+
+

अग्नि खरेल झापा-१ जाँदा विश्वप्रकाशलाई कति सहज ?

लिलु डुम्रे लिलु डुम्रे
२०७९ असोज २३ गते २०:१८

२३ असोज, काठमाडौं । झापा क्षेत्र नम्बर १ मा नेकपा एमालेले पूर्वमहान्यायाधिवक्ता तथा कानुनमन्त्री अग्नि खरेल प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेदवार बनाउने भएको छ । झापा-२ मा सिफारिस भएका उनलाई क्षेत्र परिवर्तन गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निकट दुई नेतालाई व्यवस्थापन गर्नका लागि उनलाई क्षेत्र परिवर्तन गरिएको छ ।

झापा-२ मा स्थायी कमिटी सदस्य देवराज घिमिरलाई उम्मेदवार बनाउनका लागि अध्यक्ष ओलीले अर्का नेता खरेललाई झापा-१ मा पुर्‍याइएको छ । झापा-१ बाट सर्वसम्मत सिफारिस भएका रविन कोइरालालाई प्रतिनिधिसभामा ‘उम्मेदवार नबनाउने ओली चाहना’ अनुसार खरेललाई अर्को स्थानमा पुर्‍याइएको झापामा चर्चा सुरु भएको छ ।

झापा-१ मा तेस्रोपटक उम्मेदवार हुन लागेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासँग पहिलोपटक चुनावी मैदानमा उत्रिएका खरेलको प्रतिस्पर्धा हुने भएको छ । यी दुई उम्मेदवारलाई यो क्षेत्रमा सहजता र प्रतिकूलताको लेखाजोखा झापामा सुरु भइसकेको छ ।

चुनावी अनुभव नभएका, फरक क्षेत्रबाट झिकाइएका तथा जनाधारमा बलियो रहेका रविनलाई हटाइएकाले शर्माको जित सहज भएको कांग्रेसका जिल्ला नेताहरु प्रक्षेपण गर्छन् । एमालेले उम्मेदवार बनाउन लागेका खरेल कांग्रेसको दाबी स्वीकार्ने पक्षमा छैनन् । आफ्ना लागि प्रतिकूल अवस्था झापा-१ मा नभएको खरेलले बताए । आफ्नो जितको पहिलो आधार स्थानीय तहको मतलाई उनी देखाउँछन् ।

‘स्थानीय तहको मतमा एमाले अघि छ । त्यही मत हेर्दा पनि एमालेले जित्न गाह्रो छैन,’ खरेलले अनलाइखबरसँग भने ।

दोस्रोपटक उनै शर्मासँग प्रतिस्पर्धा गर्ने तयारीमा रहेका उनलाई पार्टीले अकस्मात पछि हटाएको छ । स्थानीय स्तरमा भिजेका उम्मेदवारलाई हटाउँदा कांग्रेसको जितका लागि अनुकूल भएको कांग्रेस झापाका पूर्वप्रवक्ता लोकराज ढकाल दाबी गर्छन् ।

खरेलले स्थानीय तहको चुनावको मत देखाउँदै गर्दा एमालेभित्रको अन्तरविरोधले उनलाई प्रतिकूल अवस्था रहेको चर्चा छ । उनका लागि सर्वाधिक चुनौती रविन हुने देखिएको छ । एकल सिफारिसमा परेका रविनलाई हटाएर खरेललाई अघि सार्नु नै एमालेका लागि घातक भएको जिल्लामा विश्लेषण गरिएको छ । रविनलाई एमालेले प्रदेशमा उठाएको छ ।

पूर्वसांसद समेत रहेका कोइरालाले प्रतिनिधिसभा सदस्यका लागि तयारी गरिरहेकाले प्रदेशमा नउठ्ने जवाफ दिएका थिए । आफूलाई चित्त नबुझे पनि पार्टीले प्रदेशमा उठाउने निर्णय गरेपछि त्यसलाई अस्वीकार गर्न नसक्ने विन्दुमा रविन आइपुगे ।

खासमा झापा-१ बाट एकल सिफारिसमा परेकाले आफूले नै टिकट पाउनेमा रविन ढुक्क थिए । अन्य क्षेत्रबाट सिफारिसमा परेकाहरु टिकटका लागि हारगुहार गर्न काठमाडौं धाउँदा उनी आत्मविश्वास सहित जिल्लामै रहेको स्थानीय नेताहरु बताउँछन् ।

एमाले विभाजित हुनुअघि रविन पार्टीभित्र ओलीइतर समूहमा थिए । दशबुँदे पक्षधर उनी एकीकृत समाजवादीतिर आवद्ध नभई एमालेमै रहेका थिए । ओली प्रवृत्ति विरुद्ध एमालेमै रहेर अन्तरसंघर्ष गर्ने भन्दै उनी मूल पार्टीमा थिए ।

तत्कालीन नेकपा गठन हुँदा एमालेबाट झापामा १२ जना केन्द्रीय सदस्यले स्थान पाउँदा रविनले पनि अवसर पाएका थिए । २०७० सालमा संविधानसभाको दोस्रो निर्वाचनमा कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मालाई उनले पराजित गरेका थिए ।

दोस्रोपटक उनै शर्मासँग प्रतिस्पर्धा गर्ने तयारीमा रहेका उनलाई पार्टीले अकस्मात पछि हटाएको छ । स्थानीय स्तरमा भिजेका उम्मेदवारलाई हटाउँदा कांग्रेसको जितका लागि अनुकूल भएको कांग्रेस झापाका पूर्वप्रवक्ता लोकराज ढकाल दाबी गर्छन् ।

‘झापा-१ का मतदातासँग अग्नि चिनिएको नाम होइन । यही क्षेत्रको उम्मेदवार नभएपछि हामीलाई जित्न सजिलो भयो,’ ढकालले अनलाइनखबरसँग भने, ‘रविन नै उठे पनि जित्ने थियौं । अब झन् सजिलो भयो ।’

झापाको हकमा त्यसमा पनि एमालेलाई लाग्ने अर्को आरोप छ, ‘गृह क्षेत्रको उम्मेदवार नबनाई अन्यत्रबाट प्रतिस्पर्धी झिकाउने’ । विगतका निर्वाचनमा प्रतिस्पर्धा गरेका विष्णु प्रसाईं र रविन बाहेक सबै बाहिरबाट लगिएका उम्मेदवार थिए ।

२०४९ सालदेखि यस क्षेत्रमा राधाकृष्ण मैनाली, देवी ओझा, धर्म घिमिरे, विष्णु प्रसाईं, रविन कोइराला, राम कार्कीले कम्युनिस्ट दलबाट प्रतिस्पर्धा गरेका छन् । एमालेभित्रको आन्तरिक असन्तुष्टिबाट लाभ लिने ध्याउन्नमा कांग्रेस छ । तर आन्तरिक विवाद नभएको र जित निकाल्ने दाबी एमालेको छ ।

‘केन्द्रीय सदस्य रविन हुँदा त हामी जित्नेमा ढुक्क थियौं भने उहाँ (रविन) भन्दा माथिको व्यक्ति आउँदा त जित्न झनै सजिलो भयो,’ झापा-१ का एमाले क्षेत्रीय संयोजक टीकाराम मगराती भन्छन् ।

झापा-१ को हकमा स्थानीयसँग भिज्नका लागि सीमा क्षेत्रको समस्या निराकरणसँग जोडिएको हुन्छ । सीमापारि पुगेर किनमेल गर्ने मतदाता करिब ६ हजार भएको आँकलन छ । भारतीय क्षेत्रबाट किनमेल गरेर फर्कनेहरुलाई सुरक्षाकर्मीले गर्ने अवरोध हटाउने कार्यमा रविनले सहयोग गर्दै आएका थिए ।

सीमा क्षेत्रमा नागरिकले पाएको सास्तीलाई हटाउन खरेलको कुनै भूमिका नभएकाले रविनलाई जाने मत शर्मातिर खस्नसक्ने कांग्रेस नेताहरु दाबी गर्छन् । आफ्नो आधार बनाउन खरेल जति लागे उनी झापा-२ मै खर्चिएको आरोप जिल्ला तहका नेताहरु लगाउँछन् ।

‘जे गर्ने अग्निले विर्तामोड आसपासमा गरे । झापा-१ मा योगदान गरें भन्ने उनका लागि केही छैन,’ कांग्रेसका जिल्ला तहका एक नेता बताउँछन् ।

एमालेमै रहने भएपछि रविनले संघको तयारीका लागि स्थानीय एमालेका नेताहरुको व्यवस्थापन पनि गरिसकेका थिए । एमालेका स्थानीय नेता गोपालप्रसाद बुढाथोकी र श्री मैनाली दुवै जनालाई व्यवस्थापन गरी संघको तयारीमा रविन जुटेका थिए । संघमा रविनको एकल सिफारिस हुँदा प्रदेशमा धेरै जनाको नाम एमालेबाट पठाइएको थियो ।

ती नेताहरु हाल रविनको पक्षका खुलेका छन् । रविनको पक्षमा स्थानीय नेताहरु खुलेकाले खरेलका लागि थप अर्को चुनौती थपिएको छ ।

गृह क्षेत्र झापा-२ भए पनि नेता नरेश खरेल झापा-१ का लागि परिचित अनुहार हुन् । खरेल तथा उनकी पत्नी पवित्रा निरौला खरेललाई उम्मेदवार नबनाउँदा अग्निले उनीहरुको साथ नपाउने विश्लेषण समेत झापामा गरिएको छ । नरेश पार्टी अध्यक्ष ओलीसँगै जेल जीवन बिताएका व्यक्ति हुन् ।

खरेलका लागि अनुकूल मत राप्रपाको रहेको छ । यस क्षेत्रमा तेस्रो शक्ति राप्रपा छ । राप्रपालाई एउटा क्षेत्र दिएर खरेल प्रतिनिधिसभामा उठ्न लागेका छन् । ‘राप्रपासँग तालमेल नहुँदा पनि हामीले जितेको क्षेत्र हो । अहिले राप्रपा पनि हामीसँगै छ,’ एमाले क्षेत्रीय संयोजक मगरातीले भने ।

तालमेल भए पनि खरेलका लागि सहज नभएको कांग्रेस पक्षको दाबी छ । बाहिरी क्षेत्रबाट गएको उम्मेदवार हुनुको साथै राप्रपाको मत तान्ने क्षमता शर्मामा रहेकाले कांग्रेसलाई सहजता थपिएको नेविसंघका पूर्वउपाध्यक्ष मेदनी सिटौला बताउँछन् ।

गृह जिल्ला झापा रहेका सिटौलाले अनलाइनखबरसँग भने, ‘राप्रपाकै केही मत विश्वप्रकाशले तान्न सक्नुहुन्छ । जनजातिकै मत पनि उहाँलाई धेरै आउने सम्भावना छ ।’

स्थानीय तहको मतले एमाले बलियो

स्थानीय तहको मतको आधारमा एमाले पहिलो शक्ति हो । गठबन्धनका सबै दलको मत जोड्दा पनि एमालेको भन्दा कम मत छ । स्थानीय तहको मतको आधारमा विश्लेषण गर्दा शर्मालाई अनुकूल अवस्था देखिंदैन । गठबन्धनका अन्य दलको मत न्यून रहेकाले बल एमालेको पक्षमा छ ।

स्थानीय तहमा एमाले ३१ हजार २३२, कांग्रेसले २४ हजार ५९, राप्रपाले ५ हजार ९२२, माओवादीले ३ हजार ९०५ र एकीकृत समाजवादीको पक्षमा १ हजार २५२ मत खसेको छ ।

२०७४ मा स्थानीय तहको मतलाई बढाएर संघको निर्वाचनमा मतान्तर कम गरेका थिए । वामगठबन्धनबाट माओवादी केन्द्रका राम कार्कीले ३६ हजार १७३ मत ल्याई विजयी हुँदा शर्माले ३३ हजार ३१० मत ल्याएका थिए ।

यस क्षेत्रमा मेचीनगर नगरपालिकासहित बुद्धशान्ति गाउँपालिकाको ४, ५, ६ र ७ वडा तथा भद्रपुर नगरपालिकाको ९ र १० पर्छन् । स्थानीय तहको निर्वाचनमा २१ वटा वडामध्ये एमालेले १४ वडा जितेको थियो ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?