+
+

सुर्खेत–१ : पूर्णबहादुरलाई फेरि ध्रुव शाहीको चुनौती

यज्ञ खत्री यज्ञ खत्री
२०७९ कात्तिक २ गते १९:४५

२ कात्तिक, सुर्खेत । कर्णालीबाट राष्ट्रिय राजनीतिमा बलियो प्रभाव पार्न सक्ने नेता हुन् पूर्णबहादुर खड्का । २०३२ सालमा नेपाली कांग्रेसबाट राजनीति थालेका खड्का पार्टीमा केन्द्रीय सदस्य, सहमहामन्त्री, महामन्त्री हुँदै उपसभापति भइसके भने सरकारमा गएर आधा दर्जन बढी मन्त्रालय सम्हालिसके ।

७ वर्ष पहिले अब मन्त्री नबन्ने घोषणा गरेका खड्का प्रधानमन्त्री बन्ने महत्वाकांक्षा राखेका छन् । ‘अहिलेसम्म मैले समन्वयकारी भूमिका खेलें, अबको भूमिका हस्ताक्षेपकारी हुनेछ,’ सोमबार वीरेन्द्रनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै खड्काले भने, ‘मन्त्री बन्दिनँ, प्रधानमन्त्री भाग्य र भगवान भरोसा छ ।’

प्रधानमन्त्रीतिर आँखा लगाएका खड्काले सुर्खेत क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । यो क्षेत्रबाट यसअघि ५ वटा चुनाव जितेका खड्काको सातौं पटक प्रतिस्पर्धा हो ।

२०४८ सालदेखि (२०६४ बाहेक) चुनाव लड्दै आएका खड्कालाई २०७४ को चुनावमा वाम गठबन्धनको समर्थन पाएका एमालेका उम्मेदवार ध्रुवकुमार शाहीले झण्डै ३ हजार मतान्तरले पराजित गरेका थिए । पहिलो पटक संसदीय निर्वाचनमा होमिएका शाहीले ३६ हजार ७५९ मत ल्याएर विजयी हुँदा खड्काले ३३ हजार ३७७ मत प्राप्त गरेका थिए ।

०४८, ०५१, ०५६ मा चुनाव जितेका खड्का ०६४ को पहिलो संविधानसभा चुनावमा समानुपातिकमा बसेका थिए । ०७० मा चुनाव लडे र जिते पनि । उनका हरेक चुनावमा एमाले उम्मेदवारसँग प्रतिस्पर्धा हुने गरेको छ ।

यो पटक उनका लागि केही सहज हुने ठानिएको छ । अघिल्लो पटक शाहीलाई सघाएको माओवादी केन्द्र यसपटक खड्काको साथमा छ ।

को कति बलियो ?

पूर्वी सुर्खेतका ५ पालिका सहित वीरेन्द्रनगरका २ वटा वडा रहेको सुर्खेत–१, मा गत ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा कांग्रेसले २ र एमालेले ३ पालिका जितेका छन् । उक्त क्षेत्रमा पर्ने वीरेन्द्रनगरका दुईवटा वडामध्ये एउटामा एमालेले र अर्कोमा कांग्रेसले जितेको छ ।

सुर्खेतमा तीन दशकदेखि कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुँदै आएको छ । र, दुवै दलको अवस्था उस्तै देखिन्छ ।

वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतको आधारमा हेर्दा पनि सत्तारुढ गठबन्धन अगाडि छ । गठबन्धनसँग करिब ४० हजार मत छ । एमालेसँग झण्डै ३४ हजार मत छ । कांग्रेस उम्मेदवार खडकालाई चुनाव जित्न गठबन्धनको मत जोगाउन सके पुग्छ । शाहीलाई आफ्नो दल एमालेको भोट जोगाएर मात्र पुग्दैन, अन्य मतदाताको पनि मत जित्नुपर्छ ।

अघिल्लो निर्वाचनमा खड्का र हृदयराम थानीबीच बढेको द्वन्द्वलाई पनि पराजयको कारण मानिएको थियो ।

यो पटक प्रतिनिधिसभातर्फ सुर्खेत–१ मा खड्का र सुर्खेत–२ मा थानी उम्मेदवार बनेका छन् र आन्तरिक विवाद कम छ । ‘यसअघिको चुनाव पनि पार्टीभित्रकै समस्याले हार व्यहोर्नु परेको हो,’ कांग्रेस सुर्खेतका सभापति खड्ग पोखरेल भन्छन्, ‘यो पटक एकतिर गठबन्धन छ, अर्को तिर पार्टीभित्रको समस्या पनि सुल्झिएको छ । व्यक्तित्वले पनि प्रभाव पार्छ । उपसभापति ज्यूको जित सुनिश्चित छ ।’

एमाले उम्मेदवार शाही भने पालिकाको नेतृत्वमा एमालेको वर्चश्व रहेको र पछिल्लो पाँच वर्षमा सांसदको रुपमा आफूले खेलेको भूमिकाका कारण चुनाव जित्नेमा आफू ढुक्क रहेको बताउँछन् । ‘खड्काजीलाई सुर्खेतीले धेरै पटक अवसर दिए, धेरै पटक मन्त्री पनि बन्नुभयो । तर जनताका समस्या ज्युँकात्युँ छन्,’ शाही भन्छन्, ‘चुनावका बेला भोट माग्न गाउँ पस्नु हुन्छ, नत्र काठमाडौं छाड्नु हुन्न । उहाँका आश्वासनदेखि जनता पनि आजित भइसकेका छन् ।’

यस्तो छ अंक गणित

सुर्खेतमा तीन दशकदेखि कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुँदै आएको छ । र, दुवै दलको अवस्था उस्तै देखिन्छ ।

२०४८ को आम निर्वाचनमा २ वटै निर्वाचन क्षेत्रमा कांग्रेस विजयी भएको थियो । क्षेत्र नं.–१ बाट पूर्णबहादुर खड्का र २ बाट शिवराज जोशी विजयी भए । ०४९ को स्थानीय निर्वाचनमा पनि जिल्लामा कांग्रेस नै पहिलो भएको थियो ।

०५१ को मध्यावधि निर्वाचनमा सुर्खेतमा ३ वटा निर्वाचन क्षेत्र कायम भए । त्यतिबेला क्षेत्र नम्बर १ मा कांग्रेसबका पूर्णबहादुर खड्का र ३ बाट शिवराज जोशी विजयी भए । क्षेत्र नं. २ बाट भने एमाले नेता यामलाल कँडेल विजयी भएका थिए । ०५४ को स्थानीय निर्वाचनमा कांग्रेस खुम्चियो । जिल्लामा एमाले पहिलो बन्यो ।

०५६ को संसदीय चुनावमा कांग्रेसले पुनः वर्चश्व जमायो । जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेद्वार विजयी भए । क्षेत्र नम्बर १ मा पूर्णबहादुर खड्का, २ बाट हृदयराम थानी र ३ बाट शिवराज जोशीले चुनाव जिते ।

०६४ मा पहिलो संविधानसभा निर्वाचनमा भने सुर्खेतमा कांग्रेस नराम्रोसँग पराजित भयो । क्षेत्र नं.–१ मा एमालेका कमला शर्मा र २ मा यामलाल कँडेल विजयी भए । ३ मा भने माओवादी केन्द्रका नरबहादुर विष्ट विजयी भए ।

०७० को निर्वाचनमा जिल्लाका ३ वटै क्षेत्रमा कांग्रेसले जित हासिल गर्‍यो । संघीयता पछिको पहिलो स्थानीय निर्वाचनमा जिल्लाका ९ मध्य ६ पालिकाको नेतृत्वमा कांग्रेस विजयी हुँदा एमालेले तीन वटा पालिकाको नेतृत्व पायो । गत वैशाख ३० को स्थानीय निर्वाचनमा भने कांग्रेस र एमालेले ४/४ वटा पालिकाको नेतृत्व पाउँदा एउटा पालिकाको नेतृत्व भने माओवादीले पाएको छ ।

सुर्खेत १ मा सिम्ता र चिङ्गड गाउँपालिका, भेरीगंगा, लेकवेशी, गुर्भाकोट र वीरेन्द्रनगर नगरपालिकाका १५ र १६ नम्बर वडाहरु पर्दछन् । ३० वैशाखको स्थानीय तहको चुनाव अनुसार लेकवेशी र गुर्भाकोट नगरपालिका कांग्रेसले जितेको छ । भेरीगंगा, चिङ्गड र सिम्ता गाउँपालिका नेकपा एमालेले जितेको छ ।

सुर्खेत क्षेत्र नं. १ मा पर्ने वीरेन्द्रनगर नगरपालिकाका दुईवटा वडा मध्य वडा नम्बर १५ मा नेपाली कांग्रेस र १६ मा नेकपा एमालेले जितेको छ । स्थानीय निर्वाचनमा वडाध्यक्ष उम्मेदवारहरुले पाएको मतका आधारमा यो क्षेत्रमा कांग्रेस र एमालेवीच २ हजार हाराहारीको मत अन्तर देखिन्छ । तर सत्ता गठबन्धन दलको मत जोड्दा ४० हजार मत हुन आउँछ ।

कांग्रेसका उम्मेदवारहरुले ३५ हजार ८५६ मत पाउँदा एमालेले ३३ हजार ९०५ मत पाएको छ । माओवादीका उम्मेदवारहरुले ५ हजार ५ मत पाएका छन् । स्वतन्त्र उम्मेदवारहरुले १ हजार २७९ मत पाएका छन् ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?