+
+

गण्डकीमा माओवादीका उम्मेदवारः प्रचण्डदेखि अमृता थापामगरसम्म (सूचिसहित)

अमृत सुवेदी अमृत सुवेदी
२०७९ असोज २३ गते ९:४४

२३ पोखरा, असोज । नेकपा माओवादी केन्द्रले मनोनयन समय सुरु हुनुभन्दा केही घण्टा अगाडि मात्र गण्डकी प्रदेशका विभिन्न जिल्लामा प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारको टुंगो लगाएको छ । चितवन–१ बाट यसअघि चुनाव जितेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसपटक गोरखा-२ बाट उम्मेदवार बन्ने ३ दिनअघि माओवादीले निर्णय गरेको भए पनि कास्की, पर्वत लगायतका जिल्लामा टुंगो लगाउन सकेको थिएन ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टलाईले आफ्नो क्षेत्र प्रचण्डका लागि सहज बनाइदिएसँगै गण्डकी प्रदेशले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीलाई नै उम्मेदवार पाएको छ । पार्टी महासचिव देव गुरुङको यसअघि नै लमजुङबाट प्रतिनिधि सभाका उम्मेदवार तय भइसकेको थियो ।

गोरखामा २ प्रतिनिधि सभामध्ये ५ दलीय गठबन्धनबाट भएको सम्झौताअनुसार एउटा प्रतिनिधि सभा र अर्को एउटा प्रदेश सभा माओवादीले पाएको छ । निर्वाचन क्षेत्र १ को ‘क’बाट कृष्ण धितालले अवसर पाउने भएका छन् ।

तनहुँमा माओवादीले २ वटा प्रदेश सभा पाएको छ । निर्वाचन क्षेत्र नम्बर १ को ‘ख’ मा फेरि पनि हरिबहादुर चुमानले नै टिकट पाएका छन् । उनी पृथ्वीसुब्बा गुरुङ नेतृत्वको नेकपा सरकारमा आन्तरिक तथा कानुनमन्त्री थिए । तनहुँकै अर्को निर्वाचन क्षेत्र नम्बर २ को ‘क’ मा पूर्व विद्यार्थी नेता मदन आलेलाई पन्छाउँदै राजेन्द्रकेशरी न्यौपानेले टिकट पाएका छन् ।

सबैभन्दा गाह्रो माओवादीलाई टिकट बाँडफाँडमा कास्की भएको थियो । कास्की क्षेत्र नम्बर १ मा केन्द्रीय सदस्य राजकाजी गुरुङले दाबी गर्दै आएका थिए भने क्षेत्र नम्बर ३ माओवादीले पाउँदा संविधान सभा सदस्य दुर्गा विक र रामजी बरालबीच टिकटका लागि हानथाप थियो ।

भागबन्डाको क्रममा माओवादीले कास्कीको क्षेत्र नम्बर ३ पाएको छ, जहाँ अहिलेका गण्डकी प्रदेश सरकारका अर्थमन्त्रीसमेत रहेका रामजी बरालले टिकट पाएका छन् । क्षेत्र नम्बर ३ को ‘ख’ मा दुर्गादत्त भण्डारी, क्षेत्र नम्बर २ को ‘क’मा विश्वप्रकाश लामिछाने र ३ को ‘क’मा दीपक कोइरालाले टिकट पाएका छन् ।

स्याङ्जामा पनि टिकट वितरणमा माओवादी नेतृत्वलाई सकस परेको थियो । अघिल्लो निर्वाचनदेखि नै दाबी गर्दै आएका माओवादीका नेता शैलेन्द्र घिमिरेले यसपाली जसरी पनि टिकट पाउनुपर्ने अडान राख्दै आएका थिए । तर, माओवादीले अनेमसंघ (क्रान्तिकारी) को केन्द्रीय अध्यक्ष अमृता थापामगरलाई प्रदेशको टिकट दिएको छ । उनले क्षेत्र नम्बर १ को ‘क’ मा टिकट हात पारेकी हुन् ।

बागलुङमा माओवादीले प्रतिनिधि सभा २ पाएको छ र यहाँ यसपटक पनि शिक्षामन्त्रीसमेत रहेका नेता देवेन्द्र पौडेल उम्मेदवार छन् ।

यसैगरी म्याग्दीमा पनि माओवादीले प्रतिनिधि सभा पाएको छ । पुराना माओवादी नेता गोविन्द पौडेलले म्याग्दीबाट प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्ने अवसर पाएको माओवादी प्रदेश कमिटी अध्यक्ष गायत्री गुरुङले जानकारी दिइन् ।

हेर्नुहोस् उम्मेदवारको सूची
नवलपुर
प्रतिनिधि सभा २ः किसान शर्मा
क्षेत्र नम्बर १ को ‘ख’: लोकप्रसाद भुर्तेल

गोरखा
प्रतिनिधि सभा २ः पुष्पकमल दाहाल ‘प्रचण्ड’
निर्वाचन क्षेत्र १ को ‘क’: कृष्ण धिताल

मनाङ
प्रदेश सभा ‘क’: कपिल लामा

लमजुङः
प्रतिनिधि सभाः देवप्रसाद गुरुङ

तनहुँ
निर्वाचन क्षेत्र १ को ‘ख’: हरिबहादुर चुमान
निर्वाचन क्षेत्र २ को ‘क’: राजेन्द्रकेशरी न्यौपाने

स्याङ्जा
निर्वाचन क्षेत्र १ को ‘क’ अमृत थापामगर

कास्की
प्रतिनिधि सभा ३ः  रामजी बराल
निर्वाचन क्षेत्र ३ को ‘ख’ : दुर्गादत्त भण्डारी
निर्वाचन क्षेत्र २ को ‘क’ :  विश्वप्रकाश लामिछाने
निर्वाचन क्षेत्र १ को ‘क’ : दीपक कोइराला

पर्वत
निर्वाचन क्षेत्र १ को ‘क’: सुदीप कुँवर

बागलुङ
प्रतिनिधि सभा २ः देवेन्द्र पौडेल

म्याग्दी
प्रतिनिधि सभाः गोविन्द पौडेल

मुस्ताङ
प्रदेश सभा : ‘क’ चन्द्रबहादुर थकाली

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?