+
+

नेपाल मेडिकल काउन्सिलले गर्‍यो १७ चिकित्सकलाई कारबाही, ६६ जनाविरुद्ध उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २८ गते १८:२८

२८ असोज, काठमाडौं । बिरामीको उपचारमा त्रुटि गरेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले पछिल्ला दुई वर्षमा १७ जना चिकित्सकलाई कारबाही गरेको छ । मेडिकल काउन्सिलको तथ्यांक अनुसार पछिल्ला दुई वर्षमा ६६ जनाविरुद्ध उजुरी परेको थियो ।

काउसिन्लका रजिष्ट्रार डा. कृष्ण प्रसाद अधिकारीका अनुसार अझै छानबिनमा क्रममा ४४ वटा उजुरीहरु छन् । ‘सबै चिकित्सकको उपचार सम्बन्धी काउन्सिलमा उजुरी परेका आधारमा १७ चिकित्सकलाई कारबाही गरिएको छ,’ अधिकारीले भने, ‘छानबिनको क्रममा ४४ वटा उजुरी बाँकी छन् ।’

उजुरी परेका ५ केसहरु काउन्सिलले कारबाही गरिरहनु नपर्ने ठहर गरेको छ ।

काउन्सिलका रजिष्ट्रार अधिकारीका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा काउन्सिलमा ४६ वटा उजुरी थियो । यस्तै, काउन्सिलमा चालु आर्थिक वर्ष अर्थात आव २०७९/८० मा २० वटा उजुरी परेको थियो । उनका अनुसार कारबाही गरिएका चिकित्सकलाई उपचारमा भएको त्रुटिका आधारमा एक वर्षसम्म खास सेवा प्रदान गर्न रोकदेखि तीन महिनासम्म निलम्बन गरिएको छ ।

‘काउन्सिलमा पर्ने उजुरी चिकित्सकको गम्भीर लापरवाही तथा बिरामीलाई राम्रोसँग नहेरिएको भन्ने लगायतका विषयवस्तु हुने गर्छन् । त्यसमा उजुरीकर्ताले डाक्टरमाथि कारवाही र क्षतिपूर्तिको कुरा उल्लेख गरिएको हुन्छ,’ डा. अधिकारीले भने, ‘उजुरी परेपछि विषय वस्तुको अध्ययन गरी ऐन,नियमको आधारमा कारबाही हुन्छ ।’

डाक्टरले जान्दाजान्दै आर्थिक प्रलोभन वा दबाबमा परेर आँखा नदेख्ने र खुट्टा सुकेका बिरामीलाई समेत निरोगिताको प्रमाणपत्र दिलाएको, नक्कली डाक्टर भएर काम गरेको, छोरा जन्माइदिने भन्दै बिरामीको भावनामा खेलबाड गर्दै अनावश्यक औषधि चलाएको जस्ता उजुरीहरु बढि पर्ने गरेको काउन्सिलले जनाएको छ ।

क्लिनिक देखि ठूला अस्पताल, सरकारी गैरसरकारी र निजी क्षेत्रका नयाँ देखि पुराना अस्पताल सबैमा कार्यरत चिकित्सकविरुद्ध उजुरी परेको डा. अधिकारीले बताए ।

स्वास्थ्य क्षेत्रमा भएको प्रविधिको विकास, विशेषज्ञ जनशक्तिको पर्याप्तता र स्वास्थ्य संस्थाको उचित व्यवस्थापनसँगै उपचारमा डाक्टरले गर्ने गल्ती घट्नुपर्ने जानुपर्ने हो । तर, यस्ता घटनाले बिरामीको चिकित्सकप्रति विश्वास घट्दै गएको देखिन्छ । जसका कारण अस्पताल तोडफोडदेखि चिकित्सकमाथि आक्रमणका घटना घटिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?