१३ असार, तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले सञ्चालन गरेको ज्येष्ठ नागरिक लक्षित घरदैलो स्वास्थ्य सेवा अभियान अन्तर्गत ७६८ जना ज्येष्ठ नागरिकले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
गाउँपालिकाले सञ्चालन गरेको ‘ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य उपचार तथा गाउँपालिका साथी–लौरो उपहार कार्यक्रम’ अन्तर्गत गाउँ–गाउँमा पुगेर स्वास्थ्य परीक्षण, औषधि वितरण तथा लौरो उपहार प्रदान गरिएको हो ।
गाउँपालिकाका अनुसार ९ वटा स्वास्थ्यकर्मीको टोली परिचालन गरी ज्येष्ठ नागरिकको घरघरमा पुगेर सेवा प्रदान गरिएको छ। स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा स्वयंसेवक सम्मिलित टोलीले जेष्ठ नागरिकको स्वास्थ्य अवस्था परीक्षण गर्नुका साथै आवश्यक परामर्श र औषधिसमेत उपलब्ध गराएको छ ।
दुर्गम बस्तीका धेरै ज्येष्ठ नागरिक आर्थिक रूपमा विपन्न हुनु, स्वास्थ्य संस्थासम्म पुग्न लामो दूरी तय गर्नुपर्ने बाध्यता रहनु तथा सहज यातायातको अभावका कारण नियमित स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएका छन् । यिनै समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने अभियान सञ्चालन गरेको हो ।

गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए । उनका अनुसार गाउँपालिकाले नि:शुल्क एम्बुलेन्स सेवासहित ज्येष्ठ नागरिक लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
स्वास्थ्य शाखा प्रमुख गिरीराज खड्काले गाउँपालिकाभित्र रहेका ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिएको जानकारी दिए । अध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य तथा स्वास्थ्यकर्मीहरूको सहभागितामा अभियान सञ्चालन गरिएको उनले बताए ।
कार्यक्रमबाट लाभान्वित छथर गाउँपालिका–२ का ज्येष्ठ नागरिक भक्तबहादुर लिम्बूले घरमै स्वास्थ्य सेवा प्राप्त गर्दा निकै सहज भएको बताए । गाउँपालिकाले सञ्चालन गरेको कार्यक्रमले वृद्धवृद्धालाई ठूलो राहत पुगेको लिम्बुको भनाइ छ ।
असार ६ गतेदेखि सुरु भएको अभियान असार १२ गते सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । अभियानमार्फत गाउँपालिकाभित्रका ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था परीक्षण, आवश्यक औषधि वितरण तथा सम्मानस्वरूप लौरो उपहार प्रदान गरिएको थियो ।

प्रतिक्रिया 4