+
+

घोषणापत्र ल्याउन ढिलाइ गर्ने होडबाजी

पृष्ठभूमिमा जे जस्ता कारण दिइए पनि दलहरु अर्को दलले कस्तो घोषणापत्र ल्याउँछ र त्यसको चर्चा परिचर्चा कुन रुपमा हेरेर आफ्नो घोषणापत्रलाई परिपक्व बनाउने नीति लिएको देखिन्छ ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ कात्तिक ७ गते १८:४९

७ कात्तिक, काठमाडौं । आइतबार विहानसम्म नेपाली कांग्रेसले साँझ ५ बजे चुनावी घोषणापत्र सार्वजनिक गर्ने तय थियो । तर साँझमा एकाएक कार्यक्रम स्थगित गरेर सोमबार बिहान साढे १० बजेका लागि सार्‍यो । सोमबार विहान त उसले यो कार्यक्रम तिहारपछिका लागि सार्‍यो ।

नेकपा एमालेले पनि आइतबार वा सोमबार सार्वजनिक गर्ने बताइरहेको थियो । तर आइतबार साँझ भने नेताहरुले तिहारपछि मात्र घोषणापत्र ल्याउने सूचना सञ्चार माध्यमहरुलाई दिए ।

कांग्रेसले आइतबार नै घोषणापत्र सार्वजनिक गर्ने तयारी पूरा गरेको थियो । सत्तारुढ गठबन्धनको कार्यक्रमका लागि सुर्खेत पुगेका सभापति शेरबहादुर देउवा अनलाइन मध्यमबाट जोडिने, महामन्त्री विश्वप्रकाश शर्मा पनि झापाबाट अनलाइन माध्यमबाट जोडिने, घोषणापत्र लेखन समितिका सदस्यहरु सानेपा ललितपुरमा जम्मा भएर पत्रकारहरुसँग अन्तर्क्रिया गर्ने तयारी थियो । यो तयारी आइतबार पाँच बज्न केही मिनेट बाँकी रहँदा स्थगित गरेर सोमबार साढे १० बजे भनिएकामा सोमबारको सूचनाले झन् अनिश्चित बनाएको छ ।

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगित गरिएको जानकारी गराएका छन् । ‘एमालेले छठपछि ल्याउने भनेको छ । हामी अब ढिलोमा १२ गतेसम्म सार्वजनिक गर्छौं’ घोषणापत्र लेखन समिति सदस्य सहमहामन्त्री जीवन परियारले भने ।

एमाले नेताहरुका अनुसार घोषणापत्रबारे प्राप्त सुझावहरु अझै अध्ययनकै क्रममा छ । धेरै सुझाव आएकाले घोषणापत्र सार्वजनिक गर्नमा ढिलाइ हुन गएको प्रष्टीकरण दिइरहेका छन् ।

नेताहरुका अनुसार २९ असोजमै एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्रलाई अन्तिम रुप दिएका थिए । तर त्यसपछि आएका सुझावलाई पनि समेट्न खोजिएको नेताहरुको भनाइ छ ।

एमाले पार्टी केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारी भन्छन्, ‘धेरै सुझावहरु आएका छन्, प्राप्त सुझावहरुको अध्ययन हुँदैछ । सुझावहरु समेतलाई समेटेर अन्तिम रुप दिन केही दिन लाग्ने भएकाले तिहार लगत्तै सार्वजनिक गर्छाैं ।’

नेकपा माओवादी केन्द्र पनि कांग्रेस र एमालेको घोषणापत्र कहिले आउँछ भनेर पर्खिरहेको छ । उनीहरुको घोषणापत्र सार्वजनिक भएपछि जनस्तरबाट आउने टिप्पणीलाई समेत नियालेर आफ्नो घोषणापत्र ल्याउने तयारी माओवादी केन्द्रको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई घोषणापत्र लेखन समितिका सदस्यहरुले नै यही सुझाव दिएको स्वयं नेताहरु बताउँछन् ।

पार्टी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार घोषणापत्रलाई अन्तिम रुप दिएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकोमा पठाइएको छ । ‘इमेलमार्फत वा बैठक राखेर पनि पार्टीका पदाधिकारीहरुको सुझाव लिन सकिन्छ । यो काम सकेर हामी घोषणापत्र तिहार लगत्तै सार्वजनिक गर्छौं’ उनले भने ।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा गठित १७ सदस्यीय समितिले २ कात्तिकमै घोषणापत्रको मस्यौदा प्रचण्डलाई बुझाएको थियो ।

किन ढिलाइ ?

सत्ता गठबन्धनले देशभर प्रदेश स्तरीय भेला सकिसकेको छ, तर बिना घोषणापत्र । चुनाव जिते पाँच वर्षमा के गर्छु भन्ने प्रतिवद्धता छाडेर शीर्ष नेताहरु विपक्षीको आलोचना गर्ने र गठबन्धनलाई जिताउन आग्रह गरिरहेका छन् । एउटा दलका कार्यकर्ताले अर्को दललाई भोट हाल्न अफ्ठ्यारो मान्न नहुने भनिरहेका छन् ।

नेताहरुले चुनाव जिते के गर्छु भनेर मतदातामाझ भन्न सकेका छैनन् । नेताहरुले घोषणापत्र सार्वजनिक नगर्नुमा तिहारको विदालाई कारण दिएका छन् ।

कांग्रेस सहमहामन्त्री परियार भन्छन्, ‘आज लक्ष्मीपूजाको दिन पर्यो । सञ्चार क्षेत्रमा प्रिन्टलाइन बन्द हुँदैछन् केही दिनका लागि । अनलाइनका साथीहरु पनि चाडपर्व मनाउन नै व्यस्त हुने भएकाले तिहारपछि मात्रै घोषणापत्र ल्याउने भनिएको हो’ उनले भने ।

पृष्ठभूमिमा जे जस्ता कारण दिए पनि दलहरु अर्को दलले कस्तो घोषणापत्र ल्याउँछ र त्यसको चर्चा कुन रुपमा हुन्छ भन्ने हेरेर आफ्नो घोषणापत्रलाई परिपक्व बनाउने नीतिमा छन् ।

गठबन्धन एक, घोषणापत्र अनेक !

यसपटकको चुनावमा देखापरेको अर्को रोचक दृश्य हो–गठबन्धन एक र घोषणापत्र अनेक । सत्ता गठबन्धनमा पाँच दल छन् । पाँचै दलले फरक–फरक घोषणापत्र ल्याउँदैछन् । गठबन्धनभित्रै रहेको बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले भने आइतबार घोषणापत्र सार्वजनिक गरेको छ ।

माओवादी केन्द्रको चुनाव चिह्नमा चुनाव लड्दै गरेको उक्त पार्टीले काठमाडौंदेखि सगरमाथासम्म केवलकार निर्माण गर्नेजस्ता महत्वाकांक्षी कार्यत्र,म राखेर घोषणपत्र ल्याएको छ । कांग्रेस खुला अर्थतन्त्र र उदारीकरणको नीतिको पक्षपोषण गर्छ ।

यही नीतिको नेतृत्व गर्दै आएको कांग्रेसले यसलाई थप बलियो बनाउने गरी चुनावी घोषणापत्र ल्याउने तयारी गरेको छ । तर, कांग्रेसको नीतिप्रति असहमति राख्ने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पनि यही गठबन्धनमा छन् ।

राजनीतिको आधारभूत सिद्धान्त नै आपसमा बाझिएका यी दलको गठबन्धन सत्ता साझेदारी भन्दा पर सोचेर गरिएको हैन ।

नेकपा एमालेसँग विभिन्न निर्वाचन क्षेत्रमा सहकार्य गरेका जनता समाजवादी पार्टी (जसपा), राप्रपा र राप्रपा नेपालले पनि फरक फरक घोषणापत्र ल्याउँदैछन् । जसपाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउने, संविधान संशोधन गर्ने लगायत विषयलाई प्राथमिकतामा राखेर घोषणापत्र ल्याउँदैछ भने पुनः राजतन्त्रात्मक व्यवस्थामा फर्किनु उपयुक्त हुने निष्कर्षसहितको घोषणापत्र राप्रपाले ल्याउनेछ ।

गठबन्धन गरेपछि बहुमत ल्याएर सरकार बनाए के गर्ने भन्ने विषयमा सत्तारुढ गठबन्धन र एमाले नेतृत्वको दुबै गठबन्धन मौन छन् ।

राजनीतिक विश्लेषक लोकराज बराल भन्छन्, ‘गठबन्धन बनाउने भनेको समान कार्यक्रम ल्याउने र त्यसका लागि मत माग्ने हो । तर, हामीकहाँ खाली चुनाव जित्नका लागि गठबन्धन गरेको कुरा स्वयंले खुलम खुला भनिरहेका छन् ।’

परस्पर विरोधी एजेण्डा र त्यसलाई पूरा गर्ने अलग अलग नीति लिएर सँगै चुनावमा जाँदा जितेपछि कसको एजेण्डा लागू गर्ने भन्नेमा समस्या पर्ने बराल बताउँछन् । ‘अहिलेकै रुपमा गठबन्धन गरेर चुनाव जितेपछि सरकार बनाउलान् । सरकार बनेपछि कसको पोलिसी लागू गर्ने, कसको एजेण्डा लागू गर्ने ?’ उनले प्रश्न गरे ।

दलहरुले आफ्नो एजेण्डा नछोडी गठबन्धनको साझा एजेण्डा बनाउनुपर्ने विश्लेषक बरालको सुझाव छ । ‘कमन एजेण्डा दिन सक्दा मात्रै गठबन्धनको औचित्य सावित हुन्छ अन्यथा चुनावी जितका लागि नेताहरु जे पनि गर्छन् भनेर दल र नेताहरुप्रतिको नकारात्मक सोचले निरन्तरता पाउँछ’ उनले भने ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?