+
+

कैलाली–२ : एमालेलाई छैन सजिलो

जनक विष्ट जनक विष्ट
२०७९ कात्तिक ७ गते ७:५०
नेकपा एमालेका झपड रावल, माओवादी केन्द्रका भगत बडुवाल र नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी ।

७ कात्तिक, धनगढी । नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई प्रतिनिधि सभाको टिकट दिएन । माधवकुमार नेपाल समूहले गरेको अन्तरसंघर्षमा साथ दिएका र वाम गठबन्धनको पक्षमा मत राख्ने अरुले पनि एमालेबाट टिकट पाएनन् । झपट रावल भने अपवादमा परे ।

एमालेले उनलाई कैलाली क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । सहजै टिकट पाए पनि चुनाव जित्न भने उनलाई सजिलो देखिएको छैन ।

कैलाली–२ मा झपट रावलसहित ९ जना उम्मेदवार छन् । मुख्य प्रतिस्पर्धा चाहिँ एमालेका रावल, सत्ता गठबन्धनका भगत बडुवाल र नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरीबीच हुने देखिन्छ ।

माओवादी केन्द्रका बडुवाल २०६४ सालको संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट भारी मतका साथ विजयी भएका थिए । माओवादी विभाजन हुँदा उनी मोहन वैद्यतिर लागे । त्यसपछि विप्लव समूहमा पुगेका उनी स्थानीय चुनाव अगाडि माओवादी केन्द्रमा फर्किएका थिए ।

चौधरीको दल नयाँ भए पनि उनी परिचित नै अनुहार हुन् । तत्कालीन फोरम लोकतान्त्रिक हुँदै कांग्रेसमा पुगेका उनी २०७४ को चुनावमा प्रदेशसभा सदस्यको उम्मेदवार थिए । कैलाली २ (२) मा उम्मेदवार बनेका उनले वाम गठबन्धनका साझा उम्मेदवार नन्दकुमार साउदलाई कडा टक्कर दिएका थिए । उनी ८४५ मतान्तरले दोस्रो भएका थिए । यो पटक उनी नागरिक उन्मुक्तिबाट प्रतिनिधिसभा सदस्यकै लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीले आफ्नी श्रीमतीको नेतृत्वमा गठन गरेको नागरिक उन्मुक्ति पार्टीको कैलालीमा राम्रै प्रभाव छ । एमालेका कैलाली अध्यक्ष रतनबहादुर थापा समेत पार्टी प्रवेश गरेर महासचिव बनेका छन् । थापा आफैं प्रदेशसभा सदस्यका लागि २(१) मा उम्मेदवार छन् ।

तीन जनाको जित्ने दाबी

यद्यपि तीनै जना उम्मेदवार आफू जित्ने दाबी गर्छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार माओवादीका बडुवाल गठबन्धनमा आवद्ध दलहरुसँगको मतभार जितको पहिलो आधार भएको बताउँछन् । भन्छन्, ‘जनताले प्रतिगामी निर्णय गर्ने विपक्षी र पहिचानको मुद्दा बोकेर मान्छेहरुलाई ब्ल्याकमेलिङ गर्नेहरुलाई पनि सबक सिकाउने पक्का छ ।’ एमाले र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारहरु दोस्रो बन्ने प्रतिस्पर्धामा रहेको उनको दाबी छ ।

तर बडुवालले दाबी गरेजस्तो सहजै नतिजा आउनेमा नेताहरु शंका गर्छन् । बडुवाल पछिल्ला वर्षहरु सक्रिय राजनीतिमा नहुनु, मतदातासँग सम्बन्ध टुट्नु र गठबन्धनका दलहरुमा देखिएको असन्तुष्टि उनका लागि चुनौती भएको एक नेताले बताए ।

एमाले उम्मेदवार रावल पनि आफूले नै चुनाव जित्ने दाबी गर्छन् । राजनीतिक दलका हिसाबले आफू मात्र एकल उम्मेदवार भएको भन्दै उनले भने, ‘हामी स्पष्ट धारण र मुद्दाका साथ चुनावमा गएका छौं, अरुहरुसँग मुद्दा छैन । कोही जात र समुदाय विशेषको आडमा आएका छन् भने कोही एक्लै चुनाव लड्न ल्याकत नभएपछि गठबन्धनको नाममा आएका छन् । सबैलाई यहाँका जनताले जवाफ दिनेछन् ।’

उनी निवर्तमान सांसद पनि हुन् । २०७० सालमा दोस्रो संविधानसभामा एमालेबाट जितेका मोहनसिंह राठौर २०७४ मा कांग्रेसतिर लागेपछि रावलले टिकट पाए र चुनाव पनि जिते । आफूले जनतासँग गरेका प्रतिबद्धता इमानदारीपूर्वक पूरा गर्न भूमिका खेलेको र संसदमा आवाज बुलन्द गरेकाले पनि मत पाउने उनको दाबी छ ।

३० वैशाखको स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतका आधारमा पनि यहाँ एमाले ठूलो दल पनि हो । तर सत्तारुढ दलहरुको गठबन्धनका कारण उनलाई सहज छैन ।

नागरिक उन्मुक्तिका अरुण चौधरी भने आफ्ना प्रतिस्पर्धी दुबै परीक्षण भइसकेकाले जनताले आफूलाई अवसर दिने बताउँछन् । ‘सँगै प्रतिस्पर्धामा रहेका दुवै जना नेताहरु टेष्टेड हुनुहुन्छ, चौधरीले अनलाइनखबरसँग भने, ‘अहिले मतदाताले परिवर्तन खोजेका छन् । त्यसको विकल्प म मात्रै हो । मलाई जनताले अनुमोदन गर्नेछन् ।’

चौधरी आफ्नो जित्ने मुख्य आधार आफूले गरेको काम सँगसँगै उत्पीडनमा पारिएको थारु र दलित समुदायको मत तथा पुराना दलसँगको वितृष्णा भएको सुनाउँछन् । ‘यो क्षेत्रमा करीब ३५ हजार थारु समुदायको मत छ । २६ हजार खसे पनि मैले २० हजार मत पाउँछु । यति मत पाएमा म चुनाव जित्छु,’ चौधरीले भने, ‘अझै दलित समुदायको मत पनि धेरै पाउँछु ।’

यस्तो छ, स्थानीय तहको मतभार

कैलाली क्षेत्र नम्बर २ मा बर्दगोरिया गाउँपालिका, लम्कीचुहा नगरपालिकाका साथै मोहन्याल गाउँपालिकाका ६ वडा र जानकी गाउँपालिकाका ४ वटा वडा पर्छन् । स्थानीय तहको नतिजालाई हेर्दा कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा एमाले सबभन्दा ठूलो दल हो । एमालेका वडाध्यक्ष उम्मेदवारहरुले पाएको मत १७ हजार ८८३ छ ।

कांग्रेसका वडाध्यक्षले पाएको मत १३ हजार १२१ छ । माओवादी केन्द्रले ७ हजार ९२० मत ल्याउँदा नागरिक उन्मुक्ति पार्टीले ५ हजार २४३ मत मात्रै पाएको देखिन्छ । यहाँ राप्रपाले २ हजार १५१, एकीकृत समाजवादीले २ हजार ०२१ र जसपाले ६०६ मत ल्याएको छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?