहित्य विधामा अहिलेसम्म १ सय १९ जनाले नोबेल पुरस्कार पाएका छन् । साहित्य विधामा नोबेल पुरस्कार पाउने एनी १७ औं महिला हुन् ।

शान्ति
यस वर्षको नोबेल शान्ति पुरस्कार बेलारुसका मानवअधिकार अधिवक्ता एलेस बियालियात्स्कीसहित अन्य दुई संस्थाले पाउने भएका छन् ।

बियालियात्स्कीसँगै रुसी मानवअिधकार संगठन मेमोरियल र युक्रेनको मानवअधिकार संगठन सेन्टर फर सिभिल लिबर्टिजले नोबेल पुरस्कार पाउने भएका हुन् ।

पुरस्कार प्राप्त गर्ने संस्था मेमोरियल यो वर्षको सुरुवातमै बन्द भइसकेको छ । उक्त संस्थाले बितेको ३ दशकभन्दा बढी समयदेखि सोभियत कालमा मारिएका, कैद भोगेका र यातना पाएका लाखौं निर्दोष मानिसका पीडालाई स्मृतिमा जीवित राख्न भूमिका खेल्दै आएको छ ।

अर्को पुरस्कृत संस्था फेब्रअरी २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि केन्द्रले युक्रेनी नागरिकविरुद्ध रुसले गरेको युद्ध अपराधको पहिचान गर्ने र त्यसलाई अभिलेखीकरण गर्ने काम गर्दै आएको छ । केन्द्रले दोषी पक्षलाई उसले गरेको अपराधका लागि जवाफदेही बनाउन अग्रणी भूमिका निभाउँदै आएको नोबेल पुरस्कार समितिले जनाएको छ ।

सोमबार अर्थशास्त्र विधामा नोबेल पुरस्कार पाउनेको नाम सार्वजनिक हुनेछ ।

स्विडेनका उद्योगपति तथा रसायनशास्त्री अल्फ्रेड नोबेलले आफ्नो मृत्युको एक वर्षअगाडि सन् १८९५ मा नोबेल पुरस्कार प्रदान गर्ने कुरा इच्छापत्रमा लेखेका थिए । नोबेल डाइनामाइटका आविष्कारक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?