
३० असोज, दाङ । दाङको तुलसीपुरको सामुदायिक वनमा आइतवार दिउँसो एउटै खाल्डोमा दई जना किशोरकिशोरीको शव गाडिएको अवस्थामा फेला परेको छ ।
तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँको जंगलमा १५ वर्षीया रोशनी महतरा र सोही ठाउँ मामाघरमा बस्ने दंगीशरण गाउँपालिका–६ थपगाउँका १४ वर्षीय शरद आचार्यको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमलले बताए । उनका अनुसार असोज २७ गते राति नै दुवै जना घरदेखि बेपत्ता भएका थिए ।
तुलसीपुर–१३ का वडाध्यक्ष मोहन पौडेलका अनुसार मृत अवस्थामा फेला परेका किशोर किशोरी नजिकै गाउँका छिमेकी हुन् । दुबै जना अम्बिकेश्वरी मावि अम्बापुरमा कक्षा ९ मा अध्यनरत थिए । मृतक किशोरका बुबा–आमाबीच सम्बन्ध विच्छेध पछि उनी आमासँग दमार गाउँमा मामाघरमा बस्दै आएका थिए । किशोरीका बुबाआमा भने लामो समयदेखि भारतमा रोजगारीमा छन् । किशोरी घरमा काकी र बहिनीसँग बस्दै आएको वडाध्यक्ष पौडेलले बताए ।
वडाध्यक्ष पौडेलका अनुसार किशोर असोज २७ गते राति १० बजे घरबाट निस्किएका थिए । किशोरी पनि सोही दिन राति नै घरबाट निस्किएको र बिहानमात्र परिवारले थाहा पाएको उनले बताए । उनीहरु घरबाटै निस्किएको रात किशोरीको घर नजिकै रहेको सामुदायिक वनमा मध्यरातमा आवाज आएको वडाध्यक्षले बताए ।
‘त्यो रात बचाउ–बचाउ भन्दै आवाज गाउँलेले सुनेका रहेछन्’ उनले भने, ‘जंगल ठूलो भएको र तर राति १२ बजेको समय भएकाले जंगलमा जान सकेनछन् ।’ घटनाको दोस्रो दिनमात्रै उनीहरु दुवै जना हराएको खबर पाएपछि गाउँलेहरु जंगलमा खोजीका लागि गएको उनले बताए ।
उनका अनुसार उनीहरु हराएको दोस्रो दिन अर्थात असोज २९ गते गाउँलेहरु गएर जंगलमा खोजतलास गरे तर केही फेला परेन । आइतबार दिउँसो भने सामुदायिक वनको खोल्सामा खोज्दै जानेक्रममा एउटै खालडमा शव गाडिएको अवस्थामा भेटिएको वडाध्यक्ष पौडेलले बताए । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
दुवै जनाको हत्या गरी गाडिएको हुन सक्ने प्रहरीको आंशका छ । प्रहरीका अनुसार मृतकको शरीरमा चोटपटक देखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया 4