+
+

धनगढी उपमहानगरले १२२ ज्येष्ठ नागरिकलाई पठायो मुक्तिनाथ भ्रमणमा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३ गते १६:५०

३ कात्तिक, धनगढी । धनगढी उपमहानगरपालिकाले १२२ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्राका लागि मुस्ताङको मुक्तिनाथ पठाएको छ । नगरका सबै १९ वटै वडाबाट छानिएका एक सय २२ जना ज्येष्ठ नागरिकलाई मुक्तिनाथमा तीर्थ गर्न पठाइएको उपमहानगरपालिका कार्यालयले जनाएको छ ।

उनीहरुलाई नगर प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकला राना र वडाध्यक्षहरुले संयुक्त रुपमा बिहीबार दिउँसो धनगढीबाट खादा र टीकासहित बिदाइ गरेका छन् । नगर प्रमुख हमालले ज्येष्ठ नागरिकको सम्मानका लागि वार्षिक स्वीकृत कार्यक्रमअनुसार तीर्थयात्रामा पठाएको जानकारी दिए ।

‘हामीले नगरको वार्षिक नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमणमा लैजाने कार्यक्रम राखेका थियौं । सोहीअनुसार आज हामीले उहाँहरुलाई मुक्तिनाथ पठाएका छौँ,’ हमालले भने, ‘अबको आउने पुस्ताले ज्येष्ठ नागरिकलाई माया र सम्मान गर्नुपर्छ भन्ने धारणा पैदा होस् । यहाँका ज्येष्ठ नागरिकप्रती सम्मान गर्नलाई यो कार्यक्रम गरेका हौँ ।’

नगर प्रमुख हमालका अनुसार प्रत्येक वडाबाट कम्तीमा पाँच जनाका दरले ज्येष्ठ नागरिक छनोट गरिएको छ भने समाजमा विशिष्टकृत योगदान गरेका तर ज्येष्ठ नागरिकको परिभाषाभित्र पर्ने व्यक्तिहरुलाई पनि भ्रमणमा समेटिएको छ ।

उपमहानगरपालिकामा सेवा गरी चालु आर्थिक वर्षभित्र अवकाश प्राप्त गर्ने कर्मचारीहरु पनि भ्रमणमा गएका छन् । भ्रमणको व्यवस्थापनको काम लक्ष्मीनारायण मन्दिरले गर्नेछ भने सहजीकरणका लागि उपमहानगरपालिकाको स्वास्थ्य शाखा र सामाजिक विकास शाखाका कर्मचारीलाई पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?