+
+

खोटाङको चुनावी मैदानमा ‘टेष्टेड’हरुकै लर्को

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २५ गते १७:१८

२५ असोज, खोटाङ । प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा खोटाङमा अधिकांश दलबाट पुरानै अनुहार मैदानमा उतारिएको छ । अवसर पाउने नयाँ नेता कम देखिएका छन् । लगातार अवसर पाइरहेका नेतालाई नै उम्मेदवार बनाइएका छन् ।

नेकपा एमालेले प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रुपमा विशाल भटराईलाई अघि सारेको छ । एमाले प्रमुख सचेतकको जिम्मेवारी सम्हाली सकेका भट्टराई २०७० को संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा खोटाङबाटै बिजयी भएका थिए । उनी २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा भने पराजित भएका थिए ।

एमालेबाट प्रतिनिधिसभाका लागि उषाकला राई, खगेन्द्र राई, देवान राई, पाँचकर्ण राई (पिके), रमेश पौडेल र राजनप्रसाद ढकाल आकांक्षी थिए । तर सबैलाई पन्छाएर भट्टराईले प्रतिनिधि सभामा अवसर पाए ।

प्रदेशसभा ‘क’मा एमालेबाट पाँचकर्ण राई (पिके)ले टिकट पाएका छन् । जिल्ला कमिटिले उनको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको थियो, तर अन्तिममा प्रदेशमा टिकट मिलेको हो । राई २०७० को संविधानसभा सदस्यमा बिजयी भएका थिए ।

प्रदेशसभा ‘ख’मा रामप्रसाद दंगाललाई टिकट दिएको छ । हालसम्म चुनाव नलडेका दंगाल एमालेका जिल्ला अध्यक्ष हुन् । प्रदेशसभा ‘क’बाट प्रत्यक्षमा चार जनाको नाम सिफारिस हुँदा प्रदेशसभा ‘ख’बाट दंगालको एकल नाम सिफारिस भएको थियो ।

गठबन्धनबाट नेकपा माओवादी केन्द्रका रामकुमार राई (पासाङ) चुनावी मैदानमा छन् । २०७४ सालको निर्वाचनमा प्रदेशसभा (ख) मा विजयी भएर प्रदेश १ को खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रीका रुपमा काम गरिसकेका राईले यसपल्ट सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रुपमा फड्को मारेका हुन् । उनी २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा पनि विजयी भएका थिए ।

गठबन्धनबाटै प्रदेशसभा ‘क’ नेकपा (एकीकृत समाजवादी)का वीरबलकाजी राई र प्रदेशसभा ‘ख’ नेपाली कांग्रेसका भूपेन्द्र राईले टिकट पाएका छन् । राईद्वयले आसन्न निर्वाचनका लागि पहिलोपल्ट उम्मेदवार बन्ने अवसर पाएका हुन् ।

नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार राई केन्द्रीय सदस्य एवम् खोटाङ सह–इञ्चार्ज हुन् । नेपाली कांग्रेस प्रदेश १ को महामन्त्री रहेका भूपेन्द्र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् ।

खोटाङमा गठबन्धन विरुद्ध कांग्रेसले स्वतन्त्र उम्मेदवारी दिएको छ । गठबन्धनको टिकट वितरणप्रति असन्तुष्टी जनाउँदै पूर्वराज्यमन्त्री सर्वधन राईले प्रतिनिधिसभा सदस्य, प्रदेशसभा (क)मा पूर्वसभापति सुवासकुमार पोखरेल र उपसभापति धर्मराज पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् ।

सर्वधन २०५६ सालको संसदीय निर्वाचनमा खोटाङ क्षेत्र नम्बर १ बाट विजयी भएका थिए । पोखरेलसँग २०६४ सालमा खोटाङ क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्य र २०७४ मा प्रदेशसभा (क)बाट निर्वाचनमा लडेको अनुभव छ, तर उनी अनुमोदित हुन सकेका छैनन् ।

जनता समाजवादी पार्टीबाट डा. कृष्णकुमार राई (केके)ले प्रतिनिधिसभा सदस्यको टिकटमा दोश्रोपल्ट बाजी मारेका छन् । २०७४ सालको प्रतिनिधिसभा सदस्यमा तत्कालीन संघीय समाजवादी फोरमबाट उठेका उनी पराजित भएका थिए । जनता समाजवादी पार्टीले प्रदेशसभा (क)मा राकेश राई र प्रदेशसभा (ख)मा प्रेमकुमार राईलाई उम्मेदवार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?