+
+

पोखरामा व्यवसायीले हटाएनन् अन्डरग्राउन्ड पसल, मेयर भन्छन् : तिहारलगत्तै एक्सन

विकास रोकामगर विकास रोकामगर
२०७९ कात्तिक १ गते १९:३०

१ कात्तिक, पोखरा । पोखरा महानगरले भदौ १३ गते ३५ दिने म्याद दिँदै एक सूचना जारी गर्‍यो, ‘व्यावसायिक रुपमा प्रयोग भएका अन्डरग्राउन्डलाई प्रयोजनअनुरुप नै पार्किङका लागि प्रयोग गर्नू, नत्र कानुनबमोजिम हटाइनेछ ।’

महानगरले त्यतिबेला सूचना जारी गरेको थियो, जतिबेला काठमाडौं महानगरका मेयर बालेन्द्र साहले प्रयोजन विपरीत प्रयोग भएका अन्डरग्राउन्डका संरचनामा धमाधम डोजर चलाइरहेका थिए । पोखराको सूचनापछि धेरैले प्रसंशा पनि गरेका थिए ।

तर, समय सकिएको करिब एक महिना बित्न लाग्दासमेत एकाधबाहेक कुनै पनि व्यापारीले अन्डर ग्राउन्डमा बनाएका आफ्ना व्यावसायिक संरचना हटाएका छैनन् । महानगरले असोज १२ गते सिर्जना चोकमा एक औपचारिक कार्यक्रम गर्दै भूमिगत पार्किङ सुरु गरिएको उद्घोष पनि गर्‍यो ।

महामनगरकै स्वामित्वमा रहेको भवनको भूमिगत तलालाई पार्किङ प्रयोगका लागि खुला गर्दै पोखराभरि अन्डरग्राउन्ड पार्किङ खुला गरिएको बताएका थिए । ‘महानगरले दिएको समयसीमा सकिनै लागेको छ । यो सांकेतिक सुरुआतमात्रै हो । जसजसले पनि अन्डरग्राउन्डलाई प्रयोजन विपरीत प्रयोग गर्नुभएको छ, सबैले हटाइदिनुहोला,’ उनले भनेका थिए ।

तर, महानगरले अन्डरग्राउन्ड पार्किङ सुरु गरेको लामो समय बितिसक्दासमेत न त व्यापारीले हटाएका छन्, न त घरधनीले नै कुनै ताकेता । महानगरले आफ्नो सूचना सकिएको १० दिनपछि गत शुक्रबार अन्डरग्राउन्ड भवनका व्यावसायिक संरचनाको अनुगमन पनि गरेको थियो ।

अनुगमनमा पुगेका कर्मचारी तथा नगर प्रहरीले तिहारअघिसम्म आफ्नो संरचना खाली गरेर महानगरलाई सहयोग गर्न आग्रहसमेत गरेका थिए । उनीहरुले अटेर गरे डोजर लगाएरै संरचना हटाइने र त्यसको खर्चसमेत व्यवसायीबाटै असुलउपर गरिनेसमेत चेतावनी दिएका थिए ।

पोखरामा २ सय ५० भन्दा बढी भवन अन्डरग्राउन्ड सहितका छन् । तर, त्यसमध्ये मुस्किलले ६० वटा भवनलेमात्रै प्रयोजनअनुरुप अन्डरग्राउन्डलाई पार्किङका रुपमा प्रयोग गरेको महानगरले जनाएको छ । व्यावसायिक अन्डरग्राउन्डमा दोहोरी साँझदेखि मोटरसाइकल वर्कसपसम्म सञ्चालनमा छन् ।

भवन आचारसंहिताले पनि भवनको भूमिगत तलालाई पार्किङ प्रयोजनकै लागि प्रयोग गर्नुपर्ने उल्लेख गरेको छ ।

पोखरा महानगरले पनि अन्डरग्राउन्डलाई पार्किङ प्रयोजनकै लागि प्रयोग गर्न राजस्व छुटको समेत व्यवस्था गरेको छ । तर, घरधनीले भने महानगरदेखि अन्डरग्राउन्डको राजस्व छुट लिएर प्रयोजन विपरीत व्यापारका लागि भाडामा दिएका छन् ।

‘चाडपर्वले लचिलो बन्यौं, अटेर गरे कठोर बन्छौं’

मेयर धनराज आचार्यले चाडपर्वका कारण महानगर लचिलो बन्नुपरेको तर, सधैंभरि एउटै बहानाले छुट नपाइने बताएका छन् । उनले तिहारअघिसम्म संरचना नहटाए महानगर ‘एक्सन’मा जाने चेतावनीसमेत दिएका छन् ।

‘चाडबाडको बेला भएका कारण केही लचिलो बन्नु परेको हो, म्याद सकिएको भए पनि साथीहरूलाई नयाँ ठाउँ खोजेर सर्नलाई व्यावहारिक रूपमा पनि कठिन होला भन्ने कुरामा हामी सकारात्मक थियौं,’ मेयर आचार्यले भने, ‘तर, सधैंभरि यसो भनेर बस्ने छुट छैन, तिहार लगत्तै हामीले एक्सनमा जानु पर्ने हुन्छ ।’

धनराज आचार्य ।

पोखरामा दिनानुदिन पार्किङको समस्या बढ्दै गएकाले भूमिगत तलालाई पार्किङ प्रयोजनकै लागि प्रयोग गर्नुको विकल्प नरहेको मेयर आचार्यको भनाइ छ । ‘अब कुनै पनि हालतमा महानगरले ती स्थानहरू खाली गरेर पार्किङका लागि उपयोग गरिनेछ,’ उनले भने, ‘महानगरको प्रहरीसहित यातायात तथा पार्किङ हेर्ने साथीहरूलाई फिल्डमा पठाइएको छ ।’

सूचनालाई व्यवसायीले अटेर गरे महानगर कानुनअनुसार अघि बढ्ने र त्यसमा लाग्ने खर्चसमेत घरधनी वा व्यवसायीबाटै असुलिने महानगरले चेतावनी समेत दिएको छ । सर्ने मनसाय भएकालाई भने अझै केही दिन पर्खिने महानगरको भनाइ छ ।

‘सर्ने मनसाय भएकालाई १–२ दिन पर्खिने त बेग्लै कुरा हो । तर, कतिपयले अटेर गरे बलपूर्वक ती स्थानहरू खाली गरिन्छन्,’ मेयर आचार्यले भने, ‘महानगर अव यो निर्णयबाट पछाडि फर्कन भन्ने हँुदैन ।’

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?