+
+
पुस्तक समीक्षा :

१०१ कालजयी कविता : हरेक युगको आवाज

गोविन्द गिरी प्रेरणा गोविन्द गिरी प्रेरणा
२०७९ कात्तिक ६ गते १७:५७

साहित्यको जेठो र अत्यन्त लोकप्रिय विधा हो कविता । संसारमा सबैभन्दा बढी लेखिने र पढिने विधा पनि कविता नै हो । सबैभन्दा बढी वाचन गरिने विधा पनि कविता नै हो । आमरुपमा जीवन र जगतप्रतिको, प्रेम र प्रकृतिको विषयमा मानिसले आफ्नो गुम्फन पोख्ने विधा पनि कविता हो ।

तर ती कविता भनिएका अभिव्यक्ति कति साँच्चैका कविता हुन् त ? कति कविता दीर्घजीवी होलान् ? कति कालजयी होलान् त ? यो भने निकै विचारणीय छ ।

सन्दर्भ हो हालै युवाकवि कृसु क्षेत्रीको सम्पादनमा प्रकाशित ‘कालजयी नेपाली कविता’को । बीपी कोइराला नेपाल-भारत फाउण्डेसनको सौजन्यमा प्रकाशित यस ग्रन्थमा सुवानन्ददासदेखि कवि एवं सम्पादक क्षेत्रीसहितका १०१ नेपाली कविता संकलित छन् ।

यस प्रकारको संकलनको एउटा कालखण्डको रचना, रचनाधर्मिता र ती रचनामा अभिव्यक्त युगको आवाज घन्किएको हुन्छ । समयको हुरी समेटिएको हुन्छ । विसंगतिका बग्रेल्ती बोझ छरपष्टिएको हुन्छ । जीवनको गीत गुन्जिएको हुन्छ ।

नेपाली साहित्यमा यस किसिमको संकलनको थालनी ईश्वर बरालको सम्पादनबाट सुरु भएको थियो । संस्थागत रुपमा साझा प्रकाशन, जगदम्बा प्रकाशन, नेपाल एकेडेमीले विभिन्न कालखण्डमा विभिन्न खण्डमा काव्य संकलनहरु प्रकाशित गरेका पाइन्छन् । अन्य संघसंस्थाले पनि यस्ता संकलन प्रकाशनमा रुचि लिएको देखिन्छ ।

तर पूर्वप्रकाशित तमाम संकलनभन्दा यो पृथक यसकारण छ कि यी कवितालाई ‘कालजयी’को उपमा दिइएको छ । नोबेल पुरस्कारप्राप्त कवि आक्टोवियो पाजले कविताको उमेर हुन्छ भनेका थिए । उमेर हुनुको तात्पर्य एक दिन मर्छ भन्नु पनि हो । नमर्नेको आयु हुँदैन ।

सान्दर्भिक कविताको आयु, समकालीन समस्याका कविता सामान्यत: कम आयुका हुन्छन् । कालजयी कविता हुनु भनेको लर्तरो कुरा होइन । हामीले हाम्रै जीवनकालमा भर्भराउँदो, झल्झलाकार भएका कविहरुलाई विस्मृतिको खाडलमा हराइसकेको देखेका छौं । त्यसैले कालजयी हुनु सहज छैन ।

सम्पादक क्षेत्रीले २६० वर्षको कालखण्डका कवितालाई एकै पुस्तकमा १०१ प्रतिनिधिका रुपमा प्रस्तुत गरेका छन् । उनको ब्रम्हले कालजयी ठहर्‍याएका १०१ कविता र कविहरु हुन् यी । यस्ता सम्पादन गरिएका कृतिमा सम्पादकको सोच, चिन्तन र प्रभाव ग्रहणशीलताले ठूलो भूमिका खेलेको हुन्छ । त्यसैले त विश्वका विभिन्न मुलुकका एकै कालखण्डका विभिन्न समकालीन कविताहरुको संकलन, सम्पादन र प्रकाशन गर्दा केही कवि दोहोरिने सबैजसोमा, तर केही कवि फरक संकलनमा फरक देखिने गरेका छन् । त्यसको कारण फरक सम्पादकको फरक दृष्टि र दृष्टिकोणले गर्दा नै । यो भएको मानवीय कारणले हो । अतः अरु कसैले यस्तो संकलन सम्पादन गरेको भए, निसन्देह यी १०१ कविमध्ये केही रहने थिएनन्, केही फरक देखिने थिए ।

आजको समयको ऐनामा यस पुस्तकमा संकलित सबैजसो कवितामा कालजयी गुण देखा पर्दछ । तर लामो समयको अन्तरालमा लेखिएका प्राचीनदेखि नवीन धारासम्मका कविता समेटिएको हुँदा यी १०१ कविता सबैले समयको उत्तिकै लामो कसीमा घोटिन नपाउनु अस्वाभाविक होइन ।

‘अलकापुरी कान्तिपुरी नगरी’ भन्ने बित्तिकै भानुभक्त आचार्यको नाम आउँछ । ‘जागजाग अब जाग न जाग’ भन्ने बित्तिकै धरणीधर कोइरालाको नाम आउँछ । ‘मेरो प्यारो ओखलढुङ्गा’ भन्ने बित्तिकै सिध्दिचरण श्रेष्ठको नाम आउँछ । ‘आमाको सपना’ले गोपालप्रसाद रिमालको नाम आउँछ । ‘छोरीलाई मानचित्र पढाउँदा’ भन्ने बित्तिकै विजय मल्लको नाम आउँछ । ‘फर्सीको जरा’ भन्ने बित्तिकै मोहन कोइरालाको नाम आउँछ ।

त्यसपछिका पुस्ताका शैलेन्द्र साकारको ‘सर्पहरु गीत सुन्दैनन्’, कृष्णभूषण बलको ‘काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन’ पनि कवि र कविता पर्याय हुन् ।

दृष्टान्तमा यी केही कविता र कविको नाम उल्लेख गरिएको हो । यस्ता कवि र कविता पर्याय भएका प्रशस्त उदाहरण छन्, सम्पूर्ण नभए पनि । यिनले नै यी कविताको उमेर र कालजयी हुनुको बोध गराउँछन् ।

यस प्रकारको संकलनको प्रमुख पक्ष भनेको सम्पादकीय भूमिका हो । त्यसबाट नै यसको महत्व खुट्याउन सकिन्छ । कतिपय संकलनलनहरु संकलनको आधार बेगरका, सम्पादकीय भूमिका बेगरका र सम्पादकीय भूमिका पनि समालोचनात्मक लेखजस्ता पनि देखिन्छन् । तर एउटा परिपक्व सम्पादनमा संकलित सबै श्रष्टालाई उत्तिकै महत्व दिइनुपर्छ । यस सन्दर्भमा धेरै नेपाली संकलनहरु चुकेका छन् ।

तर यस कृतिमा त्यो आमत्रुटि छैन । सबै कविका कविताको समानुपातिक रुपले विश्लेषण गरिएको छ । संकलनको सबैभन्दा सुन्दर र आवश्यक पक्ष यही हो । निकै मेहनत गरेर, संकलित सबै कवितालाई आत्मसात गरेर लेखिएको यो सम्पादकीय भूमिका नेपाली कविताको ऐतिहासिक पक्षलाई समेत समेटेर लेखिएकाले अझ महत्वपूर्ण बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?