३१ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखरामा जारी शारीरिक सुगठन प्रतियोगितामा सोमबार त्रिभुवन आर्मीले ३ स्वर्ण जितेको छ । सभागृहमा सोमबार ६ स्वर्णका लागि भएको प्रतिस्पर्धामा आर्मीले ३ स्वर्ण जित्यो ।
प्रतियोगिताको ८० केजी तौलमा नेपाली सेनाका ललित धिमालले स्वर्ण जितेका छन् । उनले एपीएफका राकेश श्रेष्ठलाई पछि पार्दै स्वर्णमा आफ्नो नाम लेखाएको हुन् । नेपाल पुलिसका रत्न सुन्दर नायकुसीले कांस्य पाए ।
८० केजी माथीको तौल समूहमा नेपाली सेना, लुम्बिनी र एपीएफले क्रमश: स्वर्ण रजत र कांस्य जिते । सेनाका उमेश राईले स्वर्ण जिते । धर्मश्री बिजेता उनी मालदिभ्समा सम्पन्न ५४ औं एशियन शारीरिक सुगठन तथा फिजिक च्याम्पियनसिपका पनि समूह विजेता हुन् । लुम्बिनीका बिष्णु निशाद र एपीएफका आदित्य ठाकुर दोश्रो र तेश्रो भएका हुन् ।
स्पोर्टस् फिजिक १७० सेमी तलको समूहमा गण्डकी प्रदेशले स्वर्ण जित्यो । गण्डकीका प्रदीप रेग्मीले नेपाल पुलिसका सुकदेव कार्कीलाई पछाडी पार्दै स्वर्ण जितेका हुन् । यस्तै एपीएफका किरण सुवालले रजत जिते ।
१७० सेमी माथिको विधामा प्रदेश १ ले बाजी मार्यो । औतार श्रेष्ठले प्रदेश १ का लागि स्वर्ण जितेका हुन् । एपीएफका निहाल जोशीले रजत र नेपाल पुलिसका सुरज डङ्गोलले कांस्य पाए ।
महिला मोडल फिजिकतर्फ नेपाली सेनाकी स्वेता कपालीले स्वर्ण जितिन् । बागमती प्रदेशकी रोजिना ख्यामली र पुलिसकी सनम मुलगुठीले रजत र कांस्य जिते ।
महिला शारीरिक सुगठनमा एपीएफकी पुजा श्रेष्ठले बाजी मारिन् । उनले सेनाकी जास्मिन लामालाई रजतमा खुम्च्याउँदै स्वर्ण कब्जा गरेकी हुन् । प्रदेश १ की रजनी श्रेष्ठले कांस्य जितिन् ।
प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी कुल १०/१० इभेन्टमा खेल हुनेछ । जसमा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका छन् । प्रतियोगितामा २० स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ ।
प्रतिक्रिया 4