+
+

डीभी र हरियो सपना

शान्तिदीप रायमाझी शान्तिदीप रायमाझी
२०७९ असोज २५ गते १२:३४

अहिले मात्र होइन

पहिले

पहिले मात्र होइन

जहिले

नभन्नु कि उसले डीभी भरेन

बरु मान्नु कि त्यो पर्दै परेन

हुन त ऊ

देश देश भन्दै चिच्याउने मान्छे

घरी भारतसँग रिसाउने मान्छे

घरी चीनतिरबाट चिन्तित हुने मान्छे

अरु देशको क्रीडास्थल हुने हो कि भूमि

पीर मान्ने मान्छे

देशको बारेमा विदेशतिर चर्चा हुँदा

गर्व गर्ने, फुल्ने मान्छे

हाम्रो खेलाडीले विदेशी मैदानमा राम्रो गर्दा

आफैंलाई भुल्ने मान्छे

पहिले राजाले विदेशमा

राम्रो भाषण गरे रे भन्दा नि खुसी हुन्थ्यो ऊ

देशको उत्पादन विदेशमा पाइन्छ रे थाहा लाग्दा उफ्रन्थ्यो ऊ

अहिले नि देशका नेताले विदेशमा

उच्च सम्मान पाइदिए हुन्थ्यो सोच्छ ऊ

देशको माया लाग्छ औधी

हो माया गर्छ

र नि

सधैं किन ऊ डीभी भर्छ ?

पर्दैन

तर

भर्न छोड्दैन

किन ?

आफैंलाई सोध्छ ऊ

‘के म देश छोड्न चाहन्छु ?’

‘के म भेष फेर्न चाहन्छु ?’

कपालले टाउको छोड्ने बेला

ऊमा किन यस्तो लोभ जागे होला ?

यो देशले जन्मायो

हुर्कायो

बेलाबेलामा जन्मेदेखि सुई लगायो

मर्नबाट बचायो

पढायो

दुई चार अक्षर जान्ने गरायो

बुझ्ने गरायो

अब गरेर देशलाई केही दिने बेला

लगानीको प्रतिफल भर्ने बेला

किन ऊ अर्काको देश गएको

ग्रीनकार्ड पाएको

हरियो सपना देख्न थाले होला ?

न्युयोर्क सिटी धाएको

स्ट्याचु अफ लिबर्टीनिर फोटो खिचाएको

बर्गर पिज्जा खाएको सपना देख्न थाले होला ?

किन ऊ मुटुमा देश बोकेर

दिमागमा विदेश खोपेर बसेको छ होला ?

किन ऊ देशको मायामा नि

हिसाबकिताब गर्छ होला ?

फाइदा बेफाइदा सोच्छ होला ?

किन ऊ भोलिबारे धेरै गम्छ होला ?

कि साँच्ची देशको माया कम छ होला ?

किन अहिले देश सोच्दा उसले

सन्ततिको भोलिको मलिन अनुहार देख्छ होला ?

तुलना गर्छ देशबीच

किन आजदेखि आश्वस्त छैन् ऊ ?

भोलिदेखि विश्वस्त छैन् ऊ ?

किन लाग्छ होला उसलाई कि

यहाँ कुनै बहार आउँदैन

सोचेको त्यो संसार पाउँदैन

उसलाई किन यो देशलाई

विदेशबाट माया गर्न मन लागेको होला ?

दिमागको माग खै कस्तो हो यो उसको

फेरि पनि किन डीभी भर्न मन जागेको होला ?

हरियो डलरमा चर्न मन लागेको होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?