+
+
ग्रिन हाइड्रोजन समिट :

‘नेपालले अन्तर्राष्ट्रिय बजारमा हाइड्रोजन बिक्री गर्न सक्छ’

हिजो दम दिने स्टोभबाट हामी खाना पकाउन ग्यासँमा रुपन्तरण भयौं भने अब ग्याँस र विद्युतबाट हाइड्रोजनमा जान कुनै कठिनाइ छ जस्तो लाग्दैन ।

डा. भोला थापा, उपकुलपति, काठमाडौं विश्व विद्यालय डा. भोला थापा, उपकुलपति, काठमाडौं विश्व विद्यालय
२०७९ असोज २४ गते १७:१३

२४ असोज, काठमाडौं । वातावरण बचाउने मुद्धाका कारण विश्वभर नै अब कार्बन उत्पादन हुने पेट्रोलियम पदार्थको प्रयोगका सीमा तोक्न थालिएको छ । अर्कोतर्फ यी ऊर्जा स्रोतको मूल्य पनि आकाशिंदै छ । यही बेलामा अर्थतन्त्रको दिशा विश्वव्यापी रुपमा फरक मोडमा जाने अवस्थामा छ । यो बेलामा ऊर्जाको स्रोतहरु र यसको प्रयोगका सन्दर्भमा विविधताहरु देखा परेका छन् ।

अहिले हामी ठूलो मात्रामा पेट्रोलियम पदार्थको आयात गरेर हाम्रो ऊर्जाको आवश्यकता पूरा गरिरहेका छौं । ठिक यस्तैगरी नेपालले पनि अब हाइड्रोजन उर्जा विश्व बजारलाई बेच्न सक्छ भन्ने काठमाडौं विश्व विद्यालय र विश्वविद्यालयको ग्रिनहाइड्रोजन ल्याबमा काम गरिरहेको हाम्रो टिमको निष्कर्ष थियो र छ । विश्व विद्यालयको यो टिम सबैजना जलविद्युतको मेकानिकल इन्जिनियर हुन् र उनीहरु अझ टर्बाइन प्रविधिका खास जानकार हुन् ।

नेपालमा अब जलविद्युतको सम्भावना छैन भनेर सरकारी निकायले भन्न थालेको बेला हाम्रो टिमले भने जलविद्युतपछि अब हाम्रो भविष्य हाइड्रोजन ऊर्जा उत्पादनमा छ भन्ने निष्कर्ष निकालेको थियो । अहिले कोरियाली कार निर्माता कम्पनी हुण्डाइले हाइड्रोजनबाट चल्ने कार उत्पादन थालेको छ ।

जलविद्युतपछि अब हाम्रो भविष्य हाइड्रोजन ऊर्जा उत्पादनमा छ ।

अन्य सवारी उत्पादकले पनि हाइड्रोजनलाई ऊर्जाको रुपमा प्रयोग गर्नेगरी आफ्ना उत्पादनका विविधताहरुमा काम थलेका छन् । तर, तिनीहरु अझै अन्यौलमा छन् कि यो ऊर्जा प्राप्त हुन्छ चाहिं कहाँबाट । हरित हाइड्रोजन ऊर्जामा विश्व नै अध्ययन र छलफलमा लागिरहेका बेला नेपालसँग जलविद्युत् र सफा पानीबाट हाइड्रोजन उत्पादन गर्ने अथाह सम्भवाना छ । हामीले हजारौं मेगावट विद्युत् उत्पादन गर्‍यौं भने जलविद्युतको उक्त सम्भावनालाई हामीले हाइड्रोजन उत्पादनसँग जोड्न सक्छौं । यसको उत्पादन, लागत, विधि र भण्डारणबारे धेरै अध्ययनहरु बाँकी नै छ । तर, तत्काल देखिएका कुरा मात्रै गर्ने हो भने नेपालले अहिले खाना पकाउने ग्याँस आयात गरेर आफ्नो ऊर्जाको आवश्याकता पूरा गरे जस्तै गरी विश्वको हरित ऊर्जाको मागलाई नेपालले हाइड्रोजनमार्फत पूरा गर्न सक्छ र यसले देशको भविष्य पनि सुन्दर बनाउँछ । त्यो भनेको अहिलेको खाना पकाउने ग्याँस आयात गरे जस्तै गरी नेपालले पनि विश्व बजारमा हाइड्रोजन बिक्री गर्न सक्छ भन्ने मान्यता र सम्भावना हो ।

अहिले पनि विश्वविद्यालयका विद्यार्थीहरु यसबारे खोजी र अध्ययनमा छन् । कोभिड-१९ महामारीमा असक्सिजनको आवश्यकताका लागि जसरी विभिन्न विकल्पमा छलफल र अवसरहरुको सिर्जना भयो भोलिका दिनमा त्यसैगरी हाइड्रोजनमा पनि यो हुन सक्दछ भन्ने हाम्रो निष्कर्ष हो ।

हिजो दम दिने स्टोभबाट हामी खाना पकाउन ग्यासँमा रुपन्तरण भयौं भने अब ग्याँस र विद्युतबाट हाइड्रोजनमा जान कुनै कठिनाइ छ जस्तो लाग्दैन । जहाँसम्म सुरक्षाको विषय छ यसलाई त्यसको आवश्यकताको आधारमा सुरक्षा प्रणालीको विकास भइनै हाल्छ । हाइड्रोजनको अर्को ब्लक उपयोगको क्षेत्र रासायनिक मल उत्पादनका लागि आवश्यक ऊर्जा हो । हामीले हाइड्रोजन उत्पादन गर्‍यौं र यसलाई ऊर्जाको रुपमा व्यावसायिक रुपमा बिक्री थाल्यौं भने यसले नेपालको रासायनिक मलको मागलाई सम्बोधन गर्न सक्छ । विश्व विद्यलयकै एकजना विद्यावारिधि शोधकर्ताको अध्ययनमा नेपालको फलाम खानीको कच्चा पदार्थ पगाल्ने कामका लागि हाइड्रोजन सबै भन्दा उपयुक्त विकल्पको रुपमा रहेको पहिल्याइएको छ । अब हाम्रो खानी क्षेत्रको उत्खनन र प्रशोधनका लागि कार्बनयुक्त ऊर्जा आयात गरेर काम गर्नु पर्ने अवस्थाको अन्त्य हाइड्रोजनले गर्नेछ ।

खानी क्षेत्रको उत्खनन र प्रशोधनका लागि कार्बनयुक्त ऊर्जा आयात गरेर काम गर्नु पर्ने अवस्थाको अन्त्य हाइड्रोजनले गर्नेछ ।

भारतले आफ्नो फलाम खानीको कच्चा पदार्थ नेपालमा ल्याएर पगाल्ने वातावरण मात्रै बन्यो भने पनि नेपालको ग्रिन हाइड्रोजन अर्थतन्त्रले नयाँ मोड लिने छ । तसर्थ हामी नेपालमा हाइड्रोजन उत्पादन र यसको प्रयोगका सन्दर्भमा विभिन्न कोणबाट अध्ययन र खोज गरिरहेका छौं । जहाँसम्म हाइड्रोजनको सहज उत्पादन र प्रयोगका विषय छन् । यसमा इलेक्ट्रोलाइसिस र यसको लाइफका विषयमा उठेका प्रश्नहरु छन् यो भनेको हाम्रो इन्जिनियरिङ पेशाका लागि नयाँ अवसर हो ।

हाइड्रोजन उत्पादनमा अहिले हामीले मुख्य ध्यान दिएको विषय भनेको नेपालका जलविद्युत् आयोजना र यसको कुल क्षमता भन्दा १० प्रतिशत अतिरिक्त बिजुली उत्पादनमा हो । जलविद्युत् आयोजनाले पाएको उत्पादन अनुमतिमा कुल तोकिएको भन्दा १० प्रतिशत बढी बिजुली उत्पादन गर्न पाउने अवस्था छ । तर, त्यो बिजुली व्यावसायिक रुपमा बेच्न पाइन्न ।

विद्युत् प्राधिकरणले मागेको बेलामा आपतमा उपलब्ध गराइने यस्तो बिजुली अहिले नेपालका आयोजनाहरुमा अतिरिक्त रुपमा छन् र यिनीहरु खेर गइरहेका छन् । त्यसैलाई हाइड्रोजन उत्पादनका लागि प्रयोग गर्न हामीले आयोजनहरुसँग कुराकानी गरिरहेका छौं । यसैले मात्रै पनि हाइड्रोजन उत्पादनमा ठूलो सहयोग पुर्‍याउँछ । सवारी साधन सञ्चालनका लागि अब विद्युत् प्रमुख ऊर्जाको रुपमा आइरहँदा ठूला र गहकिला सवारी साधनमा विद्युतीय ब्याट्रीबाट चल्न नसक्ने निष्कर्षमा टाटा कम्पनी पुगेको छ । यस्तो अवस्थामा उनीहरुले ट्रक तथा बसका लागि हाइड्रोजन नै उत्तम विकल्पको रुपमा राखेर आफ्ना सवारी साधनमा प्रयाग गरिरहेका छन् । नेपाल भनेको प्रविधि उत्पादन भन्दा पनि प्रयोग गर्ने मुलुक हो ।

अब यस्तो अवस्थामा एक दिन हामीले हाइड्रोजनबाट चल्ने ट्रक र बस किनेर ल्याउने तर त्यसलाई चलाउन हाइड्रोजन पनि किन्ने अवस्था अन्त्य गर्न अहिले पहल र छलफल थालेका हौं । कम्तीमा गाडी किनेर ल्याएपछि त्यसको ऊर्जा त सित्तैमा प्रयोग गर्ने जस्तोगरी आफैले प्रयोग गर्ने अवस्था हामीले सिर्जना गर्नुपर्छ ।

जलविद्युतको सम्भावनाबारे बहस भएको बेला हामीले गम्भीर भएर नसोच्दा यसको उत्पादनमा ६०/७० वर्ष खर्च गर्‍यौं र पनि उपलब्धि अझैं पाए छैनौं । अब हाइड्रोजनमा यस्तो नाहोस् भन्ने हाम्रो चाहना हो ।

(नेपालमा हाइड्रोजन ऊर्जाबारे अनलाइनखबरसँगको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?