२० काठमाडौं । एडम रोसिङटनको अर्धशतक मदतमा पोखरा एभेन्जर्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएलमा) शनिबार चितवन राइनोजलाई ८ विकेटले पराजित गरेको छ ।
चितवनले दिएको १२१ रनको लक्ष्य पोखराले १९.४ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो ।
पोखरा र चितवनल यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेकोले यस खेलले नतिजामा खासै प्रभाव नपार्ने भएकोले यो प्रतिष्ठाका लागि मात्रै थियो । पोखराले तेस्रो जितसहित ७ खेलबाट ६ अंक जोड्दै पाँचौ स्थानमा लिग सकाएको छ । चितवनको भने ७ खेलमा यो पाँचौ हार हो र ४ अंक मात्र जोड्न सक्यो ।
अब आइतबार जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच लिग चरणको अन्तिम खेल हुनेछ । दुवैको समान २ अंक छ । उक्त खेलको नतिजापछि अन्तिम तीन स्थानमा कुन-कुन टिम रहन्छ टुङ्गो लाग्नेछ ।
पोखराका लागि ओपनर रोसिङटनले ४८ बल खेल्दै ४ चौका र ५ छक्का मद्दतमा सर्वाधिक ६५ रन बनाए । यस्तै अर्जुन कुमालले अविजित ४३ रन योगदान गरे । उनले ५३ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । यस सिजन एनपीएलमा पहिलो खेल खेलेका कुमालले रोसिङटनसँग ओपनिङ गरेका थिए ।
रोसिङटन र अर्जुन कुमालले पहिलो विकेटका लागि १४.२ ओभरमा १०० रनको साझेदारी गरे । शतकीय साझेदारी गरेपछि रोसिङटन आउट भएका थिए ।
कप्तान कुशल भुर्तेल ४ रनमा आउट भए । जेसन रोय ६ रनमा अविजित रहे ।
बलिङमा चितवनका सैफ जैब र रिजन ढकालले समान एक/एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा डे-नाइट म्याचमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १२० रन बनाएको थियो ।
चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाए । यस्तै एनपीएलमा यसै खेलबाट डर डेब्यु गरेका युगान्डाका अल्पेश राम्जानीले २२ बलमा अविजित ३३ रन बनाए । कप्तान कुशल मल्लले २३ र सैफ जैबले १७ रन जोडे ।
७ रनमै सुरुवाती ३ विकेट गुमाएको चितवनका लागि देव खनाल र सैफ जैबले ३८ रनको साझेदारी गरेका थिए । जैब बउट भएपछि देवले पाँचौ विकेटका लागि कप्तान कुशल मल्लसँग २५ रनको साझेदारी गरे । देव आउट भएपछि कप्तान कुशल र राम्जानीले छैटौं विकेटका लागि ३९ रनको साझेदारी गरे ।
बलिङमा पोखराका धनन्जय लक्षनले ३.४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । यस्तै विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले समान १ विकेट लिए ।
प्रतिक्रिया 4