+
+
नवौं राष्ट्रिय खेलकुद :

एनआरएनएले राष्ट्रिय खेलाडी खेलाउँदा पुरुष फुटबल सुरुमै विवादित

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ असोज २७ गते २०:२०

२७ असोज, पोखरा । गैर आवसीय नेपाली संघ (एनआरएनए) ले २०७५-७६ मा नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुददेखि बृहत राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन थालेको थियो । त्यसबेला एनआरएनएनले पौडी, लनटेनिस लगायत केही खेलमा प्रतिस्पर्धा गरेको थियो ।

गण्डकी प्रदेशमा शुक्रबार उद्घाटन हुने नवौँ राष्ट्रिय खेलकुदमा एनआरएनएले फुटबल क्रिकेट लगायत टिम गेममा पनि सहभागिता जनाउँदैछ ।

भदौमै कीर्तिपुरमा सम्पन्न भएको पुरुष क्रिकेटमा प्रतिस्पर्धा गरेको एनआरएनए चौथो भएको थियो ।

नवौंको औपचारिक उद्घाटनको अघिल्लो दिन देखि सुरु भएको फुटबलमा एनआरएनएले पुरुष फुटबलमा सहभागिता जनाएको छ ।

समूह ए मा रहेको एनआरएनएले उद्घाटन खेलमै प्रदेश १ लाई हराउँदै विजयी सुरुवात पनि गर्‍यो । तर एनआरएनको सहभागिता भने विवादित बनेको छ ।

कारण एनआरएनएले नेपाली राष्ट्रिय टिमका खेलाडीहरुलाई मैदान उतारेको छ । एनआरएनएलाई प्रदेश १ लाई २-० ले पराजित गर्दा राष्ट्रिय टिमका सदस्य विमल घर्ती मगर र राष्ट्रिय टिमबाट खेलिसकेका संजोक राईले गोल गरे ।

एनआरएनएले विजयी सुरुवात गर्दा प्रदेश १ भने आफ्नै खेलाडी आफू विरुद्ध खेल्दा पराजित हुन पुग्यो ।

विमल र संजोगसहित अनन्त तामाङ, सुजल श्रेष्ठ, पुजन उपरकोटी, निशान खड्का, अशोक खवास लगायत खेलाडी एनआरएनएबाट खेलेका थिए । आफ्नो घरेलु प्रदेशको टिममा नपर्दा उनीहरुले एनआरएनएको टिमबाट खेलेका हुन् ।

एनआरएनएनएले नियम विपरित खेलाडी टिममा राखेपछि साढे १२ बजे सुरु हुने तय भएको खेल समेत ढिला सुरु भएको थियो ।

प्रदेश १ ले एनआरएनएले आफ्नो सदस्य नभएका खेलाडी उतार्न खोजेको भन्दै विरोध गरेको थियो । तर खेलपछि प्रोटेस्ट हाल्न पाउने भनेपछि खेल भने सुरु भयो र नतिजा पनि आयो ।

राष्ट्रिय टिमका खेलाडीहरुले सम्बन्धित प्रदेशबाट खेल्न नपाएपछि एनआरएनए रोज्नु उनीहरुको बाध्यता थियो । तर उनीहरुको सहभागिता नवौं राष्ट्रिय खेलकुदको निर्देशिका र एनआरएनएकै विधान विपरीत छ । यसले राष्ट्रिय खेलकुदमाथि नै प्रश्न चिन्ह समेत उठाएको छ ।

नवौंको निर्देशकामा पनि गैर आवसीय टिमको बारेमा भनिएको छ, ‘गैर आवासीय नेपाली संघ (एन.आर.एन.ए.) टिम भन्नाले गैर आवसीय नेपाली खेलाडीहरूबीच छनौट भई आएको टिम सम्झनु पर्छ ।’

यस्तै गैर आवसीय नेपाली संघको विधानमा ‘गैरआवासीय नेपाली भन्नाले नेपाली मुलको विदेशी नागरिक वा दुई वर्ष भन्दा बढि नेपाल सरकारबाट खटिइ विदेशस्थित नेपाली नियोगमा बहाल रहेको, विदेशस्थित शिक्षण संस्थामा अध्ययन गरिरहेको नेपाली नागरिक र दक्षिण एसियाली सहयोग संगठन (सार्क) अन्तर्गतका मुलुकहरु बाहेकका अन्य देशहरुमा पेशा, रोजगारी वा व्यवसाय गरी बसोवास गर्ने नेपाली नागरिकलाई जनाउँदछ,’ यसै अनुच्छेदमा उल्लेखित ‘नेपाली मूलका विदेशी नागरिक’ भन्नाले कुनै व्यक्ति साविकमा स्वयम् वा निजको बाबु, आमा, बाजे, वा बज्यै नेपालको नागरिक रहि पछि सार्कको सदस्य मुलुक बाहेक अन्य मुलुकको नागरिकता लिएको व्यक्तिलाई जनाउँदछ ।‘

एनआरएनएले नियम विपरीत नेपाली खेलाडीलाई मैदान उतारेको बारेमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव तथा नवौं राष्ट्रिय खेलकुदको कार्यकारी समितिका संयोजक टंकलाल घिसिङले प्रतियोगिताको निर्देशिकामा जे छ त्यही अनुसार हुने बताए । भने, ‘यस विषयमा निर्देशिकामा जे उल्लेख छ त्यही अनुसार प्रक्रिया अगाडि बढाइनेछ । सम्बन्धित उपसमितिहरुले यस बारेमा हेर्नुहुन्छ ।’

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत अनुशासन उपसमितिका सचिव नारायणप्रसाद अर्यालले अहिलेसम्म कुनै टिमबाट उजुरी नआएको र यदी त्यस्तो उजुरी आएमा प्रक्रिया अघि बढाइने बताए । ‘अहिलेसम्म कुनै टिमबाट त्यस्तो उजुरी आएको छैन । यदी उजुरी आएमा राष्ट्रिय खेलकुदको कार्यविधि र निर्देशिका अनुसार प्रक्रिया अगाडि बढाउनेछौं,’ शर्माले भने ।

एनआरएनए टिम ।

राष्ट्रिय खेलकुदको निर्देशिकामा कुनै पनि खेलाडीले झुटा विवरण पेश गरी राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन नपाइने उल्लेख छ ।

‘कुनै खेलाडीले झुटा विवरण पेश गरी राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिनु हुँदैन । त्यसरी झुटा विवरण पेश गरी त्यस्तो प्रतियोगितामा भाग लिएको प्रमाणित भएमा सम्बन्धित सिफारिसकर्तालाई कारबाही गरिनेछ । खेलाडी दर्ता सम्बन्धमा उन्पन्न हुने कुनै पनि विवादको निर्णय सम्बन्धित संघ वा अनुशासन उपसमितिले नै गर्नेछ । त्यसरी विवादको समाधान हुन नसकेमा कार्यकारी समिति वा परिषद्ले गरेको निर्णय अन्तिम हुनेछ ।’ प्र

तियोगितामा पालना गर्नुपर्ने सामान्य नियम अन्तर्गत दफा १३ मा राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका नियममा उल्लेख छ ।

एनआरएनएका संयोजक जीवन सेनले भने आफ्नो टिममा पूरा खेलाडी आउन नसकेपछि नेपालमै भएका खेलाडी समेटर सहभागी भएको बताए । युके एनसीसीको आन्तरिक विवादको गर्दा खेलाडीहरु समयमै नेपाल आउन नसकेपछि एनआरएनएले नेपालमै भएका तर नवौंमा सम्बन्धित टिममा नपरेका खेलाडी समावेश गरेको हो ।

‘हाम्रो टिम पूरा नभएपछि हामीले राष्ट्रिय प्रतियोगिता खेल्न वञ्चित भएका नेपालकै खेलाडीहरु समेटेर टिम बनायौं, हामीले खेलाडी परिवर्तन गरिपाउँ भनेर प्राविधिक समितिमा प्रस्ताव गरेपछि उहाँहरुले स्वीकृत दिनुभयो र टिममा राखेका हौं’, सेनले भने ।

खेलाडी टिममा राख्नु भावानात्मक रुपमा राम्रो कुरा भए पनि नियम विपरीत भयो नि भन्ने प्रश्नमा सेनले स्पष्ट जवाफ दिएनन् । ‘हामीले यस विषयमा आयोजकहरुसँग बसेर छलफल गर्नेछौं । त्यसबाट के निर्णय हुन्छ त्यसैगरी अघि बढ्छौं’, सेनले खेलाउन नपाइने निर्णय भएमा अरु खेल नखेल्ने समेत बताए ।

यस्तै प्रदेश १ का प्रशिक्षक सुरेन्द्र तामाङले यस विषयमा सम्बन्धित संघ अखिल नेपाल फुटबल संघ (एन्फा) मा पत्र पठाएको बताए ।

प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले हस्ताक्षर गरेको पत्रमा कार्यविधि विपरीत ८ खेलाडी खेलाइएको भन्दै नवौं राष्ट्रिय खेलकुद पुरुष फुटबल प्रतियोगित संयोजकलाई पत्र लेखेका छन् भने राखेपका सदस्य सचिव, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सचिवालय, पोखरा र एन्फा अध्यक्षलाई बोधार्थ गरेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?