+
+

छैटौंपल्ट राष्ट्रिय खेलकुदमा सहभागी शिवसुन्दरको कथा

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ कात्तिक १ गते ५:५९
शिवसुन्दर गोथे । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

१ कात्तिक, पोखरा । २०५१ सालमा एसएलसी परीक्षा दिएपछि शिवसुन्दर गोथेले खेलकुदमै करिअर बनाउने निर्णय लिनु साहसपूर्ण कदम थियो ।

विद्यालय र टोलस्तरीय टेवलटेनिस प्रतियोगितामा सहभागी भएर पदकको स्वाद चाखेका उनले बाबु शिवनारायण गोथेको सपना पूरा गर्न यही खेललाई निरन्तरता दिने भए ।

सिमेन्टको बोर्डमा टीटी सिकेका गोथेका लागि व्यावसायिक टीटीमा अगाडि बढ्न काठमाडौंमा आएर प्रशिक्षण गर्नुपर्ने बाध्यता थियो । तर, सोही वर्ष भक्तपुर नगरपालिकाले टीटीसहित पाँच खेलको प्रशिक्षण पूर्वाधार निर्माण गरिदिएपछि घरनजिकै प्रशिक्षण गर्न पाए ।

‘२०५१ फागुनमा मैले नगरपालिकाले निर्माण गरेको पूर्वाधारमा प्रशिक्षण गर्न पाएँ । यो मेरो व्यावसायिक करिअरको पहिलो खुट्किलो थियो,’ तीनपल्टका राष्ट्रिय च्याम्पियन गोथेले अनलाइनखबरसँग भने ।

भक्तपुर नगरपालिका–५ लैको टोलमा त्यतिबेला न्यातपोल कर्नर टिमको नामबाट टीटी क्लब स्थापित थियो । सोही क्लबले निर्माण गरेको सिमेन्टेट बोर्डमा टीटी खेलेर हुर्किएका हुन्– शिव । त्यहाँबाट सुरु भएको उनको करिअर आजको दिनमा २८ वर्षमा चलिरहेको छ । सक्रिय खेलाडी जीवनबाट विश्राम लिने मनस्थिति अझै आएको छैन ।

गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद गोथे सहभागी भएको छैटौं राष्ट्रिय खेलकुद हो । २०५५ सालमा तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा आयोजित चौथो राष्ट्रिय खेलकुदमा पहिलोपल्ट मध्यामाञ्चल विकास क्षेत्रको टिमबाट प्रतिनिधित्व गरेयता उनी टीटीबाट कहिल्यै टाढा भएनन् । नवौं राष्ट्रिय खेलकुदमा गोथेले टिम स्पर्धामा रजत जिते ।

उनी एकलतर्फ पनि सहभागी छन् । र स्वर्ण पदकका दाबेदार हुन् । भन्छन्, ‘पूर्व च्याम्पियनको नाताले मेरो लक्ष्य स्वर्ण नै हो, तर यसपाली प्रस्तिपर्धा चर्को छ ।’

प्यासनबाट सुरु करिअर, आत्मसन्तुष्टिका लागि निरन्तरता

भक्तपुरमा प्रशिक्षण सुरु गरेको अर्को वर्ष २०५३ चैतमा जनकपुरमा आयोजित २८औं राष्ट्रिय टीटी च्याम्पियनसिपमा जुनियरमा प्रतिस्पर्धा गरेपछि बढेको आत्मविश्वास दुई वर्षपछि चौथो राष्ट्रिय खेलकुदमा काम लाग्यो । ‘त्यतिबेला क्वाटरफाइनलमा पराजित भए पनि धेरै कुरा सिक्न पाएँ,’ उनले सुनाए ।

त्यो समयमा सन्दीपसिंह महत, राजेन्द्र कपाली, रविन्द्र शाक्य, गोपाल महर्जनहरुको दवदवा थियो । क्षेत्रीय छनोट जितेर गोथे मध्यमाञ्चल टिमको पाँचौं सदस्य बने । आफ्ना आदर्श खेलाडीसँग एउटै टिमबाट खेल्न पाउनुको खुसी उनका लागि गर्वको क्षण थियो ।

चौथो राष्ट्रिय खेलकुदमा वागमती प्रदेशले टिम स्पर्धामा स्वर्ण जित्यो । एकलमा भने उनी क्वाटरफाइनलमा पराजित भए । राष्ट्रियस्तरमा आठौं वरीयता पाए । त्यतिबेला शीर्ष १६ वरीयताका खेलाडीले राष्ट्रिय खेलकुद खेल्न छनोटमा आउनुपर्ने थिएन । सोही नियमअनुसार गोथेले त्यसयता कुनै पनि प्रतियोगिताका लागि छनोट खेल्न परेन ।

पहिलोपल्ट राष्ट्रिय च्याम्पियनसिप खेलेका गोथेलाई च्याम्पियन बन्न १२ वर्ष लाग्यो । करिअरमा यो उनको धैर्यताको उदाहरण हो । २०६५ मा काठमाडौंमै आयोजित पाँचौं राष्ट्रिय खेलकुद तथा ३२औं राष्ट्रिय टीटी च्याम्पियनसिपमा उनी उच्च लयमा थिए । पहिलोपल्ट राष्ट्रिय च्याम्पियन बन्नु सपना पूरा भएको क्षण थियो । २०६७ मा विराटनगरमा आयोजित ३३औं राष्ट्रिय च्याम्पियनसिप पनि च्याम्पियन बनेका गोथे अन्तिमपल्ट २०७० मा पूर्वाचलमा आयोजित ३६औं राष्ट्रिय च्याम्पियनसिपमा उपाधि जितेका हुन् ।

नवौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्दै शिवसुन्दर गोथे । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

‘राष्ट्रिय च्याम्पियनसिपमा सहभागी हुन थाले पनि च्याम्पियन बन्न मलाई लामो समय लाग्यो । किनभने त्यतिबेलाका सिनियरले उच्च लयमा खेलिरहेका थिए,’ दशकभन्दा बढी समयसम्म आठौं वरीयता सुधार गर्न नसकेका गोथे भन्छन्, ‘कुनै दिन सक्छु भनेर प्रतीक्षामा थिएँ ।’

२०७३ मा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुददेखि नेपाली टीटीमा स्यान्टू श्रेष्ठको उदय भयो । निकै नै उत्कृष्ट पछिल्लो पुस्ताका स्यान्टूसँग फाइनलमा पराजित भएका गोथे २०७५ मा तत्कालीन प्रदेश ५ मा आयोजित आठौं राष्ट्रिय खेलकुदमा सेमिफाइनलमा पराजित हुँदै तेस्रो वरीयता पाए । तेस्रो वरीयताको हैसियदमा उनी जारी नवौं राष्ट्रिय खेल्दैछन् ।

२०५३ मा जैसीदेवल कप, २०६४ मा राष्ट्रिय खुला टीटी च्याम्पियनसिप, २०६६ मा एनटीटीए कप, २०७० मा ग्यालेक्सी कप र २०७३ मा भेनस कप गोथेले स्वर्ण जितेका राष्ट्रियस्तरका प्रतियोगिता हुन् ।

दक्षिण एसियाली खेलकुदमा ४ पदक, तीनपल्ट विश्व च्याम्पियनसिप

सन् १९९७ मा पहिलोपल्ट सार्क एसियन युथ टीटी च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय यात्रा सुरु गरेका गोथेले नेपालमै आयोजित आठौं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्न सकेनन् । नवौं सागको छनोटबाटै बाहिरिएका उनले सन् २००६ मा श्रीलंकामा आयोजित १०औं सागमा टिम स्पर्धामा कांस्य जिते ।

सन् २०१० मा बंगलादेशमा भएको ११औं र २०१६ मा भारतमा आयोजित १२औं सागमा नेपालले टिम स्पर्धामा कांस्य जित्दा उनी टिमका सदस्य थिए । तीन वर्षअघि नेपालमै भएको १३औं सागमा गोथेसहितको नेपाली टिमले ऐतिहासिक रजत पदक जित्यो । यो उनको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सफलता हो ।

‘सुस्ताएको नेपाली टीटी पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेको छ । १३औं सागको तयारी र सरकारले दिएको प्राथमिकताबाट हामी श्रीलंकालाई हराएर फाइनलमा पुग्न सक्यौं,’ गोथेले थपे, ‘भारतलाई हराउन अझै धेरै तयारी चाहिन्छ ।’

सन् २००७ देखि २०१५ सम्म चारपल्ट एसियन टीटी च्याम्पियनसिप, सन् २०१० र २०१४ को एसियाली खेलकुद तथा सन् २०१२, २०१४ र २०१७ को विश्व च्याम्पियनसिपको सहभागिताले गोथेलाई सर्वाधिक अनुभवी खेलाडी बनाएको छ ।

सरकारी बेवास्ताले खस्किएको नेपाली टीटी

विश्व टेवलटेनिसमा एसियालाई मुख्य हवका रुपमा मानिन्छ । विश्व स्तरमा चीन, दक्षिण कोरिया, सिंगापुर, मलेसियालगायत देशका खेलाडीको दवदवा रहन्छ । अवसर र लगानी पाउने हो भने नेपाली खेलाडी पनि विश्वस्तरमा पुग्नसक्ने विश्वास गोथेको छ ।

‘तेस्रो दक्षिण एसियाली खेलकुददेखि टीटी खेल समावेश गरिएको हो । पाचौं संस्करणमा नेपालको महिला टिम भारतलाई हराएर स्वर्ण जित्ने सामथ्र्य राख्थ्यो,’ पाँचपल्ट दक्षिण एसियाली खेलकुद खेलेका गोथे भन्छन्, ‘बीचको समयमा टीटीको प्राथमिकता हट्यो । हामी पदकविहीन हुने स्थितिमा पुग्यौं । पछिल्लो समयमा हामीले राम्रो हुँदैछ । १३औं सागको रजत लगानी र तयारी पर्याप्त हुने हो भने सम्भव छ भन्ने उदाहरण हो ।’

सीमित लगानीकै करण नेपाली खेलकुदले अपेक्षाकृत विकास गर्न नसकेको आरोप लाग्दै आएको छ । खेलक्षेत्रका व्यक्ति यसलाई स्वीकार्छन् । ‘राष्ट्रिय खेलाडी आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न आफैं लगानी गरेर जानुपर्ने बाध्यता छ । प्रतियोगितालक्षित प्रशिक्षण गर्ने तर, ठूलो उपलब्धीको आशा गर्ने परिपाटी छ,’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका महासचिवसमेत रहेका गोथे भन्छन्, ‘नेपाल टीटी संघ र राखेपले यसबारे बेलैमा ध्यान नदिने हो भने हामीले पाएको उपलब्धी पनि जोगाउन सक्दैनौं ।’

राष्ट्रिय अन्तर्राष्ट्रिय एक्स्पोजरको अभाव र नियमित प्रशिक्षण नहुँदा खेलाडी पलायनको समस्या बढेको छ । अन्य खेलमा जस्तै टीटीमा पनि त्यो समस्या छ । हालैमात्र नेपाल नम्बर एक स्यान्टू श्रेष्ठ नेपालमा भविष्य नदेखेको भन्दै विदेश हानिए । यद्यपी उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नेपाल आउने बताएका छन् ।

खेलाडी पलायनको विषयमा गोथेको फरक मत छ । उनी आफ्नो जीवनस्तर र करिअरको विकासका लागि खेलाडी विदेश जानु नेपाली खेलकुदकै लागि सकारात्मक रहने मान्छन् । आफ्नो सक्रिय जीवनपछि राज्यबाट हुने सम्मान नपाउँदा विदेश जानुपर्ने बाध्यतासँग उनी चिन्तित छन् ।

‘मेरो अनुभवमा नेपालमा खेलेरै बाँच्न नसकिने स्थिति छैन । तर, राष्ट्रियस्तरका खेलाडीले पाउनुपर्ने सुविधा पर्याप्त छैन,’ उनले थपे, ‘तर, खेलाडी स्वयम् आफ्नो स्तर बढाउन विदेश जान्छन् भने भविश्यमा नेपालकै लागि फाइदाको पक्ष हो ।’

पछिल्लो समय नेपाली टीटीमा स्तरीय खेलाडीको संख्या बढेकोमा गोथेलाई खुसी लागेको छ । आफ्नो समयमा चार पाँचजना सीमित खेलाडीको स्तर अन्यको भन्दा धेरै माथि रहँदा प्रतिस्पर्धा कमजोर हुने अनुभव सुनाउँदै उनले थपे, ‘अहिले नयाँ पुस्ताका निकै उत्कृष्ट खेलाडीको आगमन हुनु निकै सकारात्मक पक्ष हो । अहिलेको समयमा शीर्ष २० जना खेलाडीको स्तर समानजस्तै छ । प्रतिस्पर्धा धेरै हुनु अन्तर्राष्ट्रिय सहभागिताका लागि पनि राम्रो हो ।’

गोथेले करिअर सुरु गर्दाको समयमा विद्यालय र कलेजस्तरीय प्रतियोगिता अत्यघिक हुने गरेको थियो । उनी आफैं पनि भक्तपुरको बासु मावि र मिनभवन क्याम्पसको प्रतिनिधित्व गरी स्कुल र कलेजको राष्ट्रब्यापी प्रतियोगिता खेलेका छन् । यसलाई टीटीको ग्रासरुट मानेका उनले अहिले त्यो माहोल नभएकोमा चिन्ता व्यक्त गरे ।

‘टीटीबाट टाढा हुनेबारे सोच्न सक्दिन’

सन् २०१९ को १३औं सागयता गोथेले कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छैनन् । एपीएफका लागि नवौं राष्ट्रिय खेलकुदमा सहभागी उनले घरेलु खेलकुदमा आफ्नो यो अन्तिम राष्ट्रिय च्याम्पियनसिप भएको बताएका छन् ।

टीटीका लेभल टू प्रशिक्षण कोर्ष पूरा गरेका गोथेलाई भविष्यमा प्राविधिक वा प्रशासनिक नेतृत्वमा रहेर काम गर्ने चाहना छ । उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका महासचिव र भक्तपुर जिल्ला टीटी संघका उपाध्यक्ष हुन् ।

‘मैले अहिले नै यही गर्नेबारे सोचेको छैन । तर, टीटीबाट टाढा हुन सक्दिन । भविष्यमा कुनै न कुनै भूमिकामा टीटीकै विकासमा योगदान गर्नेछु,’ उनले भने, ‘म आत्मसन्तुष्टिका लागि खेलकुदमा लागेको हुँ । यति लामो करिअरमा जीवनसँग कुनै गुनासो गर्न नपरेकोमा आनन्द लाग्छ ।’

राखेपले प्रशिक्षकलगायत प्राविधिकतर्फ दरबन्दी थप्नेबारे लामो समयदेखि निर्णय गर्न नसकेकोमा गोथेको गुनासो छ । २०६१ सालदेखि राखेपमा नयाँ नियुक्ति छैन । हालै राखेपको बोर्ड बैठकले प्रदेश र स्थानीय तहसँग समन्वयन गरी दरबन्दी निर्धारण र नयाँ नियुक्तिको प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो ।

‘प्राविधिक जनशक्ति भनेको समयक्रमअनुसार परिवर्तन भइरहनुपर्छ अहिले राखेपमा आधा जनशक्ति घटिसकेका छन् । नयाँ र क्षमतावान अनुहारलाई प्रतिस्पर्धामा सहभागी गराएर नियुक्त गर्दा खेलस्तर सुधार हुनेछ,’ उनले थपे ।

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?