+
+

घनश्याम र छविलाललाई चुनाव जित्न अरु दलकै भर

टोपराज शर्मा टोपराज शर्मा
२०७९ असोज २३ गते २२:०५

२२ असोज, बुटवल । नेकपा एमाले परित्याग गरी रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भूसाललाई सत्तारुढ गठबन्धनले समर्थन गरेको छ । आफ्नो भागमा परेको यो क्षेत्रमा नेकपा माओवादी केन्द्रले उम्मेदवारी नदिई भूसाललाई समर्थन गरेको हो ।

यो क्षेत्रमा नेकपा एमाले नेतृत्वको गठबन्धनबाट भने एमालेका सचिव छविलाल विश्वकर्माले उम्मेदवारी दिएका छन् । ०७४ को चुनावमा नेपाली कांग्रेसका अब्दुल रज्जाकलाई पराजित गरेका विश्वकर्मा एमालेबाट उम्मेदवार भएपछि अब भूसालले आफ्नै पूर्व सहयोद्धासँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

०७४ को चुनावमा भने भूसालले रुपन्देही–३ बाट राप्रपाका दीपक बोहरालाई पराजित गरेका थिए । यसपटक पनि भूसालको नाम रुपन्देही–३ बाटै सिफारिस भएको थियो । तर भूसाल भने आफ्नै घर भएको रुपन्देही–१ बाट उठ्ने चाहनामा थिए । यो क्षेत्रबाट पनि उनको नाम सिफारिस भएको थियो ।

तर जिल्ला कमिटीले एक नम्बर क्षेत्रबाट भूसालको नाम हटाएर रुपन्देही–३ बाट मात्रै पार्टी केन्द्रमा पठायो । तर राप्रपासँग एमालेको तालमेल भएकाले एमालेले यो क्षेत्र छोड्यो, दीपक बोहरा उम्मेदवार बने । दुई क्षेत्रबाट सिफारिस हुँदा पनि एमालेले कतै टिकट नदिएपछि भूसालले शनिबार मात्रै पार्टी परित्यागको घोषणा गरेका थिए ।

एकदिन अगाडि मात्रै एमाले छोडेका भूसाललाई सत्तारुढको समर्थन भएपछि माओवादी केन्द्रका स्थानीय नेताहरु भने असन्तुष्ट देखिएका छन् । यो क्षेत्रबाट माओवादीका लेखनाथ न्यौपाने, मुकसद अली, शिव धवल लगायत आकांक्षी थिए ।

‘माओवादीमा उम्मेदवार बन्ने पात्रको कमी थिएन, २०६४ मा हामीले जितेको क्षेत्र हो । पार्टी केन्द्रले जबर्जस्ती लादेको निर्णयमा कार्यकर्ताको उत्साह र जांगर छैन’ टिकट नपाएका माओवादी नेता शिव धवल भन्छन् ।

गएको स्थानीय चुनावको नतिजा हेर्दा भने भूसाललाई चुनाव जित्न सजिलो देखिदैन । यो क्षेत्रमा वडाध्यक्षहरुले पाएको मत हेर्दा एमाले गठबन्धन नै अगाडि छ । कांग्रेस पहिलो शक्ति भएपनि एमाले, जसपा र राप्रपाको मत जोड्दा ५१ हजार ६४१ हुन्छ । त्यो चुनावमा एमालेले ३० हजार ३९४, राप्रपाले १४ हजार ५५२, जसपाले ६ हजार ६९५ मत पाएको थियो ।

तर कांग्रेसले ३२ हजार ९९९, माओवादीले ४ हजार २०२, एकीकृत समाजवादीले १ हजार २४३ र लोसपाले ३२५ मत पाएका थिए । यो जोड्दा ३८ हजार ७६९ मत हुन्छ । अर्थात्, एमाले गठबन्धनका वडाध्यक्षहरुले पाएको मत १२ हजार बढी हुन्छ । तर एमाले देवदह नगरका अध्यक्ष टीकाराम चापागाईंले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका छन् । यसको लाभ भने घनश्याम भूसाललाई पुग्नेछ ।

एमाले उम्मेदवार विश्वकर्मा आफ्नो जितमा शंका नरहेको बताउँछन् । ‘स्थानीय तहको मत परिणामले हाम्रो जित निश्चित छ । अरु पार्टी छाडेर एमाले प्रवेश गर्ने पनि लहर छ’ विश्वकर्मा भन्छन् ।

भूसालले पनि सत्ता गठबन्धनको समर्थन रहेको र आफ्नै क्षेत्र भएकाले जित सुनिश्चित भएको बताउँछन् । रुपन्देही–१ मा देवदह नगरपालिकाका १२ वटै वडा, तिलोत्तमा नगरका ७, ८, ९, १०, ११, १२ १५, १६ र १७ वडा, ओमसतिया गाउँपालिकाका १, ३, ४, ५, ६ र रोहिणी गाउँपालिका गर्छ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?