+
+

एक महिनामा ४० अर्ब थपियो निक्षेप, लगानी भने घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २ गते २०:०३

२ कात्तिक, काठमाडौं । निक्षेप बढ्दा र कर्जा लगानी संकुचित हुँदा बैंकिङ प्रणाली सहज अवस्थातर्फ उन्मुख भएको छ ।

नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोख्रेलका अनुसार ३० असोजमा बैंकहरूको कुल निक्षेप ५१ खर्ब २९ अर्ब पुगेको छ । ३१ भदौ २०७९ मा कुल निक्षेप ५० खर्ब ८९ अर्ब रहेको थियो ।

एक महिनाको अवधिको बैकिङ प्रणालीमा ४० अर्ब रुपैयाँ निक्षेप थपिएको छ । जबकी सोही अवधिमा कर्जा भने १ अर्बले घटेको छ । ३१ भदौ २०८९ मा ४७ खर्ब २३ अर्ब रहेको कर्जा लगानी ३० असोजमा ४७ खर्ब २२ अर्बमा झरेको राष्ट्र बैंकका सहप्रवक्ता पोख्रेल बताउँछन् ।

निक्षेपमा वृद्धि र कर्जा लगानीमा गिरावट हुँदा साढे ८७ प्रतिशत भन्दा माथि रहेको सीडी रेसियो (कर्जा–स्रोत परिचालन अनुपात) एक महिनामा ८७ प्रतिशत भन्दा तल झरेको छ ।

वाणिज्य बैंकहरुको मात्र अध्ययन गर्दा एक महिना अवधिमा कर्जा लगानी ८ अर्बले घटेको देखिन्छ । ३१ भदौमा ४१ खर्ब ९० अर्ब रहेको कर्जा लगानी ३० असोजमा घटेर ४१ खर्ब ८२ अर्बमा झरेको छ ।

वाणिज्य बैंकहरुको कुल निक्षेप ३१ भदौमा ४४ खर्ब ८६ अर्ब रहेकोमा ३० असोजमा आउँदा ३२ अर्बले बढेर ४५ खर्ब १८ अर्ब पुगेको छ ।

असोजमा बैंकहरुले कर्जा असुलीलाई प्राथमिकतामा राख्ने र कर्जा लगानी अत्यवश्यक बाहेक पूर्ण रुपमा रोकिंदा कर्जा लगानी संकुचित भएको बैंकर्स संघका कार्यकारी सदस्य समेत रहेका माछापुच्छे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला बताउँछन् ।

निक्षेपमा वृद्धि र कर्जा लगानी संकुचित गर्दा सीडी रेसियो घटेको र केही सहज अवस्था बनेको उनले बताए । बैंकिङ क्षेत्र सुधारतिर गएको हो कि जस्तो देखिएको उनले बताए । निक्षेप बढिरहेको तर कर्जाको भने नबढ्दा बैंकिङ क्षेत्रको अवस्था सहज बन्दै गएको उनले बताए ।

‘बैंकहरुले कर्जा नियन्त्रण गरे । दशैं–तिहारले निक्षेपको ग्रोथ भयो भने रेमिट्यान्स पनि बढेको छ । अहिलेकै जस्तो बैंकहरुले कर्जा नियन्त्रण गरेको खण्डमा सुधार हुन्छ भन्ने लाग्छ,’ उनले भने, ‘सरकारले आयात पनि मंसिर अन्तिमसम्म नियन्त्रण नै गरेको छ । अवस्था सुधाउत्मुख देखिन्छ ।’

५१ खर्ब निक्षेप रहेको बैंकिङ प्रणालीको सीडी रेसियो ८७ प्रतिशत भन्दा तल भरेको छ । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई ९० प्रतिशत सीडी रेसियो कायम गर्नुपर्ने व्यवस्था गरेको छ । यसलाई आधार मान्दा बैंकहरुको औसत सीडी रेसियो ३ प्रतिशतसम्म बढ्दा पनि समस्या नहुने देखिन्छ । ५१ खर्बको ३ प्रतिशत भनेको १ खर्ब ५३ अर्बसम्म कर्जा लगानी गर्नेसक्ने क्षमता हुँदा समेत बैंकहरु कर्जा लगानी नगरी रोकेर बसेका छन् ।

आगामी दिनमा थपिन सक्ने चुनौतीलाई मूल्यांकन गरेर कर्जा लगानी नगरी बसेको बैंकर कोइराला बताउँछन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षबाट पुनर्कर्जा कोषमा रहेको सीमासम्म मात्रै पुनर्कर्जा दिने बताइसकेको छ । यस अनुसार अबको केही महिनाभित्रै करिब ४५ अर्बको सीमाभित्र पुनर्कर्जा ल्याउनुपर्ने हुन्छ । नेपाल राष्ट्र बैंकका सहप्रवक्ता पोख्रेल हाल १ खर्ब ५ अर्ब पुनर्कर्जा लगानीमा रहेको बताउँछन् ।

यस्तै बैंकहरुले हाल स्थानीय तहको सञ्चित कोषमा रहेको रकमको ८० प्रतिशत निक्षेप गणना गर्दै आएका छन् । आगामी पुस मसान्तपछि ५० प्रतिशत मात्रै निक्षेप गणना गर्न पाइने हुँदा बैंकहरुले त्यसलाई पनि व्यवस्थापन गरेर अगाडि जानुपर्ने हुन्छ । अर्कोतर्फ आगामी असार मसान्तदेखि बैंकहरुले हाल निक्षेपमा गणना गर्दै आएको एक खर्ब भन्दा बढीको ऋणपत्र पनि पूँजीकोष प्रयोजन र स्रोत परिचालन कुनमा गणना गर्ने वर्गीकरण गर्नुपर्ने हुन्छ । पूँजीकोष प्रयोजनमा वर्गीकरण गरेको ऋणपत्र निक्षेपमा गणना गर्न नपाइने हुन्छ ।

यी सबैलाई व्यवस्थापन गर्नुपर्ने र निक्षेपमा पनि तीव्र उतारचढाव भइरहँदा त्यसलाई ध्यानमा राखेर बैंकहरुले क्षमता भएपनि कर्जा लगानी नगरेको कोइरालाले बताए ।

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता पोख्रेल पनि तरलता बढ्दै गएको, राष्ट्र बैंकसँग लिएको सापटी घट्दै गएको र सीडी रेसियो केही तल झरेको र केही सहज अवस्था आउला भन्ने देखिएको बताउँछन् ।

२ कात्तिकमा तरलता व्यवस्थापनका लागि लिएको सापटी बक्यौता ९५ अर्ब ८६ करोड ९३ लाख पुगेको राष्ट्र बैंकले जनाएको छ । यसअघि यस्तो बक्यौता रकम २ खर्बसम्म पनि पुग्ने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?