+
+

इरानमा हिजाब विरोधी आन्दोलन चर्काउँदै ह्याकर समूह

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते १५:०६

काठमाडौं । इरानमा चलिरहेको हिजाब विरोधी आन्दोलन चर्काउने काम गरिरहेको छ अज्ञात ह्याकर समूह । आफूलाई ‘एनोनोमस’ भनिरहेको यो समूहले नै इरानको हिजाब विरोधी आन्दोलन चर्काएको थियो ।

हिजाब नलगाएको भन्दै १३ सेप्टेम्बरमा २२ वर्षे मसा अमिनीलाई इरानी प्रहरीले पक्राउ गर्‍यो । हिरासतमा लगिएकी अमिनीले प्रहरीको चर्को यातना सहनु पर्‍यो ।

अमिनी बेहोस भएपछि उनलाई इरानको कासरा अस्पतालमा भर्ना गरियो । अस्पतालमै १६ सेप्टेम्बरमा अमिनीको मृत्यु भयो । सरकारले हृदयघातका कारण अमिनीको मृत्यु भएको दाबी गर्‍यो । तर, अज्ञात ह्याकर समूहले कासरा अस्पतालको सिस्टम ह्याक गरेर अमिनीको स्वास्थ्य जाँचका रिर्पोट बाहिर ल्यायो ।

यो समूहले अमिनीमाथि प्रहरीले कुटपिट गरेको प्रमाण सार्वजनिक गर्यो । अस्पतालको सिस्टम ह्याक गरेर सर्वाजनिक भएका सिटी स्क्यान रिर्पाेटमा उनको टाउकोमा रगत जमेको । टाउको हड्डीमा चोट लागेको र शरिरका अड्डी भाँचिएको देखिन्छ । अस्पतालको यो रिर्पोट सार्वजनिक भएपछि इरानी महिला हिजाब विरुद्ध सडकमा ओर्लिए । सरकार भने आन्दोलन दबाउन लागिरह्यो । अहिलेसम्म इरानमा हिजाब विरुद्धको आन्दोलनमा १ सय ५० भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

सरकारले आन्दोलनकारीमाथि चर्को दमन गरेपछि ‘अज्ञात’ ह्याकर समूह फेरि सक्रिय भयो । यो समूहले दुई सरकारी वेवसाइट ह्याक गर्दै एउटा भिडियो सार्वजनिक गर्छ । अमिनी इरानमा महिलामाथि भइरहेको अत्याचारको पछिल्लो शिकार हुन भन्दै ह्याकर समुहले इरान सरकारलाई महिलामाथिको हिंसा बन्द गर्न अनुरोध गर्छ ।

चर्किरहेको आन्दोलन दबाउन इरान सरकारले इन्टरनेट, ह्वाटस एप र इन्स्टाग्राममाथि प्रतिबन्ध लगाउँछ । सरकारी प्रतिबन्धको बदलामा अज्ञात ह्याकर समूहले इन्टरनेट प्रतिबन्धलाई बाइपास गर्दै ह्वाटस एप र इन्स्टाग्राम चलाउने तरिका सिकाउँदै एउटा भिडियो समेत सार्वजनिक गरेको छ । ह्याकर समूहले म्यासेज पठाउन मिल्ने टेलिग्राम एपमा ५ हजार भन्दा धेरै सदस्य रहेको च्याट ग्रुप बनाएर इन्टरनेट बाइपास गर्ने तरिका सिकाइरहेकाछन् ।

गएको शनिबार मात्र ह्याकर समूहले इरानको सरकारी टेलिभिजन ह्याक गरेर आन्दोलनलाई समर्थन गर्न आग्रह गर्दै सरकार विरोधी नारा प्रशारण गरेको छ ।

सरकारी टेलिभिजन ह्याक गरेर ह्याकर समूहले टेलिभिजनमा इरानका राष्ट्रपतिलाई गोलीको निसानामा राखिएको भिडियो प्रशारण गर्‍यो । ह्याकर समूहले टेलभिजनमा आन्दोलनमा मारिएका महिलाको तस्वीर देखाउँदै, ‘आन्दोलनमा सामेल हौं, जागौं’ लेखेको ब्यानर देखायो । ह्याकर समूहले इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामोनी र राष्ट्रपति इब्राहिम रइसीको तस्वीरसँगै ‘तिम्रो हातबाट हाम्रा युवाको रगत चुहिरहेको छ’ लेखेको ब्यानर सरकारी टेलिभिजनमा देखायो ।
यो ह्याकर समूहले इरानको संसद र सांसदको निजी इमेल ह्याक गरेर एउटा भिडियो सार्वजनिक गरेको छ । भिडियोमा भनिएको छ, ‘इरानी संसद जनताको साथमा हुनुपर्ने समयमा तानाशाहको साथमा उभियो । त्यसैले हामी सबै सांसदका निजी सूचना सार्वजनिक गर्दैछौं ।’

यसबाहेक ह्याकर समूहले सरकारी सञ्चार माध्यम, मन्त्रालय र केन्द्रिय बैंकको पनि डाटा ह्याक गरेर सार्वजनिक गर्ने चेतावनी दिएको छ ।

अन्तर्राष्ट्रिय ह्याकरहरुको समूह हो ‘अज्ञात’ यो समूहले सन् २०११ मा पनि ‘अपरेशन इरान’ नाम दिएर इरानका सरकारी वेवसाइट ह्याक गरेको थियो । यो ह्याकर समूह अन्तर्राष्ट्रिय रुपमा वाक स्वतन्त्रता, वैयिक्तिक स्वतन्त्रता र इन्टरनेट प्रयोगको स्वतन्त्रताका पक्षमा वकालत गर्दै आइरहेको छ । ह्याकर समूहको यो सक्रियतालाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमले ‘ह्याकभिष्ट’ नाम दिएका छन् ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?