+
+

तिहारमा पनि घर फर्कन सकेनन् पहिरो पीडित

रासस रासस
२०७९ कात्तिक ९ गते १३:५६

९ कात्तिक, बलेवा । गत भदौको दोश्रो साता खसेको पहिरो थपिँदै जाँदा बागलुङको रायडाँडाको सिंगो बस्तीका मानिस बस्न छाडेका छन् । छिमेकीको घरमा गएर आश्रय लिएका उनीहरु अझै पनि घर फर्कन सकेका छैनन् ।

बागलुङ नगरपालिका वडा नं ११ रायडाँडाको तल्लो रामतोलामा घर भत्कने, पहिरोले खेतबारी बग्ने क्रम नरोकिएपछि घर छाडेका फर्कन सकेका छैनन् । घर बगेकाहरुले पनि बनाउने ठाउँ नभेटेको गुनासो गरेका छन् । पानी पर्दा वा नपर्दा पनि निरन्तर पहिरो खसेर भदौमा क्षति भएको बस्तीमा दसैंको झरीले थप क्षति पुगेको छ ।

यहाँका १२ घरसहित जैमिनी नगरपालिका–१ को ओडारका आठ घरमा पहिरो पसेको थियो । सुख्खा पहिरो पनि खस्ने गरेकोले उनीहरुले पुरानै थलोमा फर्कन नसकेको बताए । अहिले पनि यहाँ जोखिम कायम छ । अधिकांश खेतबारी र घरगोठ बगेकोले पुनःस्थापना गर्न समेत कठिन छ । जोखिम रहेको स्थानमा पनि जबर्जस्ती ल्याएर राख्न नसकिने वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले बताए ।

‘घरै भत्कियो, अन्यत्रै सरेर बसेको थिएँ, अब फर्कने अवस्था रहेन’’ स्थानीय ७८ बर्षीय ढालनाथ शर्माले भने, ‘खेतीपाती पनि बगायो, अब कहाँ गएर बस्ने ?’ उनको घर गोठ र खेत पहिरोले पुरेको थियो । पहिरोले शर्मासहित यहाँका दुइवटा खानेपानीका ट्याङ्की पनि बगाएको थियो । अहिले पनि स्थानीय टाढाबाट पानी बोकेर खान बाध्य छन् । पोल बगेकोले बिजुली थिएन, अहिले स्थानीयले अस्थायी पोल गाडेर बिजुली बालेका छन् । पहिरो थपिँदै जाँदा यहाँको गैराघर र तमाखुबारीमा पनि जोखिम बढेको हो ।

पहिरोले रायडाँडादेखि जैमिनी नगरको कुश्मीसेरा जाने मोटरबाटो बगेको बन्न सकेको छैन । जैमिनी नगरपालिका–१ को ओडारका दर्जन घर पनि पहिरोले जोखिममा परेका छन् । यहाँको सिँचाइ योजनाको कुलो बगेकोले सिँचाइ छैन । ‘यतिको ठूलो पहिरो अहिलेसम्म देखिएको थिएन, अहिले भोग्नु परेको छ’ स्थानीय बिष्णु पौडेलले भने, ‘खानेपानी र बिजुली नभएको दसैँ मान्नु पर्‍यो ।’ पहिरो पीडितलाई दसैँमा नगरपालिका, लायन्स क्लबले खाद्यान्न सहयोग गरेका थिए ।

‘पहिरो नियन्त्रण गर्न सकिने अवस्था छैन, बरु १०/१२ घर स्थानान्तरण गरेर एकीकृत बस्ती बनाउन सके सुरक्षा होला’ प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले भने, ‘त्यसका लागि सुरक्षित जग्गा खोज्ने तयारी गर्छौं ।’ एकीकृत बस्ती भएमा खानेपानी, बिद्युत र अन्य सेवा जडानमा सहज हुने उनले बताए ।

‘पहिरो पन्छाएर बस्ती बसाल्न कठिन छ, त्यसैले नयाँ ठाउँको खोजीमा छौं’ वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले भने, ‘दीर्घकालीन योजना बनाएर अन्य बस्तीको पनि पुनस्र्थापना खोज्नु पर्ने भएको छ ।’ किसानको खरबारी र सुन्तला लगाएको बारी समेत सयौं रोपनी बगेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?