+
+

‘स्टकहोम सिन्ड्रोम’ : जब आफ्नै अपहरणकारीसँग प्रेम बस्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते १२:५९
अपहरणकारीलाई नियन्त्रणमा लिएर लैजाँदै गरेका प्रहरीहरु

काठमाडौं । कल्पना गर्नुहोस् त कुनै अन्जान मानिसले तपाईंको अपहरण गर्यो भने उसलाई के गर्नुहुन्छ ? अवश्य पनि घृणा गर्नुहुनेछ र ऊसँग डराउनुहुनेछ ।

तर दुनियाँमा एउटा यस्तो अनौठो घटना पनि भएको थियो जहाँ ६ दिनसम्म आफैंलाई अपहरण गरेर बन्धक बनाएको अपहरणकारीसँग अपहरित मानिसको प्रेम बसेको थियो ।

उक्त घटनामा एक व्यक्तिले ४ जना मानिसलाई अपहरण गरेर ६ दिनसम्म बन्धक बनाएका थिए । तर जब ती चारजना मानिस मुक्त भए तब त्यहाँ एउटा अनौठो दृश्य देखियो । अपहरित ती व्यक्तिहरु पूर्णरुपमा अपहरणकारीसँग भावनात्मक रुपमा जोडिएका थिए । अपहरणकारीसँग उनीहरुको यति गहिरो प्रेम बसेको थियो कि उनीहरु उल्टै पुलिससँग डराउन थाले । यो घटनाले संसारभर सनसनी मच्चियो । मनोवैज्ञानिकहरुले ती व्यक्तिहरुको अवस्थालाई मध्यनजर गर्दै त्यस अवस्थालाई एक नयाँ नाम दिए– ‘स्टकहोम सिन्ड्रोम’ ।

यो घटना सन् १९७३ अगष्ट २३ मा स्विडेनको राजधानी स्टकहोममा भएको हो । स्थानीय जान एरिक ओलसन नामका एक व्यक्ति बैंक लुटपाट गर्ने उद्देश्य सहित हातमा बन्दुक लिएर आफ्ना एकजना साथीसँगै एक बैंकमा गए । डकैतीका क्रममा उनले बैंकका एक सुरक्षाकर्मीलाई घाइते बनाए र चारजना बैंकका कर्मचारीलाई बन्धक बनाएर भल्टमा लगे । बैंकका कर्मचारी अपहरणमा परेको खबर पाएसँगै पुलिस घटनास्थलमा आयो अनि ओल्सनले पुलिस समक्ष आफ्ना माग राख्न सुरु गरे ।

उनको पहिलो माग थियो आफ्ना सहकर्मी क्लार्क ओलोफसनलाई रिहा गर्नुपर्ने । दोस्रो थियो ३० लाख स्विडिस क्रोनर रकम आफूलाई दिनुपर्ने र तेस्रो दुईवटा कार, दुईवटा बन्दुक, बुलेट प्रुफ भेस्ट तथा त्यहाँबाट निस्किने सुरक्षित माग उपलब्ध गराएर आफूलाई सुरक्षित साथ निस्किन दिनुपर्ने, त्यो पनि अपहरण गरेका व्यक्तिहरुसँगै ।

आफ्ना माग पूरा नभएमा अपहरित व्यक्तिहरुलाई दुःख दिने र मार्ने उनले चेतावनी दिए । अपहरणमा पर्नेमा ३ महिला र एक पुरुष थिए ।

केहीबेर पछि प्रहरीले उनका अन्य सबै मागमा सहमति जनायो । तर बन्धक बनाइएका व्यक्तिहरुलाई उनीसँगै लैजाने शर्त भने प्रहरीले मानेन ।

अपहरण गरेर बन्धक बनाइएकाहरु

उक्त घटनाको टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भैरहेको थियो । समय बित्दै जाँदा बन्धक बनाइएका मानिसहरुलाई अपहरणकारीले के गरेका होलान् भन्ने आशंका सबैमा बढिरहेको थियो । तर भित्रको कथा भने बेग्लै थियो । भल्टभित्र जब एकजना महिला बन्दीलाई चिसो लागिरहेको थियो, तब ओल्सनले आफ्नो न्यानो ज्याकेट लगाउन दिए । ती महिलाले आफूलाई निकै डर लागेको बताएपछि ओल्सनले प्रेमपूर्वक उनलाई सम्झाए र शान्त बनाए । साथै उनले आफ्नो बन्दुकबाट एक बुलेट निकालेर उनलाई समाउन दिए अनि यो घटना जीवनभर सम्झना हुनेछ भनेर बताए ।

अर्की एकजना बन्धकले आफ्नो घरमा फोन गर्छु भनेपछि ओल्सन आफैंले मोबाइल फोनमा नम्बर डायल गरिदिए । ओल्सनले चारैजना बन्धकको राम्रोसँग ख्याल गरे र निकै मायालु व्यवहार गरे । कसैलाई पनि कुनै दुःख दिएनन् ।

यसो गर्दैमा पूरै १ दिन बित्यो । अर्को दिन स्थानीय पुलिस अधिकारी भित्रको दृश्य हेर्न गए तब त्यहाँको माहोल देखेर दंगदास परे । अपहरणकारी ओल्सनसँग बन्धकहरु घुलमिल भएको उनले देखे । उनले बाहिर गएर भित्रको उक्त दृश्य सबैलाई बताए । बन्धक कर्मचारी र ओल्सनबीच निकै गहिरो मित्रता कायम भैसकेको हुँदा ओल्सनले उनीहरुको हत्या नगर्ने ठोकुवा उनले गरे । बन्धकहरुलाई ओल्सनसँग होइन पुलिससँग डर भैरहेको थियो ।

त्यसबीचमा एकजना बन्धकले स्विडेनका तत्कालीन प्रधानमन्त्री ओलोफ पाल्मेसँग फोन गरिन् । ओल्सनले आफूसँग केवल एकजना मात्रै बन्धक लिएर जान चाहेको र आफू उनीसँग जान तयार रहेको ती बन्धकले प्रधानमन्त्रीसँग बताइन् । आफूहरुलाई ओल्सनसँग रत्तिभर डर नभएको तर आफूहरुलाई बचाउन भन्दै प्रहरीले ओल्सनमाथि आक्रमण गरेर ओल्सनलाई मार्ने कुराको डर रहेको उनको चिन्ता थियो ।

२८ अगष्टको दिन प्रहरीले भल्ट भित्र अश्रुग्याँस छाड्यो । त्यसको एक घण्टापछि ओल्सनले आत्मसमर्पण गरे । प्रहरीले सुरुमा बन्धक चार जनालाई र त्यसपछि ओल्सनलाई बाहिर आउन भन्यो । तर बन्धक व्यक्तिहरुले उल्टै अपहरणकारी ओल्सनको बचाउ गर्दै आफूहरु ओल्सनसँग बाहिर निस्किने ढिपी गर्न थाले । अन्तिममा बाहिर निस्किने समयमा पनि बन्धक व्यक्तिहरुले ओल्सनलाई अँगालो मारे । पछि उनी विरुद्धको मुद्दामा उनको सहयोगमा पैसा संकलन गरे र उनलाई जेलमा पनि भेट्न गए ।

यो अनौठो घटनाले विश्वभर सनसनी मच्चायो र यो विषय मनोवैज्ञानिकहरुका लागि अनुसन्धानको विषय बन्यो । मनोवैज्ञानिकहरुले अपहरित तथा बन्धक व्यक्तिहरुको उक्त मनोदसा तथा अपहरणकारीसँगै प्रेम हुने अवस्थालाई ‘स्टकहोम सिन्ड्रोम’को नाम दिए ।

अपराध विज्ञानका ज्ञाता तथा मनोवैज्ञानिक निल्स बेजरटले सर्वप्रथम यो शव्दको प्रयोग गरेका हुन् ।

यो यस्तो मनोदशा हो जहाँ बन्धक व्यक्ति आफ्नै अपहरणकारीप्रति भावनात्मक रुपमा जोडिन्छ, समभाव राख्न थाल्दछ र मन पर्न थाल्दछ । कतिपय अवस्थामा त माया पनि गर्न थाल्दछ । स्टकहोम सिन्ड्रोमको स्विडिस नाम Norrmalmstorgssyndromet  राखियो । यो घटनामा आधारित भएर एक किताब पनि लेखिएको छ, जसको नाम हो Six days In August ।

विश्वमा अहिलेसम्म यस्ता ३ वटा घटना पाइएका छन् । स्विडेनमा भएको पहिलो घटनामा बन्धक व्यक्तिको अपहरणकारीसँग लगाव भएको थियो भने दोस्रो घटनामा अपहरणकारीले बन्धक व्यक्तिसँग भावनात्मक निकटता दर्शाएको थियो । तेश्रो घटनामा चाहिँ अपहरणकारी र बन्धक दुबैजना एक अर्काको प्रेममा परेका थिए ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?