+
+

सम्झनामा देउसी भैलो

सम्झना विक सम्झना विक
२०७९ कात्तिक १० गते ७:३८

पाँच दिनसम्म मनाइने तिहारको हरेक दिनको आफ्नै महत्व छ । काग, कुकुर, गाई, लक्ष्मी, गोरु र अन्त्यमा दाजुभाई दिदीबहिनीको पूजा गरेर तिहार मनाइन्छ । नेपालीले मनाउने हरेक चाडपर्वको आ-आफ्नै महत्व र विशेषता छन् । चाडपर्वमा टाढा रहेका आफन्त-परिवारका सदस्यसँग भेटघाट हुन्छ र न्यास्रो मेटाउने माध्यम बनिदिन्छ ।

मेरो लागि पनि यिनै पर्वले परिवारसँगको भेटघाट जुराइदिने गरेको छ । काम, जिम्मेवारीको व्यस्तताले अलग भएका परिवारसँग समय बिताउने माध्यम बनको छ ।

यसपालिको तिहारमा पनि नवलपरासीमा छु । कर्मथलो सपनाको नगरी काठमाडौंले चाडपर्वमा भने रोक्न सक्दैन । स्वर्गजस्तै घर, खाना, आफन्तको माया र यसले दिने आत्मीयता अन्त कतै नभेटिने रहेछ ।

तिहार नजिकिँदै गर्दा मलाई देउसी भैलोसँग गाँसिएका अनेकौं स्मृति ताजा भएर आउँछ । बाल्यकाल र किशोर अवस्थामा देउसी भैलोसँग जोडिएर मज्जाले रमाइलो गरिन्थ्यो । तर अहिले पहिलाको जस्तो रमाइलो नै कहा हुन्छ र ! आजकल त साइत हेरेर टिका लगायो, खाना खायो, एकछिन घरभित्र रमाइलो गर्यो, अनि तिहारलाई बिदा गर्यो । यत्ति औपचारिकतामा तिहार सक्किइहाल्छ आजकल ।

मेरो मात्रै अनुभूति हो कि सबैको, मलाई थाहा छैन, तर आजकल मलाई तिहार अलि बढी औपचारिक बनेर बिदा हुन्छ कि जस्तो लाग्छ । उमेर र पारिवारिक जिम्मेवारी थपिएर मलाई यस्तो लागेको हो कि, यो साझा अनुभव हो ? मेरो बाल्यकालमा तिहारको रौनक नै अर्कै हुन्थ्यो । सहरबाट गाउँ आउने मानिसको लस्कर हुनेगथ्र्यो । भरिभराउ र रमाइलो गाउँ । हरेक घरमा के पाकेको छ, कसरी रमाइलो गरिरहेका छन्, सबै थाहा हुन्थ्यो । अहिले त चार कोठाको सीमामा तिहार खुम्चिने गरेको छ । देउसी भैलोमा पनि पहिलाको जस्तो मौलिकता र मिठास बाँकी रहेन ।

मेरो बाल्यकाल कास्कीमा बित्यो भने किशोर अवस्था नवलपरासीमा । रंग रमाइलो स्कुल पढ्ने उमेरमै धेरै हुनेरहेछ । पोखरामा मैले प्राथमिक तहसम्म अध्ययन गरेँ । हाम्रो परिवार नेवार समुदायको बीचमा बस्थ्यो । बाबाको दिदीबहिनी नभएकाले तिहारमा नवलपरासी जाँदैनथ्यौं ।

अघिपछि भिडभाड हुने सहर चाडपर्व आएसँगै एकाएक सुनसान हुने गर्छ । घरबेटीहरु घरभित्रै पर्व मनाउने, भोज खाने गर्थे । देउसी भैलाको टोली आउँदा मात्र म बाहिर निस्केर हेर्थेँ । मान्छेहरु रंगिबिरंगी पोसाकमा सजिएर, क्यासेट र बाजागाजा बोकेर आउँथे । भैलो भट्याउने, नाच्ने र दक्षिणा थापेर आशिष दिएर र्फकन्थे । घरबेटीको छोराछोरी, मेरो दाइ र म पनि भैलो खेल्थ्यौं । दुई तीन घण्टा खेलेको भैलोको पैसा बाँडेर लिन्थ्यौं ।

त्यतिबेला माओवादीको जनयुद्ध चलिरहकाले हामीलाई धेरै बेर बाहिर रहने अनुमति थिएन । हामी नजिक नजिक भैलो खेलेर फर्किहाल्थ्यौं । पाँच छ जना मिल्यो । अलिअलि भट्यायो । एकछिन खेल्यो, घर फर्कियो ।

व्यवस्थाले हामीलाई पैसा कमाउने मेसिन बनाएको छ । भावना गौण पक्ष बनेको छ । अब त्यति रमाइलो चाड स्मृतिमा मात्र सीमित भएको छ । विगत सम्झेर रोमाञ्चित हुँदै अहिले रुख्खासुख्खारुपमा चाड मनाउनुको विकल्पै बाँकी रहेन

२०५९ मा हामी नवलपरासी सर्यौं । बाबाले आफ्नै थलोमा व्यवसाय गर्ने भनेर पोखरा छाड्नुभयो ।

अब म नयाँ परिवेशमा पुगेँ । गाउँको परिवेश फरक थियो । सम्बन्ध अनौपचारिक । टाढा टाढा घर भए पनि म नजिक । आपसी सहयोग र समन्वय । अर्मपर्व । परिवेश नै नयाँ, जीवनशैली पनि नयाँ । मानिसहरु एकअर्कासँग खुलेर बोल्ने, सबैको घरमा गाईभैसी, बाख्रा, घरमा ठूलो परालको टौवा ।

सार्वजनिक धारामा पानी थाप्नको लागि मिलेर पालो कुथ्र्यौं । च्याउ, जिब्रे साग खोज्न होस् या घास दाउरा गर्न मानिस समूह बनाएर जंगल जान्थ्यौं । यी सबै अभ्यास मेरा लागि नौलो थिए । सुरुमा केही समय गाह्रो भयो तर विस्तारै विस्तारै म नयाँ परिवेश र जीवनशैलीसँग अभ्यस्त हुँदै गएँ । पराई लागेका मान्छे आफ्ना बने । मैले धेरै साथी बनाउने मौका पनि पाएँ ।

हाम्रो गाउँको नाम दुर्गाटोल । हामीले त्यहाँ लालीगुराँस युवा क्लब गठन गर्यौं । ७० जना सदस्य रहेको क्लबले हरेक वर्ष तिहारमा देउसी भैलो कार्यक्रम आयोजना गर्थ्यो ।

गाउँको मेरो पहिलो तिहार थियो । यति ठूलो समूहमा देउसी भैलो खेलेको पनि पहिलो अनुभव । क्लबले दशैं सकिए लगत्तै तिहारको लागि नाच सिकाउने गथ्र्यो । मेरो ठूलो बुबाकी छोरी सदीक्षा दिदी नाच्न धेरै सिपालु । उहाँले नै हामी सबैलाई सिकाउनुभयो । क्लबका प्रत्येक सदस्यलाई फरक फरक जिम्मेवारी दिइन्थ्यो । समूहमा नाच्ने, एक्लै नाच्नेको गीत फरक फरक हुन्थ्यो । अन्य सदस्यहरु गीत भर्ने, साउण्ड सिस्टम चलाउने प्रविधिको जिम्मा कसैलाई, नाइकेले देउसी भट्याउने । दक्षिणा, चामल, फलफूल आदिको व्यवस्थापनको जिम्मा अन्य केहीलाई ।

रातिसम्म चल्ने देउसी भैलो कार्यक्रमको सुरक्षा जिम्मा नवराज, कृष्ण, दीपक दाइ, समिक्षा, रिता, अनु दिदीले लिनुहुन्थ्यो । मेरो उमेर समूहकाले भट्याउने, टोली नेताको लयमा लय मिलाउने, फरक फरक गीतमा सामूहिक नाचगान गर्ने । गाउँका सबै केटाकेटी एकैठाउँमा जम्मा हुने, सबै उमेर समूहका मानिस भेला हुँदा त्यहाँ माया ममता, अभिभावत्व सबै हुन्थ्यो । सहरमा त्यस्तो कहाँ पाउनु ?
हामी यही रकम सदुपयोग गर्दै बाबा बर्दगोरिया धाममा वनभोज खान जान्थ्यौं । बाँकी रकम गाउँकै विकासमा खर्च हुन्थ्यो । केही क्लबको खातामा रहन्थ्यो ।

मैले सहरमा भन्दा गाउँमा स्वतन्त्रता बढी पाएँ । गाउँ गएको पाँच वर्षसम्म मैले लगातार देउसी भैलो खेलेँ । तिहार मेरो लागि उत्सव बन्थ्यो । त्यतिधेरै नाच्न नआउने भएकोले म पछिपछि बसेर साथ दिन्थेँ । देउसी भैलोको तयारी १५ दिन अघिबाटै हुनेगथ्र्यो । कसरी नाच्ने, कसरी गाउने, कसले के गर्ने ? कुन लुगा लगाउने ? यस्तै तयारीमा धेरै दिन बित्थे । राम्रो प्रस्तुतिका लागि हामी निकै मेहनत गर्थ्यौं ।

समय सधैं एकनाश रहेन । क्लबका सिनियर दाइहरु रोजगारीका लागि बिस्तारै गाउँ छाड्न थाले । कोही अध्ययनका लागि बाहिरिए । रोजगारीका लागि उहाँहरु संसारका धेरै देशहरुमा फिंजारिनु भएको छ । सदस्य घटेसँगै क्लबको कामकाज सुस्त हुनथाल्यो । नतिजा अहिले त क्लब नै बन्द छ ।

युवाविहीन जस्तै बनेको गाउँमा पहिलेको जस्तो रौनक बाँकी छैन । चाडपर्व सकिनासाथ आफ्नै काममा र्फकने हतारो छ सबैलाई । रमाइलो जमघट गर्ने, साँस्कृतिक कार्यक्रम सबै लोभ भएका छन् । अहिले चाड चार कोठा भित्र सीमित भएको छ ।

देउसी भैलो, गोठालो जाने, कबड्डी र चुंगी खेल, वनभोज जस्ता कामहरु अहिले एकादेशको कथा बनिसकेको छ । अब त देउसी भैलोको रमाइलो काँचको पर्दामा बन्द भएको छ । हाम्रो मौलिक संस्कृति लोपोन्मुख बनेको छ । हाम्रा जीवनशैली अन्त कतैबाट प्रभावित छ ।

व्यवस्थाले हामीलाई पैसा कमाउने मेसिन बनाएको छ । भावना गौण पक्ष बनेको छ । अब त्यति रमाइलो चाड स्मृतिमा मात्र सीमित भएको छ । विगत सम्झेर रोमाञ्चित हुँदै अहिले रुख्खासुख्खारुपमा चाड मनाउनुको विकल्पै बाँकी रहेन ।

जहाँ छौं, जस्तो छौं, रमाऔं । तिहारको सबैलाई शुभकामना !

लेखकको बारेमा
सम्झना विक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?