News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट गर्न ‘क्यान्डिडेट क्लब’ सञ्चालनमा ल्याएको छ ।
- सभापति रवि लामिछानेले भने, ‘नेतृत्वमा आएका कयौं मानिसहरूका कयौं कुराहरू उठ्दै आउँछन्, त्यसकारणले क्यान्डिडेट क्लबभित्र ल्याएर सबै कुरा हेरेर उम्मेदवार चयन गर्न यो क्लब गठन गरिएको हो ।’
- उम्मेदवार बन्न चाहनेले आजैदेखि पार्टीको मोबाइल एप्समार्फत आवेदन दिनसक्ने व्यवस्था गरिएको सभापति लामिछानेले जानकारी दिनुभयो ।
१ भदौ, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहने आकांक्षीको मूल्यांकन र छनोटका लागि ‘क्यान्डिडेट क्लब’ सञ्चालनमा ल्याएको छ । सोमबार च:मतिस्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेले ‘क्यान्डिडेट क्लब’को घोषणा गरेका हुन् ।
उनले उम्मेदवार छनोटअघि आकांक्षीको कानुनी, आर्थिक, सामाजिक तथा पारिवारिक अवस्थालगायत विषयको मूल्यांकन गरी योग्य र सक्षम प्रतिनिधि छनोटमा सहयोग पुर्याउने उद्देश्यले ‘क्यान्डिडेट क्लब’ सञ्चालनमा ल्याइएको जानकारी दिए ।
स्थानीय तहको उम्मेदवार बन्नुअघि उम्मेदवारको राजनीतिक तथा अन्य मापदण्ड क्यान्डिडेट क्लबमा जाँच गरिने पनि उनले बताए ।
‘नेतृत्वमा आएका कयौं मानिसहरूका कयौं कुराहरू उठ्दै आउँछन् । त्यसकारणले ‘क्यान्डिडेट क्लब’ भित्र ल्याएर ती सबै कुराहरूलाई हेरेर राजनीतिक रूपमा, सामाजिक रूपमा र अन्य मापदण्डका आधारमा उम्मेदवार चयन गर्नको लागि यो क्लब गठन गरिएको हो,’ सभापति लामिछानेले भने, ‘सुरुवातमा हामी गाउँपालिकाबाट सुरु गर्दैछौं । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र गाउँपालिका अन्तर्गतका वडा, वडाका अध्यक्षलगायतका जति पनि पदहरू राजनीतिक पद छन् । त्यसका लागि आवेदन आजबाट औपचारिक रूपमा खुला गर्न गइरहेको छौं आजदेखि आउँदो स्थानीय तह निर्वाचनमा गाउँपालिकामा उम्मेदवारी दिने सबैले पार्टीको क्याण्डिडेट क्लबमा आवेदन दिनसक्नुहुनेछ ।’
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारले आजैदेखि आवेदन दिनसक्ने समेत उनको भनाइ थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको मोबाइल एप्स ‘आरएसपी’ गएर आवेदन दिन सकिने उनले जानकारी गराए ।
पार्टीलाई आवश्यक नेतृत्व खोज्ने प्रक्रियामा ‘मेरिटोक्रेसी’ कायम गर्न ‘क्याण्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’को अवधारणा अघि सारिएको उनले बताए ।
‘पार्टीलाई आवश्यक परेको नेतृत्वको खोजी गर्ने राजनीतिसँगैको एउटा मेरिटोक्रेसीको बिन्दु के होला भन्ने सोचेर हामीले ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’को अवधारणा ल्याएका हौं । यो एउटा दलको लागि मात्र नभई नेपालको समग्र राजनीतिमा योगदान दिन सकिन्छ कि भनेर ल्याइएको हो,’ सभापति लामिछानेले भने, ‘उम्मेदवार बन्नका लागि आवश्यक पर्ने कतिपय अवस्थामा केही कानुनी झमेलामा पो छ कि ? केही आर्थिक वा सामाजिक किसिमका अप्ठ्याराहरू पो छन् कि ? पारिवारिक किसिमका झमेलाहरूमा पो छ कि ? भन्ने कुरा जान्न जरुरी रहेछ ।’
सभापति लामिछानेले ‘क्यान्डिडेट क्लब’लाई रास्वपाभित्रको उम्मेदवार छनोटको प्रक्रियामा मात्र सिमित नराखी समग्र नेपाली राजनीतिमा योगदान पुर्याउने उद्देश्यले ल्याइएको बताएका छन् ।
प्रतिक्रिया 4