+
+

दाङमा सत्ता गठबन्धनले टुंग्यायो उम्मेदवार, शंकर पोखरेलसँग रेखा शर्मा भिड्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते ९:५६

२३ असोज, दाङ । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनले दाङमा उम्मेदवारहरुको टुंगो लगाएको छ ।

गठबन्धनको भागबण्डा अनुसार प्रतिनिधि सभातर्फ दाङ क्षेत्र नं. १ मा नेकपा एकीकृत समाजवादी, २ मा माओवादी केन्द्र र ३ मा नेपाली कांग्रेसको भाग परेको छ । दाङ क्षेत्र नं. १ मा नेकपा एकीकृत समाजवादीका मेटमणी चौधरी, क्षेत्र नं. २ मा नेकपा माओवादीकी रेखा शर्मा र क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका दीपक गिरी उम्मेदवार छन् । चौधरी हाल शहरी विकास मन्त्री छन् । शर्मा पूर्व सामान्य प्रशासन मन्त्री र गिरी पूर्व सिंचाइ मन्त्री हुन् ।

नेकपा एमालेले प्रतिनिधि सभातर्फ दाङ क्षेत्र नम्बर १ मा शान्ता चौधरी, २ मा महासचिव शंकर पोखरेल र ३ मा कोमल ओलीलाई उम्मेदवार बनाएको छ ।

प्रदेशसभा तर्फ सत्ता गठबन्धनबाट क्षेत्र नं. १ (क) मा नेकपा माओवादी केन्द्रका इन्द्रजित थारु र (ख) मा नेपाली कांग्रेसका अनुराग खड्कालाई उम्मेदवार बनाइएको छ । इन्द्रजित अघिल्लो निर्वाचनमा प्रदेश सभामा निर्वाचित भएका थिए । उनी हाल लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्री छन् । खुमबहादुर खड्काका छोरा अनुराग भने पहिलो पटक निर्वाचन लड्न लागेका हुन् ।

त्यस्तै क्षेत्र नं. २ (क) मा नेपाली कांग्रेसका राजु खनाल र २ (ख) मा कांग्रेसकै प्रचण्ड विक्रम न्यौपानेले टिकट पाएका छन् । राजु खनाल प्रतिनिधि सभाको पूर्व सदस्य हुन् । न्यौपाने भने पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् ।

त्यस्तै क्षेत्र नं. ३ (क) मा कांग्रेसका डिल्लीबहादुर चौधरी र (ख) मा नेकपा माओवादी केन्द्रका धनबहादुर मास्की उम्मेदवार छन् । चौधरीले अघिल्लो पटक प्रदेश सभा सदस्य निर्वाचन जितेर मन्त्री बनेका थिए । माओवादी लडाकुको पूर्व डिभिजन कमाण्डर मास्कीका लागि भने यो पहिलो चुनावी प्रतिस्पर्धा हो ।

नेकपा एमालेले प्रदेश सभा तर्फ क्षेत्र नम्बर १ ‘क’मा सामाजिक अभियन्ता गंगाराम भट्टराई र ‘ख’ मा लमही नगरपालिकाका पूर्व मेयर कुलबहादुर केसीलाई उम्मेदवार बनाएको छ ।

यसैगरी क्षेत्र नम्बर २ ‘क’ मा निर्माण व्यवसायी बलिभद्र राना र ‘ख’ मा पुराना वामपन्थी नेता गिरिराज केसीलाई एमालेले टिकट दिएको छ ।

यसैगरी क्षेत्र नम्बर ३ ‘क’ मा तुलसीपुर उपमहानगरपालिकाका पूर्वमेयर घनश्याम पाण्डे र ३ ‘ख’मा जिल्ला अध्यक्ष हुकुम बस्नेत एमालेबाट उम्मेदवार बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?