+
+

तात्तातो थुक्पा : यी हुन् काठमाडौंमा रुचाइएका ६ रेस्टुरेन्ट

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ असोज २४ गते १८:२१

काठमाडौं । नुनिलो, पिरो अनि झोलिलो । त्यसमाथि जिब्रो पर्पराउने टिमुरको स्वाद । तात्तातो थुक्पा खानुको मज्जा कम्ता हुन्छ ?

नेपालीले खाजा-नास्ताको रुपमा अत्याधिक रुचाएको परिकार हो यो । यस्तो नेपाली भान्सा नहोला, जहाँ थुक्पा पाकेको छैन । न धेरै सरसामग्री जुटाउनुपर्ने, न बनाउनका लागि धेरै झन्झट । सजिलो अनि स्वादिलो खान्की पनि हो थुक्पा ।

खासगरी जाडोयाम सुरु भएसँगै थुक्पाको खोजी सुरु हुन्छ । काठमाडौंमा पनि यस्ता थुप्रै रेस्टुरेन्ट छन्, जहाँ स्वादका पारखीहरु थुक्पाकै लागि पुग्ने गर्छन् ।

लिटल तिब्बतियन रेस्टुरेन्ट, ठमेल

ठमेलमा रहेको लिटल तिब्बतियन रेस्टुरेन्ट थुक्पाको लागि निकै लोकप्रिय छ । बफ, चिकेन र भेज थुक्पा पाइने यो रेस्टुरेन्टमा पाइने होम मेड नुडल्स अनि विशेष प्रकारको सुपले थुक्पाको तिक्खर बनाइदिन्छ ।

लिटल तिब्बतियनमा बफ थुक्पाको २५० रुपैयाँ, चिकेनको २५० रुपैयाँ र भेजको ३१० रुपैयाँ पर्छ । थुक्पालाई तिब्बतियन भाषामा ‘घ्याथुक’ भनिन्छ, त्यसैले यहाँ तिब्बतियन स्वटाइलको घ्याथुक पाइन्छ । अन्य ठाउँको थुक्पामा मासु राखिन्छ भने यहाँ किमा राखेर बनाइन्छ । चिकेन बोन र बफ बोनको सुप बनाएर त्यसमा नुडल्स र केही विशेष सामग्री राखेर तयार गरिन्छ ।

सोलु शेर्पा खाजाघर, पाटन

सोलु शेर्पा खाजाघरमा पाँच प्रकारका थुक्पा पाइन्छ, चिकेन, बफ, भेज, एग र मिक्स । सुप विशेष स्वादको हुने भएकाले यहाँको थुक्पालाई ग्राहकहरुले निकै रुचाउँछन् । सुप बनाउँदा मासुको हड्डीलाई उमालेर त्यसको बोनम्याराको फ्लेभर सुपमा आउने गरी बनाइन्छ र विशेष प्रकारको मसला राखिन्छ ।

सोलु शेर्पा खाजाघरमा बफ थुक्पाको १५० रुपैयाँ, भेजको १२० रुपैयाँ, एगको १३० रुपैयाँ र चिकेनको १७० रुपैयाँ पर्छ । यहाँ नुडल्स र मसला होम मेड प्रयोग गरिन्छ, जसले पनि अन्य ठाउँको भन्दा यहाँको थुक्पा स्वादिलो हुने ग्राहकहरु बताउँछन् ।

द बेस्ट काठमाडौं किचन, ठमेल

ठमेलमा रहेको द बेस्ट काठमाडौं किचन थुक्पा पारखीहरुको रोजाइको ठाउँ हो । यहाँ बफ, चिकेन, भेज र मिक्स थुक्पा पाइन्छ । थुक्पाको नुडल्स कारखानाबाट सिधै ल्याइने भएकाले यहाँको नुडल्स ताजा हुन्छ ।

नुडल्स ताजा हुनुको साथै सुप पनि विशेष स्वादले भरिएको हुन्छ । यसमा तिब्बतियन मसलाको प्रयोग गरिन्छ । द बेस्ट काठमाडौं किचनमा चिकेन थुक्पाको २१० रुपैयाँ, भेजको १५०, बफको २१० र मिक्सको २६० रुपैयाँ पर्छ ।

याङलिङ तिब्बतियन रेस्टुरेन्ट, ठमेल

जाडोमा तात्तातो थुक्पा खान एक पटक पुग्नैपर्ने ठाउँ हो याङलिङ तिब्बतियन रेस्टुरेन्ट । ठमेलमा रहेको यो रेस्टुरेन्टमा चिकेन, बफ, पोर्क, भेज र मिक्स थुक्पा पाइन्छ ।

यहाँको थुक्पाको विशेषता भनेको तिब्बतियन स्वटाइलको सुप नै हो । सुपमा रेडिमेड नुडल्सको प्रयोग गरिन्छ । यहाँ बफ थुक्पाको २३० रुपैयाँ, चिकेनको २५०, पोर्कको २५०, भेजको ११० र मिक्स थुक्पाको २७० रुपैयाँ पर्छ ।

ज्ञान दाइको खाजाघर, बालाजु 

बालाजु बाइसधारामा रहेको ज्ञान दाइको खाजाघरमा पनि थुक्पा खानेहरुको भीड लाग्छ । सस्तो मूल्यमा मीठो थुक्पा खान चाहने यहाँ पुग्ने गर्छन् । यहाँ बफ, चिकेन र भेज थुक्पा पाइन्छ । अर्डर गरेमा पोर्क थुक्पा पनि तयार गरिन्छ ।

यहाँ बफ थुक्पाको १२० रुपैयाँ, चिकेनको १६० रुपैयाँ र भेज थुक्पाको ११० रुपैयाँ पर्छ ।

मेचुङ रेस्टुरेन्ट एण्ड बार, बौद्ध

३० वर्षअघिदेखि थुक्पा बिक्री गर्दै आएको मेचुङ रेस्टुरेन्ट ग्राहकहरुको रोजाइमा परेको रेस्टुरेन्ट हो । बौद्धमा रहेको मेचुङमा भेज, बफ, चिकेन र मिक्स थुक्पा पाइन्छ ।

पहिले यहाँ बफ थुक्पा मात्र पाइन्थ्यो । तर पछि ग्राहकको माग बढ्दै गएपछि भेज र चिकेन थुक्पा पनि बनाउन थालियो । मेचुङमा बफ थुक्पाको २३० रुपैयाँ, मिक्सको २६० रुपैयाँ, चिकेनको २३० र भेजको २१० रुपैयाँ पर्छ ।

यहाँको थुक्पाको विशेषता भनेको थुक्पामा प्रयोग हुने सबै सामग्री होम मेड हो । नुडल्स र थुक्पाको सुपमा प्रयोग हुने सबै मसला मेचुङ रेस्टुरेन्टले नै तयार गर्छ ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?