+
+
आम चुनाव २०७९ :

प्रतिनिधिसभामा ६५ वर्षमाथिका ६२ उम्मेदवार

मूलधारका पार्टीमा सबैभन्दा उमेर बढी रहेर उम्मेदवार बन्नेमा महिन्द्रा राय यादव छन् । यादव ८५ वर्षको उमेरमा सर्लाही २ बाट उम्मेदवार बनेका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उनी माओवादी केन्द्रको हँसिया हथौडा चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्दैछन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०७९ असोज २७ गते १७:०७

२७ असोज, काठमाडौं । आसन्न प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको उम्मेदवार मूल धारका छ दलबाट ६५ वर्ष नाघेका ६२ जनाले उम्मेदवारी दिएका छन् ।

नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी मध्ये ६५ वर्ष पार गरेर उम्मेदवारी दिनेमा कांग्रेसका उल्लेख्य छन् ।

मूलधारका पार्टीमा सबैभन्दा उमेर बढी रहेर उम्मेदवार बन्नेमा महिन्द्रा राय यादव छन् । यादव ८५ वर्षको उमेरमा सर्लाही २ बाट उम्मेदवार बनेका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उनी माओवादी केन्द्रको हँसिया हथौडा चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्दैछन् ।

लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरको उमेर ८० वर्ष पुगेको छ । उनले महोत्तरी ३ बाट उम्मेदवारी दिएका छन् । ठाकुर भन्दा उमेरमा दुई वर्ष कम रहेका कांग्रेस नेता रामचन्द्र पौडेल छन् । तनहुँ २ बाट उम्मेदवारी दिएका पौडेलको उमेर ७८ वर्ष पुगेको छ ।

७७ वर्ष पुगेका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले डडेलधुरामा सातौंपटक प्रतिस्पर्धा गर्न लागेका छन् । एमालेका कपिलवस्तु ३ मा उम्मेदवार बनाएका मंगलप्रसाद गुप्ताको उमेर प्रधानमन्त्री देउवाकै उमेर बराबर (७७ वर्ष) छ ।

नुवाकोट २ बाट उम्मेदवार बनेका अर्जुननरसिंह ७५ वर्षको उमेरमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्दैछन् । पर्सा १ बाट लोसपाका उम्मेदवार लक्ष्मणलाल कर्ण र पर्सा ४ मा एमालेका उम्मेदवार बनेका जालिम मियाँ मन्सुरीको उमेर उमेर पनि ७५ वर्ष पुगेको छ ।

सिराहा १ का कांग्रेसको उम्मेदवार बनेका पद्म नारायण चौधरीले ७४ वर्षको उमेरमा चुनावमा होमिएका छन् । झापा ३ बाट कांग्रेसको उम्मेदवार कृष्ण सिटौला, उदयपुर १ बाट कांग्रेस प्रतिस्पर्धा गर्न लागेका डा.नारायण खड्का, सप्तरी १ मा जसपाका उम्मेदवार नवलकिशोर साह सुडी र धनुषा २ मा जसपाका उम्मेदवार आनन्द यादवले ७३ वर्षमा चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

इलाम १ मा उम्मेदवार बनेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको उमेर ७२ वर्षको उमेरमा प्रत्यक्षतर्फ भिड्दैछन् । कांग्रेसका नेता शेखर कोइराला, लोसपाका नेता सवेन्द्रनाथ शुक्ला ७२ वर्षको उमेरमा चुनावका प्रतिस्पर्धी छन् । कांग्रेसले मोरङ ६ मा कोइरालालाई उम्मेदवार बनाएको छ । रुपन्देही ४ मा लोसपाबाट शुक्ला उम्मेदवार बनेका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओली ७० वर्षको उमेरमा पुनः झापा ५ बाट प्रतिस्पर्धा गर्दैछन् । ओलीकै उमेर सरह झापा १ मा जसपाले उम्मेदवार बनेकी राधा थापा र झापाकै ३ मा जसपाले उम्मेदवार बनाएका वीरबहादुर राई छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ६९ वर्ष पुगे । उनी रौतहट १ बाट प्रतिस्पर्धा गर्दैछन् । इलाम २ मा एमालेको उम्मेदवार सुवास नेम्बाङ, सोलुखुम्बुमा कांग्रेसका उम्मेदवार बलबहादुर केसी, सर्लाही ४ बाट कांग्रेसका नागेन्द्र कुमार ६९, सिराहा ३ मा माओवादी केन्द्रका विश्वनाथ साह र काठमाडौं ६ मा कांग्रेसका भीमसेनदास प्रधान ६९ वर्षमा चुनावी मैदानमा छन् ।

एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल ६८ वर्षमा काठमाडौं ५ मा प्रतिस्पर्धा गर्दैछन् । ६८ वर्षमा कांग्रेसका विजय गच्छदार, सुजाता कोइराला,दिलेन्द्र बडु र भरतकुमार शाहले चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

गच्छदारले सुनसरी ३, कोइरालाले मोरङ २, बडुले दार्चुला र शाहले रुपन्देही ५ मा उम्मेदवार बनेका छन् । धनुषा २ एकीकृत समाजवादीका उम्मेदवार रामचन्द्र झा, महोत्तरी २ का लोसपा उम्मेदवार शरदसिंह भण्डारी, काठमाडौं ७ एमालेका श्यामकुमार घिमिरे, बाँके ३ मा लोसपाका हफिज पठान र कैलाली ५ मा लोसपा उम्मेदवार दान बहादुर विश्वकर्माले ६८ वर्षको उमेरमा उम्मेदवारी दिएका छन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा ६७ वर्ष पुगेका छन् । मकवानपुर १ बाट एमालेको समर्थनमा उनी उम्मेदवार बनेका छन् । एकीकृत समाजवादीले पाल्पा २ मा उम्मेदवार बनाएका सोमप्रसाद पाण्डे र सोही दलबाट ललितपुर २ मा उम्मेदवार बनेका कृष्णलाल महर्जनको उमेर ६७ पुगेको छ ।

जसपाले खोटाङमा उम्मेदवार बनाएका कृष्णकुमार राईले ६७ वर्षकै उमेरमा चुनावी मैदानमा छन् । झापा २ मा एमालेका देवराज घिमिरे, मनाङका कांग्रेस टेकबहादुर गुरुङ, नवलपरासी १ मा विनोद चौधरी र सुनसरी २ बाट कांग्रेसका उम्मेदवारले ६७ वर्षमा प्रत्यक्षमा भिड्दैछन् ।

६६ वर्षको उमेरमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा २ बाट प्रतिस्पर्धा गर्दैछन् । कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का नेता प्रकाशमान सिंहले पनि ६६ वर्षमा प्रत्यक्षको उम्मेदवार बनेका छन् ।

खड्का सुर्खेत १ र सिंह काठमाडौं १ का उम्मेदवार हुन् । यसै गरी, कांग्रेसकै चितवन २ का उम्मेदवा उमेश श्रेष्ठ, पर्वतमा अर्जुन जोशी र कैलाली ५ मा उठेका डिल्लीराज पन्त पनि ६६ वर्षमा उम्मेदवार बनेका छन् ।

धार्दिङमा उम्मेदवार एकीकृत समाजवादी राजेन्द्र पाण्डे, उदयपुर-१ मा लोसपाले उम्मेदवार बनाएका खुसीलाल ठाकुर, सप्तरी २ मा लोसपा जयप्रकाश ठाकुर, धनुषा ४ जसपाका महाजन यादव र दैलेखमा एकीकृत समाजवादीका अम्बर बहादुर थापा ६६ वर्षको उमेरमा प्रतिस्पर्धा गर्दैछन् ।

कांग्रेसबाट सुनसरी ४ उठेका कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की, नवलपरासी २ का देबेन्द्र राज कँडेल र पर्सा ४ का उम्मेदवार रमेश रिजाल ६५ वर्षमा प्रत्यक्षमा उम्मेदवार बनेका छन् ।

सुनसरी १ मा जसपाका उम्मेदवार अशोककुमार राई, सुनसरी ४ मा लोसपाबाट उम्मेदवार बनेका कुञ्जीलाल यादव, सिराहा ३ मा एमालेका उम्मेदवार लिलानाथ श्रेष्ठ, नुवाकोट २ मा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडा र काठमाडौं ८ मा एमालेका उम्मेदवार शिव सुन्दर राजवैद्य पनि ६५ वर्षमा प्रत्यक्षमा प्रतिस्पर्धा गर्दैछन् ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?